आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित
आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ।
आजदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो।
अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ६२ रन जोडे। उनले ८७ बलमा २ चौका र ३ छक्का प्रहार गरे।
रोहितसँग पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका विनोद भण्डारीले ३७ रन जोडे। उनले ४८ बलमा २ चौका र १ छक्का प्रहार गरे।
पहिलो एकदिवसीय अर्धशतक प्रहार गरेका ओपनर कुशलले ८४ रनको योगदान दिए। उनले ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
अर्का ओपनर आसिफ शेखले २३ रन जोडे। आसिफ र कुशलबीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भएको थियो। एकदिवसीय खेलमा यो नेपालको कीर्तिमानी साझेदारी हो।
कप्तान ज्ञानेन्द्र मल्ल १७ तथा कुशल मल्ल १ रनमा आउट भए ।
अमेरिकाका निसर्ग पटेल र नोस्तुश केन्जिगेले २/२ विकेट लिए । सौरभ नेत्रभाल्करले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।
अमेरिकाका लागि मोनान्क पटेलले १०० रनको शतकीय इनिङ्स खेले । यस्तै निसर्ग पटेलले २१ रन जोड्दा करिमा गोरेले १६ रन जोडे ।
संजय कृष्णमुर्थी र नोस्तुश केन्जिगेले समान १३/१३ रन जोडे भने जसकरण मल्होत्राले ११ रन बनाए ।
अभिषेक पराद्करले अविजित १३ र सौरभ नेत्रभाल्कर ६ रनमा अविजित रहे।
नेपालका सन्दीप लामिछाने, बिक्रम सोब र सुशन भारीले २/२ विकेट लिए । कुशल मल्लको नाममा १ विकेट रह्यो ।
जितसँगै नेपालले ५ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
अमेरिकाले १३ खेलमा १२ अंक जोडेको छ । अमेरिका दोस्रो स्थानमा रहेको छ ।
सिरिज अन्तर्गत नेपालले अब दोस्रो खेलमा घरेलु टिम ओमानसँग खेल्नेछ । नेपाल र ओमानबीचको खेल भोलि मंगलबार हुनेछ ।



