विषय प्रवेश
हुन त धेरै मान्छेहरुलाई लाग्दो हो, ‘–यो केही नजान्ने कुलुङे ढाके्र !’लाई राई जातै हो वा पदवी पगरी भए पनि अब राईलाई जातै मान्नु पर्छ ! भन्ने राईहरु र कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरु प्रति किन त्यत्रो रिस ? अथवा राईवादीहरु प्रति किन रिस–राग गर्नु परेको ? ‘खाई न पाई छालाको टोपीलाई !’ भने जस्तै ‘–यो केही नजान्ने कुलुङे ढाके्र !’ले वर्षौदेखि राई यायोक्खाको विरुद्घ लेखी रहेको छ ? यसको गूढ रहस्य के छ ?’ कोही मनमनै प्रश्न गर्दाे हो, कोही छक्क पर्दो हो ।
किन मैले राई जात होइन भनेर लेखी रहेको छु ?

खासमा राई जात हँुदै होइन/थिएन । तर, विसं २०२१ सालमा आएको भूमिसुधार ऐनसँगै आम जनताले पनि राई भन्न/लेख्न थालेका हुन्पा/एका हुन् । त्यसैले मैले कसैको व्यक्तिगत विरोध गरेको होइन, किनभने, अहिले राई सरहरुले भन्ने गरेको –‘जसले ‘राई जात होइन भन्दै छ, उसको नागरिकता र तीन पुस्तेमा मात्रै होइन, जग्गा–धनी प्रमाणपूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको वा कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र आदिमा समेत राई ! छ ।’

भन्दै हिँड्ने राई सर र राईनी म्याडमहरु छन्, उनीहरुप्रति मेरो व्यक्तिगत चिनजान नै छ, न त उनीहरुप्रति व्यक्तिगत रुपमा मेरो अतिशय दुराशय (नकारात्मक दृष्टिकोण/सोच) नै छ । तर, पनि खासमा कुनै पनि जात वा जातिको जातीय चिनारी वा जातीय स्वपहिचान भनेको उसको जग्गा–धनीको प्रमाण–पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको, कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता होइन भन्ने ‘–यो केही नजान्ने कुलुङे ढाके्र !’को जिरह हो ।

मैले जाने/बुझेसम्म विश्वको कुनै पनि जाति वा समुदायको जातीय स्वपहिचानको आधार उसको जग्गा–धनीको प्रमाण–पूर्जा, विदेश जाँदा चाहिने पासपोर्ट, स्कूल पढेको, कलेज वा क्याम्पस पढेको सर्टिफिकेट, ड्राईभिङ लाइसेन्स, पेन्सन पट्टा, विद्यार्थी परिचयपत्र, वृद्ध भत्ता परिचयपत्र, नागरिकता आदिले दिने होइन कि, सम्बन्धित जाति वा समुदायको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, इतिहास, वंश, पिता–पूर्खाले खाई–खेली आएको भूमि, भाषा, भेषभुषा, धर्म, हामी भन्ने भावना, परम्परागत कानून, संस्कार, संस्कृति, रीतिथिति, चालचलन, गरगहना आदिले दिने हो । निश्चय नै नागरिकता र पासपोर्टले सम्बन्धित व्यक्ति कुन देशको नागरिक हो ? भन्ने प्रमाण मात्रै दिने हो ।

राईबारे प्रस्ट भएर जानु होस्

हो, राई के हो त ? यसबारे राई सर र राईनी म्याडमहरु प्रस्ट भएर जानु होस् । त्यसैले कथित् राई ! जातै हो वा पदवी पगरी भए पनि अब राईलाई जातै मान्नु पर्छ ! भन्ने राई सरहरु र कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड/काजिप्रका दर्ता नम्बर–३२८/०४९/०५०) का हर्ताकर्ताहरुले यस विषयमा पनि प्रस्ट्याएर सार्वजनिक रुपमा आम मानिसहरुले बुभ्mने गरी लेख्नु/बोल्नुपर्ने देखिन्छ । पत्रकार सम्मेलन नै गरेर जाँदा अझ राम्रो हुन्छ । त्यसैले राई भन्नाले विगतमा पदवी वा पगरी मात्रै जनाए तापनि अब राईलाई नै जात मान्नु पर्छ ! भन्नेहरुसँग प्रश्न छ, ‘–यदि राई जात वा जाति नै हो भने, राईको वंश को हो ?, राईको पुर्खाहरुको नाम केके हो ? राईहरुको पिता–पूर्खाले सुरुमा चर्चेको/खाईखेली आएको ऐतिहासिक भूमि कहाँ छ/हो ?, प्रस्ट्याएर जानु होस् ।

के साँच्चै एक जाति २८ भाषी हो त ?

