एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल पुनः पोर्चुगलमा हुने भएको छ । गत सिजनको फाइनल फोर अर्थात सेमिफाइनलदेखिको खेल पोर्चुगलमै भएको थियो ।

पछिल्लोपटक कोभिड भेरियन्टको दोस्रो लहरका कारण टर्कीलाई इंग्ल्यान्ड सरकारले रेड जोनमा राखेपछि फाइनल वेम्वली स्टेडियममा गर्ने प्रस्ताव गरिएपनि सरकारले युरोपियन फुटबल महासंघ ९युइएफए० को केही सर्तलाई अस्वीकार गरेपछि खेल पोर्चुगलमा सारिएको हो ।
अघिल्लो सिजन पनि टर्कीको इस्तानबुलमै हुने भनिएको फाइनल पोर्चुगलमा सारिएको थियो । युइएफएले यो सिजन पनि टर्कीमै फाइनल आयोजना गर्ने तयारी गरेको थियो ।

युइएफएले ब्रोडकास्टर्स र युइएफएका पदाधिकारीलाई बेलायत प्रवेश गर्दा क्वारेन्टिनको १० दिनको समय कम गर्नुपर्ने भन्दै सर्त राखेको थियो । तर, त्यो सर्तलाई बेलायत सरकारले अस्वीकार गरेपछि फाइनल पोर्चुगलमा सारिएको हो । लगातार दोस्रो वर्ष इस्तानबुलबाट च्याम्पियन्स लिगको फाइनल सर्दा अब भने सन् २०२२ को फाइनल टर्कीमा नै हुने भएको छ ।

२९ मेमा हुने फाइनलमा दुई इंग्लिस क्लब म्यानचेस्टर सिटी र चेल्सी भिड्दैछन् । फाइनल एफसी पोर्टोको मैदानमा हुने सम्भावना छ । गत सिजन लिस्वनमा भएको थियो । पोर्चुगल इंग्ल्याण्डको ग्रीन जोनमा रहेको छ । पोर्चुुगलमा बेलायती समर्थक जान सहज हुनेपनि बताइएको छ । फाइनलका लागि चेल्सी र म्यानचेस्टर सिटीले ६ हजारसम्म टिकट पाउनेछन । फाइनलमा दर्शकलाई मैदानमा राख्ने कुरामा स्वास्थ्य विशेषज्ञले भने आपत्ती जनाएका छन् ।