एजेन्सी । इटालीले १६ औँ संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा इङ्ल्यान्डलाई हराउँदै इटाली युरोकप च्याम्पियन बनेको हो ।

वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।

तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।

इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको हो। दोस्रो उपाधि जित्न इटालीले ५३ वर्ष कुर्नु पर्‍यो।

यसअघि इटाली सन् २०१२ को फाइनलमा पुगे पनि स्पेनसँग पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो।

यता ५५ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको लक्ष्य भने पूरा हुन सकेन। इंग्ल्यान्डले सन् १९६६ को विश्वकप जितेपछि कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा पुगेको थियो।