राई सर राईनी म्याडमहरुले कताकती ‘एक जाति राई, २८ भाषी राई !’ विशिष्टता बोकेको राई ! भन्ने गरेको सुनिन्छ । यदि साँच्चै ‘एक जाति राई, २८ भाषी राई !’ र, विशिष्टता बोकेको राई ! हो भने, म एक जाति राई हँु, तर मेरो भाषाचाहिँ २८ वटा हो भने, म एक जाति राई हँु, तर मेरो भाषाचाहिँ २८ वटा छ ! भनेर २८ वटा भाषामा खररर …, ररर…, ररर … बोल्न सक्ने कुनै माईकालाल राई छन् ? छन् भने, हालसम्म कुनै पनि माइकालाल राई ! ले बताएको÷बताउन सकेको छैन । ‘यो केही नजान्ने कुलुङे ढाके्र !’लाई पनि ती २८ वटा भाषामा खररर …, ररर…, ररर … बोल्न सक्ने माईकालाल राईसँग भेट गराई दिनु पर्यो भन्ने अर्को जिरह हो ।

राईको ऐतिहासिक भूमि कहाँ हो ?

जसरी कुलुङ जातिको त पिता–पूर्खाले सुरुमा खाई–खेली आएको/चर्चेको भूमि हालको एक नम्बर प्रदेशको सोलुखुम्बु जिल्लाको उत्तरपर्वी क्षेत्र हो, जसलाई “महाकुलुङ” भनेर चिनिन्छ । त्यस्तै आठपहरियाको पनि होला, बाहिङको पनि होला, मेवाहाङको पनि होला, बान्तावाको पनि होला, … अरुहरुको पनि होला । तर, ‘राई !’ को नि ? राईको पनि पिता–पूर्खाले सुरुमा खाई–खेली आएको/चर्चेको भूमि छ भने, थाहा हुनेहरुले बताउनु पर्यो, लेख्नु पर्यो । राईको ऐतिहासिक भूमि यहाँ हो यो भनेर । त्यस्तै कुलुङ जातिलाई अरु समुदाय वा जातजातिले कुलुङ भनेर चिन्नुअघि वा हामी कुलुङ जातिहरु कुलुङ जाति भनी चिनिनु/जानिनुअघि हाम्रो पूर्खाहरु २३/२४ जना रहेको छ ।

त्यसपछि पनि मुख्य चार वंश वा भनौं पूर्खाहरु रहेका छन् । ती हुन् ‘– छेम्सी, ताम्सी, खप्दूलू र राताप्खू ।’ अनि मात्रै हामी कुलुङ जातिका रुपमा स्थापित भएका हौं । कुलुङ जातिका रुपमा स्थापित भएर पनि हाल कुलुङ जातिभित्रै ३८० वटाभन्दा बढी थर/उपथरहरु रहेको छ । त्यही भएर नै कुलुङ–कुलुङबीच विवाह गर्ने गरिन्छ । नत्र त राईवादी कमरेडहरुले भने जस्तै ‘राई !’ जात र कुलुङ, बाहिङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भने, कसरी एकै थरभित्र अर्थात् नाछिरिङ्-नाछिरिङबीच, कुलुङ–कुलुङबीच, बाहिङ–बाहिङबीच, मेवाहाङ–मेवाहाङबीच, बान्तावा–बान्तावाबीच विवाह हुन्छ ? के राई भन्नेहरु पशु समान हुन् ? कि राई भन्नेहरुमा पनि मुसलमानहरुमा जस्तै दूधको नाता मात्रै बार्ने, रगतको नाता नबार्ने (एकै आमाको सन्तानबाहेक बाबु एकै आमा फरक भए पनि विवाह गर्ने) प्रचलन छ ?

