फ्रेन्च क्लबमा नयाँ ‘अट्याकिङ ट्रिओ’, फुटबलमा साम्राज्य खडा गर्न सक्छ कि सक्दैन ?
एजेन्सी: अर्जेन्टिनाका फुटबल कप्तान लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ ‘अट्याकिङ ट्रिओ’ बनेको छ ।
मेस्सी पीएसजी पुगेसँगै उनी आफ्नो मिल्ने सहयात्री नेयमारसँग पुर्नमिलन हुने पक्का भएको छ । यो जोडीले एकपटक पुन: एकैपटक आक्रमण सम्हालेछन् ।
स्पेनिस क्लब बार्सिलोनामा मेस्सी, सुआरेज र नेयमारको ‘एमएसएन’ को अट्याकिङ ‘ट्रिओ’ निक्कै चर्चित र सफल बनेको थियो। अब पीएसजीमा भने मेस्सी, एमबाप्पे र नेयमारको ‘एमएमएन’ को ट्रिओ रहनेछन् ।
यो ‘ट्रिओ’लाई विश्व फुटबलकै उत्कृष्ट आक्रामक अग्रपंक्तिको रुपमा आंकलन गरिएको छ । यसले ‘एमएसएन’को विरासत बिर्साउने प्रदर्शन गर्ने प्रयास गर्नेछ ।
लुईस सुआरेज सन् २०१४ मा लिभरपुलबाट क्याटलान क्लबमा आबद्ध भएपछि मेस्सी, सुआरेज र नेयमारले बार्सिलोनामा तीन सिजन सँगै खेलेका थिए । सन् २०१७ मा नेयमार पीएसजी गएपछि यो ‘ट्रिओ’ टुटेको थियो। त्यस अवधिमा यी तीन मिलेर ३६४ गोल गरेका थिए भने १७३ असिस्ट गरेका थिए ।
यस्तै, तीन जना सँगै हुँदा बार्सिलोनाले दुई ला लिगा, तीन कोपा डेल रे तथा स्पेनिस सुपर कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब वर्ल्ड कप एक-एक पटक जितेका थिए ।
तीन सिजनमा ५०० भन्दा बढी गोल र असिस्ट तथा ९ ट्रफीले ‘एमएसएन’लाई चिनाएको थियो ।
अब पीएसजीको एउटै चाहना च्याम्पियन्स लिग जित्नु हो । मेस्सीको आगमनपछि पीएसजी थप बलियो बनेको छ । मेस्सीसहित ५ नयाँ खेलाडी भित्र्याएको पीएसजीले हरेक पोजिसनलाई शक्तिशाली बनाएको छ ।
यसअघि नै पीएसजीले ‘फ्रि ट्रान्सफर’मा सर्जियो रामोस, जर्जिनिओ विजनाल्म र जियानलुजी डोनारुम्बालाई भित्र्याइसकेको छ । त्यसअघि अच्रफ हाकिमीलाई पनि अनुबन्ध गरिसकेको छ ।
युरो २०२० को उत्कृष्ट खेलाडी बनेका इटालियन गोलकिपर डोनारुम्माले पीएसजीको गोलपोष्ट सम्हाल्ने सम्भावना छ । यस्तै, डिफेन्स लाइनमा रामोस र हाकिमीसँगै कप्तान मार्क्विन्होस र उपकप्तान प्रेसनल किम्बेम्पे हुनेछन् ।
एन्जल डि मारिया र मार्को भेराट्टीलाई मिडफिल्डमा सघाउन विजनाल्डम आइपुगेका छन् भने अट्याकमा नेयमार र एमबाप्पेसँगै अब मेस्सी थपिएका छन् ।
नयाँ ‘ट्रिओ’ अर्थात् ‘एमएमएन’ले फुटबलमा साम्राज्य खडा गर्न सक्छ कि सक्दैन ? त्यो उनीहरुको आगामी दिनको प्रदर्शनले नै जवाफ दिनेछ।



