इटाली समूह विजेता, हारे पनि वेल्स अन्तिम १६ मा
एजेन्सी – इटाली समूह ‘ए’ को विजेता भन्दै युरो २०२० को अन्तिम १६ मा पुगेको छ। यसअघि नै अन्तिम १६ मा पुगेको इटाली लगातार तेस्रो जित हात पार्दै समूह विजेता बनेको हो।
रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १-० गोल अन्तरले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको ३९ औं मिनेटमा माटियोले निर्णायक गोल गरेका हुन् । उनले मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । खेलको ५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली अग्रता दोब्बर बनाउन चुकेको थियो ।
ओलम्पिक स्टेडियममा १० खेलाडीमा समेटिएको वेल्सविरुद्ध इटालीलाई जित दिलाउन माटियो पेसीनाले निर्णायक गोल गरे ।
यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।
इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।
समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।
उसले अब अन्तिम १६ मा पुग्न उत्कृष्ट तेस्रो टिम हुनु पर्नेछ। ६ समूहका ४ उत्कृष्ट तेस्रो टिम अन्तिम १६ मा पुग्नेछन्।
समूह ‘ए’ को खेल सकिँदा इटालीले ९ अंक जोड्यो। दोस्रो भएको वेल्सले ४ अंक बटुल्यो। ४ अंक नै जोडेर तेस्रो बनेको स्विट्जरल्यान्ड गोलअन्तरमा पछि पार्यो।
वेल्स र स्विटरल्यान्डले टर्कीलाई हराउँदा एकआपसमा बराबरी खेलेका थिए। यस्तै दुवै टिमले इटालीसँग हार बेहोरेका थिए।
तीनै खेलमा पराजित भएको टर्की भने अंकबिहीन हुँदै बाहिरियो।
फोटो हेर्नुहोस एजेन्सीको सहयोगमा