कहिलेसम्म सुगा रटाई गरी रहने ?

त्यसैले आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गर्दै गरेको समयमा पनि उनीहरु (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाई मात्रै गर्दै राई जात र कुलुङ, थुलुङ, मेवाहाङ, बान्तावा आदिचाहिँ थर हो भन्दै कहिलेसम्म नचाहिँदो र आधारहीन बकवास वा भनौं प्रलाप गरी रहने ? आजको जस्तो सूचना, सञ्चार र प्रविधिले फड्को मारेर उखरमाउलो गरी क्रान्ति गर्दै गरेको समयमा पनि उनीहरु (राई जात वा जातिवालाहरु) एकोहोरो रुपमा सुगा रटाई मात्रै गर्दै लिँडेढिपी गरी रहेमा नराम्रोसँग कलंकित हुने छन् । त्यस्तै हाम्रा भावी पुस्ता (नाति, पनाति, खनाति, जनाति, …) ले पनि ती राई जातिवाला राई सर/राईनी म्याडमहरुलाई नराम्रोसँग धिक्कार्ने छन् ।
आगामी जनगणनामा राईको जनसंख्या कति घट्ला ?

संभवतः चेतनापछि फर्किएन भने, आगामी जनगणना (विसं २०७८ को १२ औं राष्ट्रिय जनगणना) मा राईको जनसंख्या वि २०६८ को भन्दा आधाभन्दा पनि बढी घट्ने छ । हुन पनि विसं २०५८ को जनगणनामा ६ लाख ३५ हजार चानचुन रहेको ‘राई !’ को जनसंख्या विसं २०६८ को जनगणनामा घटेर ६ लाख २० हजार चानचुनमा झरेको छ । जबकि १० वर्ष १.२ वा १.३ प्रशितले मात्रै बढेको भए पनि ७ लाख चानचुन हुनुपर्ने थियो । तर, यो पक्षमा भने राई सर राईनी म्याडमहरु चुँ … नबोलीकन बसेका छन् । त्यसरी नै राई जातिवाला अरु राई सर राईनी म्याडमहरुले पनि कथित् राई जातिबारे अन्टसन्ट लेखी रहेको देखिए तापनि यो सत्य र तथ्य–तथ्यांकबारे भने बिरालोले आफनो बिष्टा लुकाएझैंँ लुकाएर बसेका छन् ।

राई जात हो भने किन कारबाही गर्थे ?
स्मरणीय कुरो के छ भने, ‘राई !’ भनेको नेपालको कुनै जात वा जाति नभएर नेपालको भगौलिक एकीकरणपछि शाह राजा एवम् श्री ३ महाराज (राणा) हरुले त्यस बेलासम्म एकै रहेको किरातीहरुको भूमिलाई समेत फुटाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन र पञ्चखत बाहेकको मुद्धा मामिला मिलाउने अधिकार र ठेकीबेठीसहित दिइएको पदवी वा पगरी मात्रै हो । राई शब्दको सुरु वा व्युत्पत्ति भनेको ‘राय’ हो । कर्णाली प्रदेशमा त्यो बेला राजालाई ‘राय’ भनिन्थ्यो । हुन त नेपालको भगौलिक एकीकरणपछि राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, पटवारी, चौधराई आदि पदहरुको पनि श्रृजना गरिएको थियो ।

अहिले आएर कसैले त्यही सामन्तीहरुलाई जनाउने ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘पटवारी’, ‘चौधराई’ शब्दलाई नै जात वा जाति मान्छन् भने त्यसमा हाम्रो आपत्ति छैन । तर, उनीरुले पनि हामीलाई आप्mनो असली जातीय स्वपहिचान कुलुङ, मेवाहाङ भनी अलग्गै जातिका रुपमा चिनिन दिऊन् भन्ने हो । उनीहरुले राई ! भनेको जात वा जाति नभएर नेपाल एकीकरणपछि शाह र राणाहरुले त्यसबेलासम्म एकै रहेका किरातीहरुलाई फुटाएर स्थानीयस्तरमा तिरो–भरो उठाउन र, पञ्चखत बाहेकको मुद्धा मामिला स्थानीयस्तरमै मिलाउन दिएको पदवी वा पगरी मात्रै भए तापनि अब हामी त्यही राई ! पदवी वा पगरीलाई नै जाति मान्छौं भनेर सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर प्रष्ट पारे अझ राम्रो हुन्थ्यो । साथै कुलुङलगायत अन्य किरातीहरुलाई सामन्तवादको प्रतीक वा अवशेष राई ! शब्दलाई नै जात वा जाति मान भनेर दवाव दिँदैनौं भनेदेखि ‘सुनमा सुगन्ध’ हुन्थ्यो ।

