नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिज जित्ने मौका
पहिलो अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलिरहेको नेपालले आज सिरिज अन्तर्गत आफ्नो दोस्रो खेल खेल्दैछ ।
नेपालले सिरिज अन्तर्गत पहिलो खेलमा कतारलाई ११९ रनले ह’राएको थियो ।
नेपाल आजको खेलमा पनि सहज जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।
मंगलबार भएको खेलमा इन्दु बर्माले र्कीतिमानी अर्धशतक प्रहार गर्दा नेपालले सिरिजमा १–० को अग्रता बनायो ।
इन्दु नेपालका लागि ट्वान्टी–२० महिला क्रिकेटमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
पहिलो खेलमा सहज जित निकालेको नेपाल आजको खेलमा उच्च मनोबलमा हुनेछ ।
नेपालकी कप्तान रुविना श्रेत्रीले पहिलो खेलमा १.५ ओभर बलिङ गर्दै ३ विकेट हात पारेकी थिइन् ।
आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोटको तयारीस्वरूप नेपालले कतारसँग तीन खेलको ट्वान्टी–२० सिरिज खेलिरहेको हो ।
नेपालले दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा दिउँसो ३ः४५ बजे कतारसँग प्रतिस्पर्धा गर्नेछ ।
सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते खेल्नेछ ।
त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ ।
विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ ।
नेपाली टिम कतारबाटै नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने छ ।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन् ।
विजेता टोलीले आगमी वर्ष हुने ट्वान्टी–२० ग्लोबल छनोटमा स्थान बनाउने छ ।
नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग खेल्नेछ ।
मंसिर ७ गते दोस्रो खेलमा भुटानसँग प्रतिस्पर्धा गर्दा मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।



