‘लिम्बूवानको दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ का लागि भगिराज इङ्नाम मदन पुरस्कारद्वारा सम्मानित
लेखक भगिराज इङ्नामले मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापाले जगदम्बाश्री सम्मान पाएका छन्।
मदन पुरस्कार गुठीले बुधबार विशेष समारोहबीच लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार र नृत्यशास्त्री थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान प्रदान गरेको हो।
दुवै जनालाई गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान र पुरस्कार दिएर सम्मान गरे।
लेखक इङ्नामको अनुसन्धानमूलक पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ का लागि पुरस्कार दिइएको हो।
गुठी अध्यक्ष दीक्षितले इङ्नामको कृतिले नेपाल बुझ्ने फरक सामग्री दिएको बताए।मदन पुरस्कार ग्रहण गर्दै लेखक इङ्नामले आफूले लेखेको लिम्बुवानको इतिहास अनुमोदन भएको भन्दै यसले इतिहासको खोज, अनुसन्धानमा काम गर्ने अन्य व्यक्तिलाई पनि प्रेरणा दिने बताए।
६ दशकभन्दा बढी नेपाली नृत्यमा योगदान दिएका नृत्यशास्त्री थापाले जगदम्बाश्री ग्रहण गर्दै आफ्नो कामको मूल्याङ्कन भएकोमा खुशी लागेको बताए।
नृत्य शास्त्री थापाले नेपाली नृत्य विधालाई उचाइमा पुर्याउनका लागि गरेको अध्ययन, अनुसन्धान र प्रयोगात्मक ज्ञान नेपालीका निम्ति अविस्मरणीय रहेको दीक्षितले बताए।
दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज वज्राचार्यले अमेरिकाबाट भर्चुअल रूपमा विद्वत् प्रवचन प्रस्तुत गरेका थिए । प्रवचनमा नेवार संस्कृति र वैदिक साहित्यमाथि प्रकाश पारिएको थियो ।