विसं २०६८ मा के भएको थियो ?
हो, विसं को ११ औ. राष्ट्रिय जनगणनामा कुलुङ लगायत अन्य १२ किराती जातिहरुको स्पष्ट तथ्यांङ्क आयो । तर, सो तथ्यांक आउन नदिन राई यायोक्खाका तत्कालीन हर्ताकर्ताहरुले केके मात्रै गर्नु भएन ? त्यो वेलाका महानिर्देशक उत्तमनाराण मल्ल सर, जनसंख्या निर्देशक रुद्र सुवाल सर लगायत सरहरुलाई सोध्दा भैहाल्छ । अझ विसं २०६८ को जनगणनाको तथ्यांकमा कथित् सूचीकृत ५९ जाति मात्रै आउनुपर्ने ! आशयको समाचार लेख्ने/छाप्ने कान्तिुपर दैनिकका पत्रकार गणेश राई ज्युलाई पनि धेरै कुरो थाहा छ ।

गणेश राईको पत्रकारिता कस्तो थियो ? विसं २०६८ को जनगणनाको तथ्यांक आउनुअघि र आई सकेपछिको केही समयसम्मको कातिन्पुर दैनिकहरु खोजेर हेर्दा/पढ्दा थाहा भैहाल्छ । यो पंक्तिकारले त्यो वेलाका महानिर्देशक उत्तमनाराण मल्ल सरसँग जनगणनाको तथ्यांक सम्बन्धी समाचारमा के आएको यस्तो भनी प्रश्न गर्दा ‘के गर्नु …, कातिन्पुर दैनिकको पाठक धेरै छ ! भनेर कान्तिपुर दैनिकबाट पत्रकार राख्यौं । तर के गर्नु ? आफनै संस्थाको समाचार आफैले कसरी खण्डन गर्नु ? … भन्नु भएको थियो ।

राई जात भए किन लिम्बुहरु राईबाट फेरि लिम्बु भए ?
राई भनेको जात होइन भन्ने त संखुवासभाका वनेम थरका लिम्बुहरुले विसं १८३१ मा राई पद पाएको आधारमा नामको पछाडि राई लेख्दै आएको तर, उनीहरु असलीयतमा लिम्बु भएको थाहा भएपछि राई पद त्यागेर विसं २०६६ मा पुनः लिम्बु जाति नै भएको उदाहरणले पनि देखाउँछ । सो समाचार विभिन्न पत्रपत्रिका, रेडियो, टिभी आदिमा पनि आएको थियो । दुई–दुई पटक केन्द्रीय सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राई पनि राई छन् ।

उनी नाम सुन्दै मुसलमान होइनन् र ? यदि राई जात वा जाति नै हो भने ती मुसलमान कसरी राई भए ? अर्को महत्वपूर्ण प्रश्न के छ भने, राईको ऐतिहासिक भूमि कहाँं हो ?, राईको वंश को हो ?, राईको मातृभाषा कुन हो ?, राईको मौलिक भेषभुषा के हो ?, राईको मौलिक चाडबाड कुन हो/कस्तो हुन्छ ? देखाउन सक्नु पर्छ भनी माथि नै पनि भनिएको छ । अथवा दुई–दुई पटक केन्द्रीय सहरी विकासमन्त्री भएका मोहम्मद इस्तियाक राई र भारतीय सिने उद्योगकी कलाकार ऐश्वर्य राई पनि राई नै छिन् । उनीहरुलाई राई जातिवाला कमरेडहरुले अहिलेसम्म किन सम्मान नगरेको ?

