काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको लिमिटेड (आरएलआई) को सेयर आजदेखि नेप्सेमा कारोबार भएको छ । कम्पनीको सेयर प्रि-ओपनिङ सेसनमा ३२२ रुपैयाँमा कारोबार भएको छ।

नेप्सेमा सोमबार सेयर सूचीकृत भएसँगै मंगलबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार खुलेको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम प्रतिकित्ता १०७.५९ रुपैयाँदेखि अधिकतम ३२२.७७ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो ।

नेप्सेले तोकेको अधिकतम रेन्जमै कम्पनीको सेयर पहिलो कारोबार भएको हो । कम्पनीले भदौ २२ गते नेपाल स्टक एक्सचेन्जमा दुई करोड १० लाख कित्ता सेयर सूचीकृत गराएको छ । कम्पनीको ६३ लाख कित्ता साधारण सेयरसहित कुल २ करोड १० लाख कित्ता सेयर दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएको हो ।

भदौ ४ देखि ८ गतेसम्म इन्स्योरेन्सले ६३ करोड रूपैयाँबराबरको ६३ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गरेको हो । जसमध्ये  कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणमा ५६ करोड ७० लाख रुपैयाँबराबरको ५६ लाख ७० हजार कित्ता सेयर बिक्री गरेको थियो ।