सिंगटी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड,यसरी हेर्ने सकिन्छ रिजल्ट
सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड भएको हो।
कम्पनीको आईपीओमा १५ लाख ६५ हजार ५३० आवेदकबाट शेयर माग भएको थियो ।
त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको मेघा क्यापिटलले जनाएको छ ।
योग्य आवेदकमध्ये २ लाख ६९ हजार ७०० जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ।
कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो।
त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो।
बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।
कस्तो छ कम्पनी र आयोजना ?
दोलखाको कालिन्चोक गाउँपालिकामा कम्पनीले सिंगटी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ।
समग्रमा आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको कम्पनीको दावी छ।
कुल २५ मेगावाट क्षमताको यस आयोजनाको प्रतिमेगावाट लागत २२ करोड छ। कुल ५ अर्ब ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान छ।
७० प्रतिशत सेयर संस्थापक समूहको छ भने १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि र बाँकी २० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी हुन लागेको हो।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १ करोड छ।
केयर नेपालले कम्पनीको आइपिओलाई बीबी माइनसको रेटिङ प्रदान गरेको छ। यसले दायित्व पुरा गर्न कम्पनी मध्यम अवस्था रहेको संकेत गर्छ।
गत पुसमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेकोमा विद्युत गृह परीक्षणको काम बाँकी रहेको कम्पनीले जनाएको छ।
आर्थिक वर्ष २०७७र७८ मा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ रहने प्रक्षेपण छ।
(सर्वसाधारणले मेराे शेयर, कम्पनीकाे वेबसाइट र बिक्री प्रबन्धककाे वेबसाइटमा गइ नतिजा हेर्नसक्नेछन्।)



