किरात राई विद्यार्थी (किरावि) संघ बुधबारदेखि २२औँ वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रम आयोजना गरी किरावि संघले आफ्नो २२औँ स्थापना दिवस मनाएका छन् । केन्द्रीय समिति र जिल्ला समितिले शुभकामना आदानप्रदान, अन्तत्र्रिmया तथा स्वास्थ्य सामग्री वितरणजस्ता कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएका हुन् । तर, यसपटकको स्थापना दिवस विगतको जस्तो रहेन ।

सबै राई विद्यार्थी एक भएर स्थापना दिवस मनाएका छैनन् । ठीक एक वर्ष पहिले स्थापना दिवसकै दिन दुई चिरा भएको संघले स्थापना दिवस पनि छुट्टाछुट्टै रूपमा मनाएका छन् । जितेन राईको अध्यक्षतामा रहेको केन्द्रीय समिति र रामचन्द्र राईको अध्यक्षतामा रहेको अर्को समानान्तर केन्द्रीय समितिले छुट्टाछुट्टै रूपमा स्थापना दिवस मनाएका छन् ।

दुवै समूहले आफ्नो पकट रहेको जिल्लामा समेत सोहीअनुसार कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । दुई चिरा भएको राई विद्यार्थी संघलाई एकता गर्न मातृ संस्था किरात राई यायोक्खाले पहलकदमी नगरेकै कारण छुट्टाछुट्टै रूपमा स्थापना दिवस मनाउने परिस्थिति सिर्जना भएको विद्यार्थीहरू बताउँछन् ।

उसो त एकताका लागि पहल नभएको भने होइन । यायोक्खाको समन्वयमा दुवै समूह बीच एकताका लागि पटकपटक वार्तासमेत भएको हो, तर समस्या समाधान हुन भने सकेन । गत चैत पहिलो साता काठमाडौंमा यायोक्खासहित त्रिपक्षीय छलफलसमेत भएको थियो । तर, पदीय भागबन्डा नमिलेपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो । त्यसयता कोरोना भाइरस (कोभिड–१९) का कारण औपचारिक छलफल हुन नसकेको दुवै समूहले जनाएको छ ।

२६, २७ र २८ बैशाख २०७६ मा खोटाङमा सम्पन्न नवौँ राष्ट्रिय सम्मेलनले जितेन राईलाई अध्यक्षमा निर्वाचित गरेको थियो । तर, सो सम्मेलनमा सारा किरात राई विद्यार्थीहरूको भावनालाई नसमेटी एकपक्षीय रूपमा, लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्ने नाममा फरक विचार राख्ने समूहलाई निषेध गरेर जवरजस्त रूपमा जितेन राईलाई अध्यक्ष घोषणा गरिएको भन्दै असन्तुष्ट पक्षले सम्मेलन बहिष्कार गरेको थियो ।

किरात राई यायोक्खा अध्यक्ष दिवस राईले सम्मेलनमा संघका संस्थापक, पूर्वअध्यक्ष, जिल्ला प्रतिनिधिहरूलाई समेत निषेध गरी आफू सम्बद्ध विद्यार्थीहरूलाई मात्रै समेटेर नयाँ कार्यसमिति घोषणा गरेको उनीहरूले सम्मेलन बहिष्कार गरेका थिए ।

सोही समूहले २१ औं स्थापना दिवसको अवसरमा गत १७ भदौमा झापाको दमकमा राष्ट्रिय भेला आयोजना गरी रामचन्द्र राईको अध्यक्षतमा अर्को समिति घोषणा गरेका थिए । त्यसपछि दुवै समूहले छुट्टाछुट्टै रूपमा आआफ्नो गतिविधि सञ्चालन गरिरहेका छन् । जितेन नेकपा कम्युनिस्ट पार्टी (नेकपा) निकट र रामचन्द्र जनता समाजवादी पार्टी निकट विद्यार्थी हुन् । दुवै अध्यक्ष फरकफरक विचारका भएका कारण पनि विवाद मिलाउन कठिन भएको देखिन्छ ।

आफ्नो पकड रहेको जिल्लामा आफ्नै टिमबाहेक अर्को टिमले गतिविधि गर्न सकेका छैनन् । मुख्यगरी काठमाडौं उपत्यकामा राम्रो पकड रहेको जितेनको समूहले पूर्वका जिल्लामा खासै गतिविधि गर्न सकेका छैनन् । उपत्यकामा भने विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् । त्यस्तै पूर्वका बहुमत जिल्ला समिति आफ्नो पकडमा राख्न सफल रामचन्द्रको समूहले उपत्यकामा गतिविधि गर्न सकेका छैनन् । उसले पूर्वका बहुमत जिल्लामा आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ ।

