मेस्सीले रिम्सविरुद्धको खेलमा डेब्यू गर्ने
अर्जेन्टिनी फुटबल कप्तान तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने तय भएको छ।
स्काई स्पोर्ट्सका अनुसार मेस्सीले पीएसजीको लागि आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा डेब्यु गर्ने भएका हुन्।
मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ । लिगमा पीएसजीले दुई खेलमा दुवै जित निकालेको छ ।
मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेका छन् । उनको फिटनेसमा समस्या देखिएको बताईएको छ ।
मेस्सीले प्रि-सिजनको तयारी समेत गर्न पाएका थिएनन् । कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी केहि समय छुट्टीमा बसेका थिए ।
पीएसजीका प्रशिक्षक मरिसियो पोचेटिनोले भने, ‘मेस्सीको डेब्युको बारेमा सबै तहगत प्रक्रियाहरु पुरा गरेर मेस्सीले आफू पूर्ण रुपमा फिट महशुस गरेपछि मात्रै हुन्छ’ ।
अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो । बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् । तर, ६ पटकको बालोन डी ओर विजेता मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन् । एजेन्सी



