जापानको टोकियोमा हुने ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर जम्मा २६ सदस्यीय टिमले सहभागिता जनाउने भएको छ।

टोकियो ओलम्पिक २०२० यहि जुलाई २३ देखि अगस्ट ८ सम्म आयोजना हुँदैछ।

टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी र चार प्रशिक्षक रहेका छन्।

सहभागी हुने खेलाडीमा पौडीका गौरिका सिंह र एलेक्जान्डर ग्याडिगाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरी छन्।

गौरिकाले महिला १०० सय फ्रिस्टाइल र एलेन्जान्डरले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।

कल्पनाले १० मिटर एयर राइफल, सोनियाले ४८ केजी तौल समूह र सरस्वतीले १०० मिटर दौडमा सहभागिता जनाउनेछन्।

प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल छन्।

त्यसमध्ये पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले ‘युनिभर्सियालियाटी प्लेस’ अन्तर्गत खेलमा सहभागिता जनाउने छन् भने बाँकी दुई खेलाडी आमान्त्रित अर्थात् वाइल्ड कार्डको आधारमा सहभागी हुनेछन्।

नेपाली टिमको सेभ द मिसन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल छन्।

उद्घाटन समारोहमा आयोजना हुने मार्च पासमा गौरिका सिंहले नेपाली झण्डा बोक्नेछिन्।

टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीबाट सुधारिएको प्रदर्शनको अपेक्षा गरिएको छ।

पछिल्लो समय टोकियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरूको बन्द प्रशिक्षण राष्ट्रिय खेलकुद परिषदको तर्फबाट गरिएको छ।

अहिलेसम्म पौडीका दुवै खेलाडी तथा प्रशिक्षक जापानको टोकोसिमा सहर पुगिसकेका छन्।

खेलाडीले त्यहाँ प्रि–ट्रेनिङ क्याम्पमा सहभागिता जनाएका छन्। यसले खेलाडीको प्रदर्शनमा थप सुधार हुने ओलम्पिक कमिटीको अपेक्षा छ।

अरु खेलका खेलाडीको लागि पनि प्रि–ट्रेनिङ्ग क्याम्पको तयारी रहेको भएता पनि कोभिडका कारण त्यहाँ पुग्न ढिलाइ भइरहेको छ।

आयोजक जापानले नेपाललाई कोरोना भाइरस संक्रमणको आधारमा समूह ‘वान’ मा राखेको छ।

स्वास्थ्य मापदण्ड‍अनुसार प्रतियोतिगामा सहभागी हुने सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पदाधिकारीले दुई डोज खोप लिइसकेका छन्।

त्यसअनुसार टोकियो प्रवेश गर्नु अगाडि नेपालीले सात दिन लगातार ‘पीसीआर’ परिक्षण गर्नुपर्नेछ। टोकियो पुगेपछि तीन दिन ‘क्वारेन्टिन’मा बस्नु पर्नेछ।

टोकियो ओलम्पिक २०२० नेपालको तर्फबाट सहभागी हुनेहरूको नामावली:

खेलाडी र प्रशिक्षक

१. कल्पना परियार – खेलाडी – सुटिङ
२. असिम यादव – प्रशिक्षक – सुटिङ
३. सोनिया भट्ट – खेलाडी – जुडो
४. सूर्यनारायण श्रेष्ठ – प्रशिक्षक – जुडो
५. सरस्वती चौधरी – खेलाडी – एथ्लेटिक्स
६. इन्द्राकुमारी मल्ल – प्रशिक्षक – एथ्लेटिक्स
७. गौरिका सिंह – खेलाडी – पौडी
८. एलेक्जान्डर ग्याडिगाड शाह – खेलाडी – पौडी
९. शंकर कार्की – प्रशिक्षक – पौडी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट
१. जीवनराम श्रेष्ठ – अध्यक्ष
२ निलेन्द्रराज श्रेष्ठ – महासचिव

नेपाल ओलम्पिक कमिटीबाट
१. चतुरानन्द राजबैद्य – उपाध्यक्ष तथा कार्यकारी निर्देशक
२. तेजबहादुर गुरुङ – उपाध्यक्ष
३. सुनिलकुमार श्रेष्ठ – उपाध्यक्ष
४. पिताम्बर तिम्सिना – सहमहासचिव
५. तुलसी थापा – सचिव
६. प्रकाशसम्शेर राणा – सदस्य
७. राम अवाले -सदस्य

युवा तथा खेलकुद मन्त्रालयबाट
१. केदार न्यौपाने – सचिव

राष्ट्रिय खेलकुद परिषदबाट 
१. शिव कोइराला – उपाध्यक्ष
२. रमेश‍कुमार सिलवाल – सदस्यसचिव
३. सुभाष श्रेष्ठ – सदस्य
४. सम्पन्न श्रेष्ठ – सदस्य

मेडिकल टिम
१ डा. नबिशमान सिंह प्रधान – मेडिकल

टोकियो नेपाली दुतावास
१. प्रेम बराल – कर्मचारी

टोकियोस्थित नेपाली स्वयंसेवक
१. रुपेश डंगोल – स्वयंसेवक