नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा
बुधबार मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशसँग लिग चरणको अन्तिम खेलमा १(१ को बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो ।
राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागि अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।
यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।
बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध खेलको नवौं मिनेटमा गोल गरेका थिए। र, खेलको ८८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई हारबाट जोगाए।
यस्तै खेलको ७९ औं मिनेटमा गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा समेटिएको थियो । पेनाल्टी बक्स क्षेत्रभन्दा बाहिर आएर बल क्लियर गर्ने क्रममा ह्याण्ड गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए ।



