मुन्धुम वृतान्त अनुसार कसरी काठमा आगो बल्छ ?
मुन्धुम वृतान्त अनुसार, पुर्खाले आदिम कालको अन्जान परिस्थितिमा पनि विभिन्न घटना क्रमलाई नजिकबाट हेर्नु, बुझ्नु, केलाउनु, र समाजमा लागु गर्न सफल भएको कारण सामाजिक क्रा’न्ति सम्भव भएको कुरा बोध गर्न सहज छ । मुन्धुमको ऐतिहासिक आधारहरूको अध्ययनबाट हामी यो निष्कर्षमा पुग्छौं, कि जुन युगमा पुर्खाको चेतना स्तर अपरिपक्व नै भए तापनि हरेक वस्तु र वस्तुगत घ’टनाको सही पहिचान गर्नु सक्नु नै ठूलो क्रा’न्ति हो । अत: भौतिकवादी दृष्टिकोणले विश्लेषण गर्नुपर्दा त्यस युगको पुर्खाले सही ढंगले द्ध’न्द्धवादको प्रयोग गर्न सकेका थिए भन्ने कुराको बोध हुन्छ । सापेक्षित घटना क्रमको वस्तुगत खोज र नयाँ जीविकोपार्जन क्रमको अध्ययन र प्रयोग गर्ने सिलसिलामा पुर्खाद्वारा निर्मित हरेक औजारहरु, अधिकांश अहिलेको युगमा पनि प्रयोग गर्न सकिन्छ । जस्तैः औजारहरुको हकमा त्यही रुपमा नभए पनि आधुनिक रुपमा नै किन नहोस् अहिले पनि, त्यसको विकसित रुप प्रयोग भैरहेकै छन् । जस्तैः कृषि औजारहरु – हलोको ठाउँमा जमिन जोत्ने ट्र्याक्टर, लगायतका हरेक यान्त्रिक सामग्रीहरु रहेका छन् । त्यसैगरी त्यसबेलाको आर्थिक प्रणालीको मुख्य अंगहरुमा घरेलु उद्योग, पर्म, जडिबुटी हो, अहिले पनि त्यो हटेको छैन, बरु नयाँ ढंगले अर्थात त्यसको विकसित रुपले विश्व धानिरहेको छ । भनाइको तात्पर्य- किराती पुर्खाले गरेका हरेक आविष्कारहरु बिज्ञानको नियम बिपरित छैनन् ।
यसै सन्दर्भमा आगो जन्माउने बिधिको बारेमा अझ चाखलाग्दो विषय छ । जुन युगमा पुर्खाले सभ्यताको निर्माण गर्नु नै पहिलो आधार हो । जसले समाजको चौतर्फी मार्गहरु खोलिदियो । त्यही सभ्यताको पृष्ठभुमिमा समाजको चौतर्फी बिकास सम्भव भएको पाइन्छ । समाजको चौतर्फी बिकास भन्नाले – तत्कालीन परिवेश अनुसार व्यवस्थित समाज व्यवस्था वा सामाजिक प्रणालीको परिकल्पना गर्नु अनि लागु गर्नुसक्नु अर्थात तत्कालीन समाजले हरेक क्षेत्रमा नयाँ नौलो अभ्यास गर्ने जिज्ञासा वा त्यस्तो मनोबिज्ञानको अध्ययन गरि शासन पद्धति स्थापना गर्नु हो । त्यही परिवेशले मुन्धुमको परिकल्पना गर्न वाध्य तुल्यायो । जुन आधारमा विकसित मुन्धुम किराती समाजको मेरुदण्ड हो । यसर्थ मुन्धुम किराती समाजको बौद्धिक उपलब्धि हो । सारत: मुन्धुम बारे खोज अध्ययन गर्दा आगोको आविष्कार यसको सैद्धान्तिक आधार भएको पाइएको छ । तसर्थ आगोको आविष्कार बारे गहन अध्ययन र ठोस विश्लेषण गर्नु जरुरी छ । यही आधारमा प्राचीन समाजको गतिक्रम वास्तविक मार्गमा डोर्याउने काम भएको थियो । आगोको आविष्कारमा – “दल्सिनढुंगा,चकमक, झुलोको प्रयोग र काठ-काठ बीचको घर्षणबाट” गरि दुईवटा बिधि प्रयोग भएको पाइन्छ । दल्सिनढुंगा, चकमक र झुलोको संयोजनमा गरिएको आगोको आविष्कार बारे योभन्दा पहिला बिस्तार गरिसकिएको छ । भने यस आलेखमा काठ-काठ बीचको घर्षणद्वारा गरिएको आगोको आविष्कार बारे बिस्तृत रूपमा आफ्नो मत राखिने छ ।
