चलचित्र पत्रकार संघ नेपालको २१ औं वार्षिक साधारण सभा मङ्गलबार सम्पन्न भएको छ ।  चलचित्र विकास बोर्डको सभाहलमा आयोजित एक कार्यक्रमका बीच साधारण सभा सम्पन्न भएको हो । चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौंलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको उदघाटन समारोहमा प्रमुख अतिथि नेपाल सरकारका माननिय सुचना तथा संचार प्रविधिमन्त्री पार्वत गुरुङ, विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, प्रेस काउन्सिल  सदस्य दीपक पाण्डे, नेपाल पत्रकार महासंघका एसोसियट सचिव प्रकाश थापा र अतिथिअरुमा चलचित्र क्षेत्रसंग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरु नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिप उदय र वर्तमान  कार्य समितिका गोपालकाजी कायस्थ , निर्देशक समाजका रक्षासिंह राणा, निर्माता संघका अाकाश अधिकारी, द्वन्द संघका नारायण प्रधान, प्राविधिक संघका पुष्कर लामा, आदिबासी चलचित्र महासंघ का अमृत सुनवार लगायत चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष हरु शान्तिप्रिय र सन्दिप सापकोटाकाे उपस्थिति रहेको थियो ।

उदघाटन समारोहमा  अध्यक्ष दिनेश सिटौलाले संघले चलचित्र पत्रकारिता गरिरहेका पत्रकारलाई संगठित गर्दै नेपाली चलचित्र, मनोरञ्जन र कला साहित्य क्षेत्रको प्रवद्र्धनका लागि सशक्त रुपमा कलम चलाउँदै आएको बताए । समग्र मनोरञ्जन क्षेत्रलाई मर्यादित र समाजसँग जोड्न चलचित्र पत्रकारले विशेष भुमिका खेल्दै आएको बताए ।

कार्यक्रममा संघका महासचिब समिर बलामीले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रदीप कार्कीले वर्षभरी भएका आम्दानी र खर्चको विवरण सहितको आर्थिक प्रतिवेदन समेत पेश गरेका थिए । चलचित्र पत्रकार संघ नेपालको २१ औं साधारण सभामा संघका ९ ओटा शाखाका पदाधिकारी र संघमा आवद्ध सदस्यहरुको बाक्लो उपस्थीति रहेको  थियो । कार्यक्रममा चलचित्र पत्रकारको क्षमता अभिवृद्धिका लागि शाखालाई पनि एकताबद्ध बनाएर अघि बढ्न आवश्यक रहेको शाखाबाट उपस्थीत प्रतिनिधिहरुको भनाई थियो ।

चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारका लागि कल्याणकारी काेषकाे स्थापना गरेकाे छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल चलचित्र पत्रकार संघ नेपालले अघि बढाएको पत्रकार कल्याणकारी कोष अभियानको शुभारम्भ गरेका छन् । काेषले ६० वर्षभन्दा माथिका चलचित्र पत्रकारलाई मासिक ६ हजार भत्ता दिने तथा समस्यामा परेका चलचित्र पत्रकारहरुको हितमा काम गर्ने उद्देश्यले काेषकाे स्थापना गरेकाे हाे ।

कार्यक्रममा सहभागीले काेषकाे कार्यविधि सहज बनाउन सुझाव दिएका छन्। चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव जेठ ७ गते कल्याणकारी कोषको औपचारिक घोषणा गरीने महासचिव समिर बलामीले बताए। जेठ ७ गते सम्म कल्याणकारी कोषको लागि अभियान चलाउने र कोषमा न्युनतम १० लाख देखि २० लाख पुर्याउने संघको लक्ष्य रहेको छ। कल्याणकारी कोष संचालनको लागि कार्यविधि पनि तयार गरेको छ।