काठमाडौं कोटेश्वरको भाटभटेनी सुपर मार्केटका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। म्यानेजर सागर गुरूङलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।

निषेधाज्ञाका बेला भाटभटेनी खोलेको आरोपमा उनलाई सोमबार दिउँसो १ बजे पक्राउ गरेको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए।

निषेधाज्ञाको समयमा ग्राहक आएर किनबेच गर्ने गरेको भन्ने स्थानीयबाट गुनासो आएपछि अनुगमन गर्न टोली खटिएको सहायक प्रजिअ अधिकारीले बताए।

‘बाहिर मूल गेटमा ताला लगाइएको थियो। तर साइडमा अर्को ढोकाबाट ग्राहक भित्र पसाउने काम गरेको भेटिएपछि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं,’ डिएसपी बस्नेतले भने।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको उल्लंघन गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।