आगोको आविष्कारले मानवको जीवनशैली असामान्य रूपमा फेरबदल हुँदै आइरहेको थियो । बदलिँदो सामाजिक परिवेश अनुसार यसलाई सामाजिक मुल्य मान्यताको कडीको रूपमा स्थापित गरियो । वा सामाजिक परिघटनालाई मध्ये नजर गर्दै पुर्खाले सामाजिक सत्ताको रक्षार्थ अर्थात समाजमा आईपर्ने दुरघटना उन्मुख अंतर्विरोधहरु हल गर्ने विधि “सार्बु खम” सँगै आगोको आविष्कार प्रक्रियालाई पूरकको रूपमा संयोजन गर्न सफल भए । यसरी युग परिवर्तनसँगै सामाजिक पद्धतिको नयाँ बिकासले मानव समाजको निम्ति अनुकुल वातावरण निर्माण गर्दै आएको थियो । त्यसरी अघि बढिरहेको समाजको गति, पछिल्लो समयमा सामाजिक सत्ता फरक ढंगबाट सञ्चालित भएसँगै वास्तविक धरातलबाट अलग्गिएको छ । अझ यसो भन्दा स्पष्ट हुन्छ, कि मध्य युगको आगमनसँगै वस्तुपरक सत्तालाई आत्मपरक सत्ताले घोर दमन गरेको कारण बिज्ञान र प्रविधिको क्षेत्रमा प्रगति शुन्य हुन पुग्यो । त्यसरी मध्य युगको बर्बर्ताले समाजको बैज्ञानिक मार्गहरु सबै बन्द गरिदियो । यद्यपि मुन्धुम मार्गी समाज यस्तो हो कि, जो समय सापेक्षित चिन्तन, मनन गर्दै अघि बढ्न सक्छ । भनाइको तात्पर्य, मध्य युगको दबदबामा पनि किराती समाजको कतिपय बौद्धिकहरुले नयाँ आविस्कार बाहेक, आफ्नो स्थापित दर्शन, सभ्यता, अर्थ प्रणाली लगायतका ऐतिहासिक उपलब्धिहरुलाई धार्मिक मुल्य-मान्यतासँगै अघि बढाएको प्रष्ट छ । किराती पुर्खाको हरेक क्रियाकलापहरु कुनै कपोल्कल्पित कथा नभई ब्यवहाहारिक ज्ञानमा आधारित छन् । अत: अब हामी किराती समुदायले मनाउँदै आईएको उँधौली उँभौली यामको साकेला बारे चर्चा गरौं । साकेला, किराती समुदयको ऐतिहासिक साँस्कृतिक उत्सव हो, त्यसको आफ्नै महत्त्व छ । त्यसैसँग संबंधित विषय हो सार्बु खम । समाज बिकास क्रमको अध्ययन गर्दा कुनै खास वा असामान्य परिस्थिति सृजना भएको अवस्थामा समाज प्रति उत्तरदायी बौद्धिकहरुले भिन्नभिन्नै प्रकृतिको, निर्णायक बिधीको बिकास गर्दछन त्यो नै सामाजिक दर्शनको आयाम बन्ने गर्दछ । यहाँ मुन्धुमको एक आयामको बारेमा जानकारी गराइने छ, जसलाई “सार्बु खम” विधि भनिन्छ ।
