बच्चाहरुका लागि टेस्लाले नयाँ ‘इलेक्ट्रिक बाइक’ लन्च गर्यो
टेस्ला कम्पनीले बालबालिकाहरुका लागि भनेर नयाँ ‘इलेक्ट्रिक क्वाड बाइक’ लन्च गरेको छ ।
यसको नाम ‘साइबर क्वाड’ राखिएको छ । हाल अमेरिकामा उपलब्ध हुने यो क्वाड बााइक टेस्लाले ‘साइबरट्रक’ सँगै सार्वजानिक गराएको थियो ।
अबको २–४ हप्तामै यसको शिपिङ सुरु गरिने कम्पनीको वेबसाइटमा जनाइएको छ ।
चारवटा पाङ्ग्रा भएको यो बाइक बच्चाहरुका लागि रहेको बताइएको छ । तरपनि यसलाई खेलौना गाडी चाहिँ भन्न मिल्दैन ।
यो टेस्लाकै अधिक चर्चित साइबर ट्रकबाट प्रेरित रहेको छ । साइबर ट्रक पहिलोपटक सार्वजानिक हुँदा अत्याधिक चर्चामा आएको थियो ।
तर बजारमा यसको उत्पादन कहिलेदेखि सुरु गर्ने भन्ने अझै बताइएको छैन ।
कम्पनीले भनेको छ, “साइबर ट्रकको अझै प्रतिक्षा गर्नुपर्ने भएकाले अहिलेका लागि टेस्लाले साइबर ट्रकबाटै प्रेरित विद्युतीय सवारी, साइबर क्वाड सार्वजानिक गरेको छ ।
यो बच्चाहरुका लागि हो । चारवटा पाङ्ग्रा भएको यो सवारी इलेक्ट्रिक मोटोरबाट चल्छ । ” यसको मूल्य १९,०० डलर रहेको बताइएको छ ।
तर बालबालिकाका लागि निर्माण गरिएको भएपनि साइबर क्वाड ६८ किलो भन्दा कम तौल भएका वयश्कहरुले चलाउन सक्छन् ।
यसको फ्रेम स्टिलले बनाइएको छ भने एलइडी हेडलाइट राखिएको छ । यसको अगाडि पट्टीको भाग हुबहु साइबरट्रक जस्तै देखिन्छ ।
साइबर क्वाडमा नरम खालको सिट राखिएको छ जसमा एकपटकमा एकजना मात्र बस्न मिल्छ । साथै यसमा एड्जस्ट गर्न मिल्ने ‘रियर डिस्क ब्रेकिङ’ पनि रहेको छ ।
यसको ब्याट्रीले लिथियम–आयन बाट पावर लिन्छ जुन अन्य विद्युतीय सवारीमा पनि प्रयोग गरिन्छ ।
यसलाई एकपटक चार्ज गरिसकेपछि २४ किलोमिटर सम्म चलाउन सकिन्छ । पाँच घण्टामा यो पूर्ण चार्ज हुन सक्छ ।
यसको गति चाहिँ चालकमा निर्धारित हुने बतााइएको छ । यो ८ देखि १६ किलोमिटर प्रति घण्टाको रफ्तारमा कुद्न सक्छ ।
त्यस्तै यसमा रिभर्स मोडको पनि ८ किलोमिटर प्रति घण्टाको रफ्तार रहेको छ ।
मस्कले २०१९ को ट्वीटमा टेस्लाको सबैभन्दा अपेक्षित मोडल, साइबरट्रकको सप्लाइमा समस्या आइरहेको बताएका थिए ।
त्यसैले पनि ग्राहकहरुमा उत्साह कायम राख्न कम्पनीले यो मोडल लन्च गरेको बताइएको छ ।
टेस्लाका अनुसार सााइबरट्रकले १३ लाख युनिट बराबर बुकिङ पाइसकेको छ जुन नेपालको कूल घरेलु आयको तीन गुणा बढी हो ।
तरपनि यसको उत्पादनमा ढिलाइ भइरहेको हुँदा २०२३ तिर मात्र उपलब्ध हुने अनुमान छ ।
साइबरट्रकको मूल्य चाहिँ सिङ्गल मोटोर भर्जनमा ३९ हजार ९०० डलर र ट्राइ–मोटोर रेन्ज टपरको ६९ हजार ९०० डलर बताइएको छ ।
साइबरट्रकले ६ हजार किलो भन्दा बढी भार उठाउन सक्ने र यसको रेन्ज पनि एकपटकको चार्जपछि ९५० किलोमिटर भएको बताइएको छ । एजेन्सी