मिलेर जानुपर्छ, हामी बाधक छैनौँ : सोभित राई, उपाध्यक्ष (जितेन समूह)
जितेन समूहका उपाध्यक्ष शोभित राईले जुटेर नै सामाजिक आन्दोलनमा जानुपर्छ भन्ने पक्षमा रहेको बताएका छन् । ‘यो घरभित्रको झगडा हो । नमिल्ने भन्ने कुरै हुँदैन । पछिल्लो घटनाक्रमले समुदायलाई क्षति पु¥याएकोे छ । त्यसैले मिलेर जानुपर्छ भन्ने नै हो’ उपाध्यक्ष राईले भने, ‘अर्को समूहमा पनि संगठन बुझेका, नेता बुझेका साथीहरू हुनुहुन्छ । उहाँहरू पनि ८÷१० वर्ष संगठनमा योगदान गरेका साथीहरू हुनुहुन्छ । केही समस्या देखिएकै हो, त्यसलाई मिलाएर संगठन एक बनाउनुको विकल्प छैन ।’

दुवै समूहका विद्यार्थीहरूबीच सौहार्दपूर्ण सम्बन्ध रहेको बताउँदै समस्या समाधानका लागि छलफल भइरहेको बताए । ‘लक डाउनअघि किरात राई यायोक्खाको कार्यालयमा छलफल भएको थियो । केही बुँदामा सहमति जुट्न नसकेपछि फेरि छलफल गरेर मिलाउने सहमति भएको थियो । तर, लक डाउनका कारण ढिलाइ भइरहेको छ,’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि आन्तरिक विवाद मिल्छ । एकताका लागि आवश्यक परे त्याग गर्न पनि तयार छौँ, हामी बाधक छैनौँ ।’

एउटै किरावि संघ बनाउन चाहन्छौँ : रोशन राई, सहकोषाध्यक्ष (रामचन्द्र समूह)
यसैबीच रामचन्द्र समूहको सहकोषाध्यक्ष रोशन राईले आपूहरू विद्यार्थी एकताको पक्षमा रहेको बताएका छन् । दुवै समूहले सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन गरिरहेको र एकअर्कालाई निषेध गर्ने काम पनि दुवै समूहबाट नभएको दावी गर्छन् ।

‘केही अग्रज साथीहरूको स्वार्थका कारण दुई समूह बनेको छ । यो दुःखद् कुरा हो । तसर्थ मिलाउनका लागि विभिन्न चरणमा वार्तासमेत भइरहेको छ,’ राईले भने, ‘फूटले समुदायमा गलत सन्देश गइरहेको कारण चाँडै एउटै किरावि संघ बनाउन चाहन्छौँ । त्यतातिर हाम्रो अभिभावक किरात राई यायोक्खाले विशेष पहलकदमी लिनुपर्छ । यसले छिट्टै सार्थकता पाउँछ भन्नेमा विश्वस्त छु ।’ विचारको आधारमा निशेषको राजनिति अन्त्य गरिएमा समस्या समाधान हुने उनको विश्वास छ ।

यायोक्खाले चाँडै मिलाउनेछः कृष्णकुमार राई, सचिव यायोक्खा
किरात राई यायोक्खाका केन्द्रीय सचिव कृष्णकुमार राईले आफ्नो सबैभन्दा सक्रिय भ्रातृ संगठन किरावि संघ विभाजित हुनु दुःखद् रहेको बताउँछन् । उनले एउटै किरावि संघ बनाउने गरी यायोक्खाले पहल गरिरहेको बताउँदै परिस्थिति सहज हुनासाथ समस्या समाधान गर्ने बताए ।

‘हामीले खोटाङमा सम्मेलन वहिष्कार गरेको समूहलाई मिलाउने कोशिस गरिरहेकै थियौँ । अर्को केन्द्रीय समिति घोषणा गर्ने तयारीबारे थाहा पाएपछि अध्यक्ष र महासचिवसँग सम्पर्क गरेर रोक्ने निक्कै प्रयास गरियो तर सम्भव भएन,’ राईले भने, ‘अर्को केन्द्रीय समिति पनि गठन भयो यो दुर्भाग्य हो ।’

सबैको आआफ्नो विचार र अडान भएका कारण विचलन आएको बताउँदै चाँडै विवाद समाधान हुने बताउँछन् । विवाद समाधानका लागि यायोक्खाले पहलकदमी गरिरहेको बताउँदै औपचारिक र अनौपचारिक रूपमा छलफलहरू भइरहेको बताए ।

‘म आफैं पनि विवाद समाधानका लागि पहल गरिरहेको थिएँ, लक डाउनका कारण अहिले केही ढिलाइ भइरहेको छ,’ राईले भने, ‘अध्यक्ष र महासचिवसँग पनि यसरी समानान्तर रूपमा दुई वटा संगठन चलिरहँदा कसैलाई पनि फाइदा हुँदैन भन्ने निष्कर्षका साथ दुवै समूहलाई एकीकृत गर्नका लागि पहल र प्रयत्न भइरहेको छ । त्यसका लासि अनौपचारिक छलफल भइरहेको छ ।

परिस्थिति सहज हुनासाथ समस्या समाधान हुन्छ ।’ सम्मेलनको वातावरणका कारण केही विचलन आएर समस्या देखिए पनि सबैलाई समेटेर एकीकृत समूह निर्माण गरेर समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ । (राम योङहाङले सुर्यअनलाईनमाबाट लिएको हो । )