“सार्बु खम” :- सार्बु खम भनेको पुर्खाहरु सहितको साँस्कृतिक आमभेला हो । यो आमभेला भन्नाले उँधौली उँभौली याममा उत्सवको रूपमा मनाइने निश्चित साकेला थानमा आवद्ध सम्पूर्ण घरधुरीलाई मानिन्छ । फेरि यो विधी जुनसुकै बेला नभैइ खास परिस्थितिमा मात्र प्रयोग गरिन्छ । किनभने यो किराती समाजको भिन्नै रीत हो । खासगरी भन्नुपर्दा साकेलाको मुल धामीको मृत्यु भएपछि त्यस्तो पात्रको अभाव पर्न गएमा वा त्यस्तो पात्रहरु एक जना भन्दा बढी दाबेदार हुँदाको खण्डमा मात्रै यो विधि प्रयोग गरिन्छ । के पनि भन्न सकिन्छ भने खासमा साकेला नोक्छोङले आफ्नो उत्तराधिकारी निर्माण गर्ने रीत छ । तर उसले पूर्ण रूपमा आफ्नो उत्तराधिकारी निर्माण गर्न नभ्याउँदै, अचानक उसको मृत्यु भएमा र त्यस्तो नोक्छोङको अभाव भएमा सामान्य स्तर बाटै नोक्छोङ निकाल्नको लागि, अथवा सर्वमान्य कुनै एकमात्र नोक्छोङ नभैइ अन्य केही मान्छेहरुको पनि दावी रहेको खण्डमा मात्रै यो विधिको प्रयोग गरिन्छ । हुनसक्छ कुनै कालखण्डमा समाजको मुल वाहकको निधन पश्चात बैचारिक अंतर्विरोधको कारण उपयुक्त पात्र अघि बढ्न नचाहेको वा एक जना भन्दा बढिको दावी रहेर, कुनै एक जना मात्रै सर्वमान्य नेतृत्व चयन गर्न नसक्दाको परिवेशमा कलात्मक ढंगबाट यो रीतको बिकास गरियो । जे होस् यस सिद्धान्तको परिकल्पना सामान्य चेतबाट भएको कदापि थिएन । यसलाई महान किराती पुर्खाहरुको देन मान्नु पर्दछ । यो मुन्धुमद्वारा समस्या हल गर्ने सर्वस्विकार्य विधी हो ।
सार्बु खम वृतान्त :- जब समुदायमा त्यस्तो समस्या खड्किएपछि त्यस सम्बन्धि जानकार पुर्खाहरुको प्रारम्भिक भेला गरिन्छ । जुन भेलाले आमभेला बोलाउने निर्णय सहित त्यस कार्यक्रमको लागि आवस्यक खर्च, मिति, जनपरिचालन लगायतका योजना तर्जुमा गर्छ । र साकेला थानको क्षेत्राधिकार भित्र पर्ने साकेला मान्ने जति प्रत्येक घरधुरीलाई पुर्खा भेलाको निर्णय बमोजिम तोकिएको कोदो, मकै, दाल, चामल जस्ता खाद्य वस्तु र शुल्क तयार पार्नको लागि उर्दी जारी गरिन्छ । त्यसपछि संकलन गर्ने मान्छे खटाएर एक ठाउँमा जम्मा गरिन्छ । तत्काललाई अन्नको जाँड बनाइन्छ र पछि आमभेलामा आउने सम्पूर्णलाई त्यो जाँडरक्सीसँगै दाल, भात, मासु सहित भोज दिइन्छ । उठेको रकमले आवश्यकिए सामग्रीहरु खरिद गरिन्छ । जस्तैः माटोको नयाँ भाँडा, कुखुराको भाले, नयाँ पगरी, नयाँ फेटा (वासो तोदोम), आदि सबै सामग्री जुटेपछि फेरि अन्तिम तयारिको लागि बैठक बसिन्छ । र अनुभवीहरुको नेतृत्वमा काम सुरु गरिन्छ । यो कार्यक्रम आरम्भ देखि समापन गर्दासम्म झन्डै दुई महिना लाग्न सक्छ ।