यायोक्खा’ राई भाषा हो कि, बान्तावा भाषा हो ?
राईको भाषा भन्दै बान्तावा भाषामा आफनो एनजिओको नाम ‘यायोक्खा’ राखिएको छ । त्यस्तै एक जना मामा (बेलायती सेनाबाट अवकास प्राप्त) ले भने अनुसार राईको भन्दै बान्तावा भाषामा ‘यायोक्खा’ नाम राखेपछि चण्डी नाचको नामचाहिँ चाम्लिङको भाषामा ‘साकेला’ राखिएको अरे ! त्यसैले अब राई सर राईनी म्याडमहरुले बान्तावा भाषाको ‘यायोक्खा’ को सट्टामा आफनै (राई कै) भाषाको नाम खोज्दै गर्दा हुन्छ । किनभने, भोलि बान्तावाहरुले हाम्रो (बान्तावा) भाषामा तिमीहरुको संस्थाको नाम राख्न दिन्नौं ! भनेमा के हुन्छ ? त्यस्तै संस्थाको नाम ‘यायोक्खा’ राखेपछि चण्डी नाच भनिने नाचको नाम ‘साकेला’ नाम जुन राखिएको छ, त्यो नाम पनि चाम्लिङहरुले राख्न नदिएमा के हुन्छ ? राईको अलग्गै भाषा नबनाएसम्म ‘चण्डी नाच’ नै भन्दा पनि हुन्छ कि ?

विगतमा राई भएका सबैलाई भाषिक सम्बद्घता दिने हो ?
अर्को महत्वपूर्ण प्रश्न भनेको विगतमा राई भएर तिरोभरो उठाएका वा राई पगरी वा पदवी पाएका बस्नेत राई, कार्की राई, पाण्डे राई, कोइराला राई, माझी राई, मगर राई, कुमाल राई, रोकाया राई आदि राईहरुले पनि अगाडि ‘किरात बस्नेत क्षेत्री राई संघ’, ‘किरात कोइराला बाहुन राई संघ’ ‘किरात मगर राई संघ’, ‘किरात कार्की क्षेत्री राई संघ’, ‘किरात माझी राई संघ’, ‘किरात रोकाया राई संघ’, ‘किरात पाण्डे राई संघ’ आदि संघ खोलेर राई योयोखा नामक एनजिओमा कथित् राई जातिको सदस्यता वा सम्वद्धता माग्न आएमा उक्त एनजिओले उनीहरुलाई पनि कथित् राई जातिको जातीय सम्वद्धता दिने हो ? जसरी दनुवारलाई फुटाएर ‘देवास राई’ भनेर कथित् ‘राई !’ जातिको सम्वद्धता दिएको छ । स्मरण रहोस्, काठमाण्डौमा कार्यरत दुई जना (राजन डोने र ज्योती दनुवार) दनुवारहरुका अनुसार ‘देवास’ भनेको दनुवारहरुको कूल देवताको नाम हो ।

मोहमद ईस्तियाक राई र ऐश्वर्य राईलाई खै सम्मान ?
अर्को महत्वपूर्ण कुरो अथवा प्रश्न भनेको के हो भने, ‘यदि ‘राई !’ साँच्चै जात नै हो भने, नेपालमा तीन पटक सभासद/सांसद र दुई पटक केन्द्रीय/संघीय सरकारको मन्त्री भएका मोहमद इस्तियाक ‘राई !’ र भारतीय सिने उद्योगकी चल्ता–पूर्जा कलाकार (हिरोइन) ऐश्वर्य ‘राई !’लाई राई सर/राईनी म्यामडहरुले अहिलेसम्म किन पगरी÷फेटा नगुथाएको वा भनौं सम्मान नगरेको ?’ वास्तवमा यो प्रश्न हँसी–मजाक र ख्याल–ठट्टा जस्तो लागे तापनि प्रश्न त गम्भीर पो छ है ! राई सर/राईनी म्याडमहरु ?

