एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सी लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको कीर्तिमान नजिक पुगेका छन् ।

सोमबार राति भ्यालेन्सियाविरुद्ध फ्रिकिकमा आकर्षक गोल गरेका अर्जेन्टिनी स्टार मेस्सी म्यारोडोनाको रेकर्ड नजिक पुगेका हुन् ।

बार्सिलोनाले भ्यालेन्सियालाई उसैको मैदानमा हराउँदा कप्तान मेस्सीले दुई तथा एन्टोइन ग्रिजम्यानले एक गोल गरेका थिए ।

मेस्सीले खेलको ५७औँ मिनेटमा पेनाल्टी मिस गरेको थिए ।

त्यसलगत्तै उनले गोल गरेका थिए । फेरि उनले ६९औँ मिनेटमा फ्रिकिकमा आकर्षक गोल गरे ।

उक्त गोल मेस्सीको बार्सिलोनामा ५०औँ फ्रिकिक गोल थियो । र, क्लब तथा देशका लागि भने ५६औँ फ्रिकक गोल थियो ।

सो फ्रिकिकसँगै मेस्सी स्वर्गीय म्याराडोनाको रेकर्ड नजिक पुगेका हुन् ।

म्याराडोनाले उनको करिअरमा ५९ फ्रिकिक गोल गरेका थिए ।

मेस्सीले लिजेन्ड खेलाडी म्यानुअल पेलेग्रिनाको ४५ र डेनियल पासारेलाको ४३ फ्रिकिक गोलको रेकर्ड उछिनिसकेका छन् ।

 

मेस्सीले ४ अक्टोबर २००८ मा एथ्लेटिको मड्रिडविरुद्ध खेल्दा पहिलो फ्रिकिक गोल गरेका थिए ।

जसमा बार्सिलोनाले ६–१ गोलान्तरको जित निकालेको थियो ।

अब, बार्सिलोनाले यसै साता एथ्लेटिको मड्रिडको सामना गर्दैछ ।