–निनाम कुलुङ ‘मंगले’

आज विश्वभरि नै प्रकट रुपमा राष्ट्रवादको नारा उर्लदो क्रममा उठेको देखिन्छ । यसरी हेर्दा राष्ट्रवादको नारा उर्लदो क्रममा रहेको मात्रै होइन कि, यो नारा जिउँदो–जाग्दो भएर फैलने क्रममा रहेको छ । जबकि एक थरी मान्छेहरु आजको जमाना भनेको ‘एक विश्व, एक गाउँ’ (ग्लोबल भिलेज !) को जमाना हो भनी नारा लगाई रहेका छन् ।
तर, विश्वको राजनीतिक मानचित्रको वास्तविकता रेखांकन भने अर्कै हुँदै जाँदैछ । त्यसैले त धेरै देशका राजनीतिक दल र ती देशका केही नेताहरु राष्ट्रवादको त्यही हाँगो समातेर र, नारा उछालेर सत्तामा पुगेका छन् । केही नेताहरुले आफू सत्तामा पुग्ने भर्याङ (नारा अथवा प्रतिवद्धता) गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायत जनताका आधारभूत आवश्यक्ता परिपूर्ति गर्नेभन्दा नारा वा घोषणपत्रलाई आफनो प्रमुख एजेन्डा वा नारा बनाउन छाडेर राष्ट्रवादको नारालाई अचूक अस्त्रको रुपमा प्रयोग गरी रहेका छन् /गर्न थालेका छन् । यो क्रम विश्वका केही देशका नेताहरुले गत केही दशकदेखि पुनः प्रयोगमा ल्याई रहेका छन् मात्रै होइन कि, अरु बढी मुखर भएर आएको देखिन्छ । जस्तै बेलायतले युरोपियन युनियनबाट छुट्टिने निर्णय गर्नु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपति भएर आउने बित्तिकै ‘मेक ग्रेट अमेरिका !’ र ‘अमेरिका फस्र्ट !’ भन्ने नारा लगाउनु, छिमेकी देश मेक्सिको र अमेरिकाको सीमामा पर्खाल लगाउने नारा उछाल्नु आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । हुन पनि इतिहास हेर्ने/पढ्ने हो भने, दोस्रो विश्व युद्धको जग पनि राष्ट्रवादकै जगमा उभिएर भएको थियो भन्न सकिन्छ । किनभने विश्व इतिहासको पछिल्लो कडी हेर्ने हो भने, जर्मन प्mयुहेर हिटलरले राष्ट्रवादको नारा उछालेरै दोस्रो विश्व युद्ध सुरु गरेका थिए । आज फेरि विश्वभरि नै राष्ट्रवाद मुर्झाउँदो क्रममा छ । त्यस माथि हामी नेपालीहरु त राष्ट्रवादको मामलामा झन् के कम ! त्यसैले हाम्रो देश नेपालमा एक–से–एक राष्ट्रवादी कमरेडहरुको कमी छैन ।

त्यसैले नेपालमा पनि घरिघरि राष्ट्रवादको नारा उठ्ने गर्छ । तर, हाम्रो देशको राष्ट्रवाद अहिलेसम्म टुंगोमा नपुग्दै सेलाउने गरेको देखिन्छ वा भनौं टुंगोमा नपुगी बेवारिसे बनेको देखिन्छ ! संभवतः विश्व–जगत रहेसम्म ! एक देशले अर्को देशको सीमा मिच्ने, विवादित सीमा क्षेत्रको भूमि आफनो भनी एक–अर्का देशले दावी गर्ने, एक देशले अर्को देशलाई हेप्ने क्रम चली नै रहन्छ ! र, त्यसका विरुद्ध आन्दोलन गर्ने र आफनो गुमेको भूमि फिर्ता गर्नका लागि विभिन्न माध्यमहरुबाट पहल गर्ने क्रम पनि चली नै रहन्छ । तर, अधिकांश देशमा के देखिन्छ भने, आफनो देशको सीमा मिचिदाँ वा सीमा क्षेत्रको विवादित भूमि आफनो हो भन्नका लागि त्यहाँका सरकार वा सरकार प्रमुखहरु नै अघि सर्छन् । तर, हाम्रो देश नेपालमा नि … हाम्रो देश नेपालमा यो मामिलामा अलि फरक परिदृश्य देखिने गरेको छ । खास गरी नेपालका जति सुकै राष्ट्रवादी भनिएको कुनै पनि राजनैतिक दल होस् वा ती राजनैतिक दलमा रहेका राष्ट्रवादी भनी चिनिने नेताहरु नै किन नहोस्, उनीहरुले नेपालको राष्ट्रवादलाई सत्तामा पुग्ने सबैभन्दा सजिलो भर्याङको रुपमा मात्रै प्रयोग गर्ने गरेको देखिन्छ । जुन कुरोलाई पटक्कै राम्रो भन्न/मान्न सकिन्न ।