अन्तमा रहलपहल
अन्तमा धेरै कुरो बाँकी नै भए तापनि यो लेख नै लगभग २५०० (पच्चीस सय) शब्दको भएको छ । तापनि गत १५ सेप्टेम्बरमा ‘सताब्दी न्युज अनलाइन’मा प्रकाशित ‘राई जातिको बारेमा केही गन्थन–मन्थन’ लेखलाई आज (१६ सेप्टेम्बरमा) ‘सार्बजनिक अनलाइन’ले साभार गरेर छापेको छ । जुन राम्रो कुरो हो । तर, ‘सताब्दी न्युज’, ‘सार्बजनिक अनलाइन’, ‘ई नयाँ पुस्ता’, ‘नयाँ पेज’, मुन्धुमस्टार’, …, …, आदि अनलाइन न्युज पोर्टलहरुले विगतमा राई जे सुकै भएको होस्, ! तर, अब ‘राई !’ लाई जातका रुपमा स्थापित गर्नु पर्छ ! भन्ने वा राईलाई सर्मथन हुने लेख, रचना र समाचारहरु मात्रै छाप्ने ? माथि उल्लेखित अनलाइन न्युज पोर्टलका सञ्चालक तथा सम्पादकहरुले वेला छँदै विचार गर्नु होला ।

राई जात होइन भनेर लेखेको लेखचाहिँ किन नछाप्ने ?
हो, राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले पनि छाप्नु पर्यो । होइन भने त तपाई (राई भन्ने वा राई पक्षधर पत्रकार) हरु र राज्य पक्ष वा भनौं सरकार पक्षधरको मिडियाहरुबीच के भिन्नता रहयो र होइन ? त्यसैले तपाईँहरुले पत्रकारिताको धर्म र मर्मअनुसार पनि ‘राई जात होइन भनी तथ्य, तर्क र प्रमाणसहित लेखेको लेखहरु पनि बहस र छलफल होस् भन्ने हिसावले छाप्ने गर्न पर्यो । तर, राईको पक्षधरता लिएको एउटा लेख दुई तीन चार वटासम्म अनलाइन न्यज पोर्टलहरुले साभार गरेर छापेको देखिन्छ … । त्यस्तै महिलाले लेखेको लेख पनि … ।

‘किपट प्रथा’ हटाउँदा राईहरु नै किन खशी भए ?
अनि सबै जातको फूलबारी नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’हरु नै खुशी …. ।’ भनी लेखेका छन्, त्यो भनेको के हो ?

त्यस्तै सन् २००७ को आदिवासी दिवसमा मैले ‘वास्तवमा राई जात होइन, तर, यो राईलाई जात मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय अस्तित्व मेटिन आँटेको छ !’ भन्दा भोजपुर जिल्लाका डा. शिवकुमार राईले यो पंक्तिकारलाई ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भो, किनभने मेरो बाबु पनि ठूलो राई हो/थियो । भूमिसुधार ऐन आएपछि जग्गा–जमीन रैतीको नाममा सार्नु/गर्नुपर्ने भयो ।

तर, मेरो असली राई बाबुले म पो ‘राई !’ यी मेरा रैती/ढाक्रेहरु कसरी ‘राई !’ भनेर बबाल नै गरेका थिए ! भनी बताएका थिए । स्मरण रहोस्, ‘राई !’ जात वा जाति हो कि ? पदवी वा पगरी मात्रै हो भन्ने बारेमा त्यो वेलाको ठूलो ‘राई !’ अर्थात् ५२ पगरीका ‘राई !’को खलकहरु जस्तै भोजपुर जिल्लाको दिल्पा–अन्नपूर्ण नागी क्षेत्रका मुकारुङ खलक, संखुवासभा जिल्लाको पाङमा, धुपुको लोहोरुङ खलक, संखुवासभा जिल्लाकै मेवाहाङ खलकको ५२ पगरीका ‘राई !’को जेठा छोराहरु धरान, काठमाण्डौ लगायतको सहर–बजारमा अझै पनि भेटिन्छ, उनीहरुलाई वास्तवमा ‘राई !’ जात हो कि, पदवी वा पगरी मात्रै हो ? सोधखोज गर्दा अझ राम्रो हुन्छ । (लेखकको निजी बिचार हो) थप केही जानकारी चाहिएमाः ९८४९९८५९९७, ९८६२४३६०४९, Email : ninamkirat123@gmail.com