सरकार परिस्थिति सुधार्न खोज्ने, तरकारी व्यापारी मनस्थिति नसुधार्ने
-
एक राज रुम्दाली
राजधानीमा तरकारीको भाउँ छोइनसक्नु छ । उत्पादन गर्ने किसानहरुको हातमा सुका मोल छैन । तरकारी व्यापारीको हातमा भने मोलैमोल छ । किसान र व्यापारीको बीचमा खेल्ने बिचौलियाको कुरै नगरौ । महंगीले उपभोक्ताका ढाड सेकिएका छन् । जसरी पनि उत्पादन गर्ने किसान र उपभोक्ता मारमा परेका छन् ।
व्यापारीहरु विचौलियाको मिलेमत्तोमा किसानबाट तरकारी सस्तोमा खरिद गरी आफुखुसी मोल तोक्दै बेच्छन् । सरकारले अनुगमन गरे अवरोध गरि हाल्छन् । र, तरकारी नै नबेच्ने भनि सरकारलाई अत्याउँछन् । यसरी सिन्डिकेटको बलमा तरकारी व्यापारीहरु उपभोक्ता र किसानलाई ठगिरहन बानि परेका छन् । त्यसो त तरकारीमा मात्रै होइन कपडा पसल, घडी, जुत्तालगायत अन्य उपभोग्य बस्तुमा पनि सिन्डिकेटकै बलले उपभोक्ता ठगिरहेकै छन् ।
आजभोली राजधानीमा सरकारले तरकारी तथा फलफुल बजारको अनुगमन गरिरहेको छ । केहीअघि कालिमाटी तरकारी बजारमा सरकारी अनुगमन टोलीले अनुगमन गरेको छ । तर त्यहाँका व्यापारीहरु आफै साँढे भएका छन् । विरोध र अवरोधबीच पनि अनुगमनका कारण तरकारी मूल्य केही घटेको समाचार छ ।
अधिकांश तरकारी पसलहरु अवैध रुपमा चलाइएका छन् । व्यापारीहरुसँग न प्यान दर्ता छ नत किसानहरुसँग तरकारी खरिद गरेको बिल नै छ । तैपनि उनिहरु निर्वाध रुपमा व्यापार गरिरहेकै छन् ।
आज सोमबार पनि विहानै सरकारी अुनुगमन टोलीले ‘बल्खु फलफुल तथा तरकारी बजार’मा अनुगमन गरेको छ । त्यहाँ पनि १ जना व्यापारी ले अवरोध गर्न खोज्दा पक्राउ परेका छन् । उनि एक्लै अवरोधमा उत्रिनुले ठग व्यापारीहरुको मनोबल गिर्दै गएको हो कि भन्ने देखिन्छ ।
सरकारी अनुगमन टोलीले अहिलेसम्म औपचारिकताका लागि मात्रै अनुगमन गरिरहेको देखिन्छ । पोहोर टोलीले दरबारमार्ग क्षेत्रका कपडा, घडी, जुत्तालगायतका एउटै सामानबाट व्यापारीहरुले तेब्बर ठगी गरेको सार्वजनिक गरेपनि अरु केही गर्न सकेको छैन । बरु सरकारले जवर्जस्ती व्यापारीको व्यापारी मुल्यमा नियन्त्रण मात्रै गर्न खोजिरहेको देखिन्छ । भने व्यापारीहरु कसरी हुन्छ रातारात कुवेर हुने सपनाबाट ग्रसित देखिन्छन् ।
तसर्थ, अव सरकारले परिस्थिति मात्रै होइन व्यापारीको मनस्थिति सुधार्न अघि बढ्नु बुद्धिमानी कार्य हुनसक्छ । अर्कोतर्फ व्यापारीहरुले पनि व्यापार पैसामात्रै नभई सेवा पनि हो भन्ने मानसिकताको विकास गर्नुपर्ने देखिन्छ । अवका दिनमा किसानको परिश्रम खेर नजाओस् र उपभोक्ता पनि महंगिले सेकिने दिन नआओस् ।