सम्पूर्ण सामग्रीहरु जुटाइसकेपछि तोकिएको मिति अर्थात मुल कार्यक्रमको दिन खटिएका कामदारहरुले बिहानैदेखि काम सुरु गर्छन् । जाँडरक्सी तयार पार्नेहरु सबैभन्दा पहिला पुगेर तयार पार्छन् र सबै कामदारलाई सगुनको रुपमा जाँडरक्सी बाँड्छन । त्यसपछि कोही खाना बनाउन लाग्छन्, कसैले खाँबो काट्न तिर लाग्छन्, कोही बाँस काटेर चोया कार्न थाल्छन्, कसैले चित्रा बुन्न थाल्छन्, खाँबो ल्याएपछि गाडेर बलो भाटा कस्न थाल्छन्, त्यसपछि कोही खर लिएर छाउन थाल्छन् त कसैले चित्राले बार्न थाल्छन् भने कसैले अगेना-चुल्हो बनाउँछन् त कसैले आँगनमा संरचना तयार पार्छन् । यसरी करिब बिहानको ११-१२ बजे तिर नयाँ घर बनाइसकिन्छ । यसमा सम्पूर्ण नयाँ सामग्रीहरु जस्तैः नयाँ खाँबो, नयाँ डाँडा-भाटा, नयाँ खरको छाना, नयाँ बाँसको चोयाले बुनेको चित्राले बारेर, भित्र नयाँ अगेना-चुल्हा स्थापना गरिन्छ । त्यसपछि खोजी ल्याएको नयाँ काठलाई आँगनमा करिब एक फीट गोलाई र करिब चार फीट लम्बाईको दुईवटा काठ बलियो गरी दुई फिट जत्तिको दुरीमा गाडिन्छ । र त्यो गाडिएको ठाडो काठको फेदपट्टी भुइँ छुनेगरी झन्डै एक फिट सम्म मोटाइको, बीच भागमा पर्नेगरी करिब पाँच इन्च सम्म गोलाई र डेढ इन्च सम्म गहिराईको खोपिल्टो पारिएको, भकिमीलो नामक काठ तेर्सो पारेर दुवै ठाडो काठमा कसिलो अथवा नचल्नेगरि बाँधिन्छ । अनि भुइँ पट्टीको तेर्सो बाँधिएको काठको खोपिल्टोमा मिल्ने गरी सुकेको हात्तीबार नामक काठलाई दुवै टुप्पोमा चुच्चो पारेर ठाडो छिराइन्छ । फेरि त्यो चुच्चो परेको माथिल्लो टुप्पो छिर्नेगरी कुनै पनि काठलाई बीचमा खोपिल्टो पारेर काठको टुप्पो छिराएर माथिल्लो पट्टी पनि नचल्ने गरि तेर्सो बाँधिन्छ । त्यसबेला सम्म आमभेलामा आउने मुख्य-मुख्य मान्छेहरु आइसकेका हुन्छन् । सबै उपस्थित भएपछि औपचारिक रूपले कार्यक्रम सुरु गरिन्छ । अब जान्ने पुर्खाहरुले चिण्डोमा चोखो जाँड, लिएर रीसिवा फलाक्दै पाको पुर्खा चाहिँ अघि लागेर त्यो चिण्डोको जाँडले आँगनको नयाँ काठहरुद्वारा निर्माण गरिएको संरचनालाई छर्कन्छन । त्यहाँ सकेपछि नयाँ घरभित्र प्रवेश गर्छन् र अघेनाको वरिपरि वस्छन । भने पुर्खाहरु भित्र प्रवेश नगर्दै ठाडो राखिएको हात्तीबारको काठमा डोरी चार वा पाँच फन्का बेरिन्छ र ठेकामा मही पार्दा जस्तै गरि बलियो मान्छेहरुले दायाँ बायाँ तानेर घुमाइन्छ । तत्पश्चात भकिमिलोको काठ र हात्तीबारको काठ बीचको घर्षणद्वारा धुँवा आउन थाल्छ । अनि त्यो धुँवा आउदै गरेको ठाउँमा झुलो राखिन्छ । यो प्रकृया केही समय लाग्न पनि सक्छ । भित्र पुर्खाहरुले रीसिवा फलाकिरहेकै हुन्छन् । जब झुलोमा आगो सल्किएपछि त्यो नयाँ घर भित्र लगेर अगेनामा आगो जगाइन्छ । अनि त्यो माटोको भाँडा चुलामा बसालेर त्यो भरी पानी भरिन्छ । अनि कलिलो केराको पातले त्यो भाँडाको मुख ढाकेर चोयाले बाँधिन्छ । अनि अगेनाको वरिपरि सम्भावित वा दाबेदार उमेद्वारहरुलाई पुर्खाहरु सहित बसाइन्छ र चुलामा बेस्सरी आगो लगाइन्छ । अब त्यो भाँडाको पानी जोडले उम्लदै जान्छ अनि उम्लेको पानीले त्यो मुख ढाकिएको केराको पात छिचोलेर जो पट्टी पानीको थोपा खस्छ उसैलाई नोक्छोङ घोषणा गरिन्छ ।
