सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत नै आज विश्व सङ्गीत दिवस मनाइँदै
आज विश्व सङ्गीत दिवस मनाइँदै छ ।
कोरोना महामारीका कारण एकै ठाउँमा भेला भएर यो वर्षको ‘विश्व सङ्गीत दिवस’ मनाउन नपाए पनि सङ्गीतका पारखीहरूले सामाजिक सञ्जाल र भर्चुअल माध्यममार्फत यो दिवस मनाउँदै छन्।
सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ।
अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो ।
पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो।
त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो। नेपालमा २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो।
सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, लेखक–रचनाकार, सङ्गीतकार तथा सङ्गीत प्रेमीहरूको सहभागितामा सङ्गीत दिवस मनाउने गरिन्छ ।
सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक सङ्घले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ।
यस अवसरमा कला र सङ्गीतसम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत स्रष्टाहरूलाई सम्मानसमेत गरिने गरिन्छ ।
अहिले विश्वभर फैलिएको कोरोनाको कारण धेरैलाई मानसिक समस्यामा रहेका छन्।
यस्तो अवस्थामा उनीहरुलाई सङ्गीतमार्फत पनि केही हदसम्म मद्दत गर्न सकिन्छ।
कोरोना संक्रमणले निम्त्याएको परिस्थितिका कारण नेपालको साङ्गीतिक क्षेत्रमा निक्कै ठूलो असर परेको छ ।



