बेम्बो प्लान्टलाई ‘गुड लक’ बिरुवाका रूपमा चिनिन्छ । पछिल्लो समय यो बिरुवा धेरैको घरमा देख्न सकिन्छ ।

सुन्दर र आकर्षक भएकाले सजावटका रूपमा धेरै प्रयोग गरेको पाइन्छ । यो ‘ड्रेसेना सेन्गरियाना’ प्रजातिमा पर्छ ।

‘प्लान्ट नेपाल’ का सञ्चालक आमस पौडेलका अनुसार ‘लक्की बेम्बो’ को तीन हजारभन्दा पुरानो इतिहास छ ।

यो बिरुवाको उत्पत्ति भने जापानबाट भएको मानिन्छ । यसमा पनि धेरै प्रकार र आकारको बिरुवा पाइन्छ ।

सानो आकारको बेम्बोको बिरुवालाई ‘फ्रेन्डसिप प्लान्ट’ पनि भनिन्छ । यो बिरुवा हेरचाह गर्न एकदमै सजिलो हुन्छ।

फेङसुई चिनियाँ ज्योतिष शास्त्रको हिस्सा हो । यसमा बेम्बो प्लान्टलाई शुभ मानिन्छ, जसलाई घरमा राख्दा सुख र समृद्धि हुने भनिएको छ ।

फेङसुईका अनुसार जसरी बेम्बो प्लान्ट धेरै समस्या झेलेर पनि सिधा उभिन्छ, त्यसरी नै मानिस पनि जीवनमा हरेक समस्या आउँदा आत्तिएर झुक्नु हुँदैन ।

वास्तुअनुसार यो बिरुवा घरमा राख्दा शुभ र भाग्य बलियो हुने मान्यता छ । हुन त हरेक बिरुवाले सकारात्मक ऊर्जा दिन्छन् ।

आमसका अनुसार ‘लक्की बेम्बो’ घरमा राख्दा वातावरण शुद्ध हुनुका साथै नकारात्मक ऊर्जालाई हटाइदिन्छ । उनी भन्छन्, ‘डि’प्रेसनका बि’रामीले बिहान पानी दिँदा निको हुने भनिएको छ ।

बिहान घाम उदाउनुअघि पानी हाल्दा सकारात्मक ऊर्जा मिल्ने, मन शान्त हुने मान्यता पनि छ ।’ जापान र चीनमा भने यो बिरुवालाई भगवानभन्दा पनि माथि राखिएको छ ।

छनोट कसरी गर्ने ?

‘लक्की बेम्बो’ को बिरुवा किन्दा स्वस्थ बिरुवा हुनु जरुरी हुन्छ । यो बिरुवाको स्याहार–सुसार गर्न धेरै गाह्रो छैन ।

तर बिरुवा स्वस्थ भएन भने स्याहार–सुसारमा समस्या हुन सक्छ । स्वस्थ बिरुवा भनेको दाग–धब्बा नभएको, बोट पहेंलो नभएको हुनुपर्छ भने पात धेरै गहिरो हरियो पनि हुनुहुँदैन ।

बिरुवा दुई र तीन स्टेपको पाइन्छ । यसको मूल्य नेपाली बजारमा ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ ।

स्याहार–सुसार

बिरुवाबाट नमीठो गन्ध आउन थाल्यो भने बिरुवामा ब्याक्टेरिया विकसित भएको हुनसक्छ ।

पहेंलो भएका पातहरू हटाइदिनुपर्छ । घामको प्रत्यक्ष सम्पर्कबाट टाढै राख्नुपर्छ ।

तर, बिरुवा बढ्नका लागि भने पर्याप्त उज्यालो चाहिन्छ । उज्यालो कम भएमा धेरै बढ्न पाउँदैन ।

यो बिरुवालाई धेरै पानीको आवश्यकता पर्दैन । सातामा एकपटक दिए पुग्छ । पानीमा बिरुवा राख्दा जरासम्म डुब्ने गरी पानी राख्नुपर्छ ।

यसलाई पूरै सुख्खा हुन दिनुहुँदैन । जरा भिज्ने पानी हुनुपर्छ । साथै पानी धेरै हुनुहुँदैन । माटोमा रोप्ने हो भने ओसिलो माटो हुनुपर्छ, तर पानी बढी हुनुहुँदैन ।

क्लोरिन भएको पानी राख्नुहुँदैन । धाराको पानी राख्नुहुँदैन । साथै लेउ जमेको पानी हुनुहुँदैन । जारको पानी राख्न सकिन्छ ।

बिरुवा स्वस्थ राख्न हरेक ७–१० दिनमा पानी परिवर्तन गरिदिनुपर्छ ।बिरुवाबाट नराम्रो किसिमको गन्ध आए फ्याँक्नु नै उचित हुन्छ ।

किनभने यस्तो बिरुवाले स्वास्थ्यलाई क्ष’ति पुर्‍याउँछ । बिरुवाको नसडेको भाग भए काटेर फेरि रोप्न सकिन्छ, यस्तो बिरुवालाई पानीको धेरै आवश्यकता पर्छ ।

बिरुवालाई पारदर्शी भाँडामा राख्दा यसको जराले अझ आकर्षक देखिन्छ । चिसो हावा आउने ठाउँमा बिरुवा राख्नुहुँदैन ।

त्यसका साथै धेरै तातो वा धेरै चिसो हुने ठाउँमा यो बिरुवा सप्रिँदैन । यो बिरुवाको सही तरिकाले हेरचाह गरे तीन फिटसम्म अग्लो हुन सक्छ ।

यसलाई माटोमा पनि रोप्न सकिन्छ । यसको पातमा धूलो जम्न दिनुहुँदैन किनभने बिरुवाले छिद्रबाट श्वास फेर्छ ।

समय–समयमा यसको पात ब्रस, कपडा वा स्प्रेको सहायताले सफा गरिराख्नुपर्छ । महिनामा एकपटक फर्टिलाइजरको प्रयोग गर्न सकिन्छ ।

फाइदा

– घरमा समृद्धि र शान्ति ल्याउँछ ।

– पर्यावरण सफा राख्छ । यो प्राकृतिक वायु शुद्धीकरण गर्ने बिरुवा हो ।

– यो बिरुवाले घरको सजावटमा थप सुन्दरता वृद्धि गर्छ ।

– यसले घरको नकारात्मक ऊर्जालाई हटाइदिन्छ ।

– यो बिरुवालाई उपहारका रूपमा पनि दिन सकिन्छ ।