निष्कर्षमा :-
काठ-काठ बीच घर्षण हुँदा किन आगो सल्किन्छ ? यही प्रश्नको समाधानको निम्ति बैज्ञानिकहरुको योगदान एक ऐतिहासिक महत्वको छ । यसबारे खासगरी व्यवहारिक पाटाबाट हेर्दा किराती पुर्खाले प्राचीन कालमा सफलता पूर्वक यसको प्रयोग गरेका थिए । तर सैद्धान्तिक रुपमा भन्नै पर्छ कि पछिल्लो परिवेशमा पश्चिमा बैज्ञानिकहरुले बिज्ञानको खोज अध्ययनमा उल्लेख्य भूमिका खेलेको कुरा कदापि भुल्नु हुँदैन ।
काठ-काठ बीच घर्षण हुँदा आगो सल्किनुको बैज्ञानिक कारण यसप्रकार छ । मुलतः हाइड्रोजन, अक्सिजन, कार्बन र म्याग्नेसियम भन्ने तत्व काठमा हुनेगर्छ । यसबारे अध्ययनको लागि हामीले काठलाई आगोमा बालेर हेरौं । हामीले सिधै देख्ने गरेका छौँ कि काठ आगोमा पोल्दा बलेको देखिन्छ, धुँवा देखिन्छ र खरानी देखिन्छ । यसबारे बैज्ञानिक आधारबाट जाँदा, काठमा हाइड्रोजन ग्याँस भएकोले बल्छ । त्यसैगरी कार्बन र अक्सिजन मिली कार्बन्डाईअक्साइडमा रुपान्तरण हुन्छ र धुँवा बनेर उडेर जान्छ । भने म्याग्नेसियम चाहिँ खरानीको रूपमा रहन्छ । फेरि, काठमा कार्बन्डाईअक्साइड र हाइड्रोजनको काम- काठको अवस्था अनुसार फरकफरक हुन जान्छ । जस्तैः सुकेको काठमा कार्बन्डाइअक्साईडको काम कम हुन्छ यसको तात्पर्य त्यहाँ हाइड्रोजनको भूमिका बढी हुन्छ । भने काँचो काठमा कार्बन्डाइअक्साइडले प्रभाव पार्छ । किन त्यसो हुन्छ भन्दा काँचो काठमा एच २ ओ अर्थात पानीको मात्रा पनि हुन्छ । काँचो काठमा कार्बन र म्याग्नेसियम चाहिँ पानीसँगै घुलित तर ठोस अवस्थामा रहेको हुन्छ । काठ जब सुक्न थाल्छ तब हाइड्रोजन र अक्सिजन छुट्टिन्छन । अर्थात काँचो काठ सुक्नु भनेको त्यो काठमा भएको हाइड्रोजन र अक्सिजन छुट्टिनु हो । तिनीहरू छुट्ने क्रममा हाइड्रोजनले आफ्नै ठाउँ लिन्छ, म्याग्नेसियमले पनि आफ्नै ठाउँ लिन्छ भने कार्बन र अक्सिजन मिलेर कार्बन्डाइअक्साइड बन्छ ।
काँचो काठलाई आगोमा पोल्दा सुरुमा नबल्नुको कारण त्यसमा H२O अर्थात Aqua को मात्रा करिब समान रूपमा हुन्छ । जब आगोको अधिक ताप र चापको कारण Aqua को अणुहरु छिन्नभिन्न हुन थाल्छन् । अर्थात हाइड्रोजन र अक्सिजन छुट्टिनु वाध्य हुन्छन् र दुवै अलगअलग ग्यासको रूपमा अस्तित्वमा आउँछन् । त्यसरी हाइड्रोजनसँग अक्सिजन छुट्टिएपछि अक्सिजनले तुरुन्तै अर्को मिल्ने तत्वसँग सहकार्य गर्छ । त्यसरी हाइड्रोजन छुट्टिनु थालेपछि मात्रै अलिअलि बल्न थाल्छ । यहाँ अक्सिजन – सक्रिय अर्थात उ ऋणात्मक भएकोले एक्लैको भूमिका सामान्य मात्र, निर्णायक हुँदैन । तसर्थ त्यसले तत्काल अर्को तत्वसँग सहकार्य गर्न पुग्छ । भने हाइड्रोजन + अर्थात धनात्मक हो, उ आफ्नो अस्तित्व बचाउन आफै तयार छ फेरि अरु ऋणात्मक तत्वसँग जोडिन पनि सक्छ । जस्तैः ऋणात्मकले धनात्मक लिनुपर्छ । काँचो काठ पोल्दा जति छिटो कार्बन्डाइअक्साइड बन्छ त्यति नै राम्रोसँग बल्न थाल्छ । र सुकेको काठमा भने हाइड्रोजनको प्रभावले सुरु देखि नै राम्रोसँग बल्न सक्छ । फेरि उता काँचो र सुकेको काठमा म्याग्नेसियमको मात्रा चाहिँ त्यत्ति धेरैको अन्तर नभई जति हुनुपर्ने हो उत्ति उत्ति नै हुन्छ, त्यही हो ती तत्वहरुको चारित्रीक विशेषता ।
वस्तुमा अंतर्वि’रोधको कारक तत्व बाह्य र आन्तरिक गरि दुईवटा हुन्छन् । तिनीहरुको भूमिका सँधै एकै किसिमको हुँदैन, कतिपय घटनामा बाह्य कारण प्रधान र आन्तरिक कारण सहायक भएर आउँछ भने कुनै घटनामा आन्तरिक कारण प्रधान र बाह्य कारण सहायक हुन्छ । मुन्धुम अनुसार आगोको आविष्कार क्रममा बाह्य कारण प्रधान र आन्तरिक कारण सहायक हुन्छ । तर नेपाली समाजमा बाह्य र आन्तरिक कारण बराबर भएकोले त्यसको परिणाम = 0 छ । यसर्थ नेपाली कम्युनिस्ट आन्दोलन अ’सफल भैरहेको छ । तर जुनबेला पुर्खाले गरेको खोज अध्ययन र प्रयोग, बिज्ञान सम्मत छ भन्ने कुराको दरिलो आधार हो यो ।
मानव समाजमा हरेक विधिको बिकास कुनै खास परिवेशमा मात्रै हुने गर्छ, त्यसैको बाबजुद सार्बु खम विधिको बिकास भएको हो । यो विधि सामान्य जस्तो देखिए पनि जुन परिवेशमा यसलाई सामाजिक मान्यता प्रदान गरिएको थियो । यसमा के देख्न सकिन्छ भने पुर्खामा अब्बल चेतको राजनीतिक कौशलता थियो । यसर्थ चरम उत्कर्षमा पुगेको सामाजिक अंतर्विरोधलाई कुटनैतिक ढंगबाट हल गर्ने उपयुक्त विधिको बिकास गर्न सफल भए । हरेक काल खण्डमा मान्छेमा सिर्जित चेतनाको बिकास क्रमसँगै ठाउँ, परिस्थिति अनुसार बिभिन्न विधिको बिकास भएको हुन्छ । त्यही क्रममा किराती पुर्खाले समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्नको लागि युग सापेक्षित बैचारिक आधारहरु स्थापित गरेका थिए । जसको कारण हरेक आविस्कारहरु र बिकासहरु आजको युगमा अ्मुल्य पुँजीको रुपमा रहेको छ । जुन पुँजीको रक्षा गर्दै नयाँ बिकासको निम्ति अघि बढ्ने हो भने आजको बौद्धिक जमातले मुन्धुमलाई राम्रोसँग बुझ्नु र केलाउनु सक्नु पर्छ । भनाइको तात्पर्य सामान्य ढंगको खोज, अध्ययन, अनुसन्धान अर्थात भावनात्मक आवेशद्वारा मुन्धुमको व्याख्या विश्लेषण गरियो भने अन्याय हुन्छ । किनकि मुन्धुम भौतिकवादी दर्शन हो भनेर प्राय सबैले स्वीकार गरिएको विषय हो । अत: मुन्धुम भौतिकवादी दर्शन भएको कारण यसको भौतिक स्वरुप स्थापित गरिदिनुको कुनै विकल्प छैन ।