तर, यसपटक हाम्रो देशमा अचम्मै भएको छ । वास्तवमा भन्नु पर्दा अचम्म भन्दा पनि धेरै राम्रो र सही काम भएको छ । त्यो हो ‘–नेपालको पश्चिमी सरहद (नेपाल–भारत–चीनको सीमा क्षेत्र) मा रहेको कालापानी–लिपुलेकको केही विवादित (स्मरणीय छ, नेपाल भारत सीमा क्षेत्रको सुस्ता र कालापानी विवादित भुमि भनी दुवै देशले स्वीकार गरेको) भूमि नेपाल सरकारले आफनो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको/छापेको छ । त्यसैले यो कामका लागि वर्तमान नेपाल सरकारका प्रखुम सम्माननीय प्रधानमन्त्री केपी ओली ज्यु विशेष धन्यवादका पात्र हुनु हुनुन्छ ।

नेपाली भाषामा रहेको उखान ‘मान्छे चिन्ने र खसी किन्ने’ असली समय भनेको पनि यही वेला हो । कि होइन हौं, राष्ट्रवादी कामरेडहरु ? अझ यो कामको पहल सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले नै लिनु भएमा ‘सुनमा सुगन्धु नै हुन्थ्यो ।

हुन त नेपालका अधिकांश बुद्धीजीवी, विश्लेषक, सीमाविद, सीमाविज्ञ, विषयविज्ञ आदि भनिने र भनाईनेहरुले भनेझै नेपाल सरकारले आफनो देशको नक्सामा समेटेर नयाँ नक्सा जारी गरेकै/छापेकै भरमा भारतले ‘हिजोदेखि आजसम्म मैले तिम्रो भूमि अतिक्रमण गरेको थिएँ/थिए छु । तर, आज तिमीले मेरो भूमि भनी दावी गरेर तिम्रो देशको नक्सामा समेटेर छापेछौ । त्यसैले अबदेखि यो भूमि तिम्रो भयो, त्यसैले अब फिर्ता लैजाऊ !’ भनेर सजिलोसँग फिर्ता दिँदैन । तर, आज हामीले नक्सासहित दावी गरेपछि तथ्य–प्रमाणसहितको एउटा आधार त खडा भयो/भएको छ । जो अहिलेको हाम्रो पुस्ता (हामी छौं) ले सो भूमि तत्कालै फिर्ता गर्न नसके तापनि पछि आउने हाम्रा भावी पुस्ताले तथ्य–प्रमाण र इतिहासको आधारमा दावी गर्ने छन् ।

त्यसैले यहाँ हामी नेपालीहरुले खास गरी नेपालका अति राष्ट्रवादी कामरेडहरुले अर्को एउटा महत्वपूर्ण काम गर्नु पर्यो भनी यो पंक्तिकारको विशेष आग्रह छ । त्यो के भने, उहिल्यै राष्ट्रकवि माधव घिमिरे (विसं २०६१/०६२ मा राष्ट्रकवि घोषित भएका) ले ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रीय गीत लेख्नु भएको छ । सो गीतको पूरै पंक्ति तल उल्लेख गरिएको छ ।

गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली
जय जय जय नेपाल सुन्दर शान्त विशाल ।

गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली
लेक र बेंसी बिम्झाउँछन् लहर लाखौं उचाली
हिमाल चुली बोलाउँछ पहिलो झुल्का निकाली
सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली ।

सीताले सारा भिजाइन् दक्षिण लंका भारत
भृकुटी तारा उदाइन् उत्तर चीन, तिब्बत
हामीले हिमाल उठायौं एसियाको मझमा
सभ्यता बास बसेथ्यो आएर यही साँझमा ।

यै नेपाली धूलामा दिलको फूल रोपेर
यै पहाडी शिलामा प्रीतिको गीत खोपेर
बाँचौंला हामी नेपालमा चन्द्र र सूर्य ध्वजा ली
नाचौंला हामी हिमालमा ज्योतिको पंख उचाली ।

माथिको राष्ट्रिय गीतबारे थाहा नहुने नयाँ पुस्ताका धेरै नेपालीहलाई सो राष्ट्रीय गीतको पूरा पंक्ति त्यत्ति नै होला भन्ने लाग्न सक्छ । तर, त्यस्तो होइन । सो गीतमा अन्तिमका अरु चार हरफका एक महत्वपूर्ण पंक्ति छुटेको वा जानाजान छुटाईएको छ । छुटेको वा जानाजान छुटाईए सो पंक्ति पनि तल प्रस्तुत गरिएको छ ।
पश्चिम किला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।

गीतको सन्दर्भ स्रोतः फणीन्द्र नेपालद्धारा लिखित ‘नेपाल टिस्टा टु सतलज’ नामक किताबको पाना नम्बर–२१९/२२० । माथिको राष्ट्रिय गीतको सन्दर्भमा भन्नु पर्दा पछिल्लो पंक्ति किन हटाईयो ? कसले हटायो ? भन्नेतर्फ म अरु धेरै संकेत गर्दिन । तर, महत्वपर्ण कुरो के छ भने अहिलेसम्म पनि सो गीतका रचयिता तथा राष्ट्रकवि माधव घिमिरे ज्यु तपाईँ हामीमाझ जीवित हुनु हुन्छ । त्यसैले राष्ट्रवादी कमरेडहरुले उहाँ जीवित हुँदै उहाँलाई भेटेर उहाँद्धारा लिखित, राष्ट्रिय गीतको हटाईएको पछिल्लो पंक्तिका बारेमा सोधखोज गरेर वास्तविकता के हो ? पत्ता लगउन सकिन्छ । किनभने, जस्तै कूपुत्र–पुत्री ! भए पनि आफूले जन्म दिएको आफनो सन्तानको माया र ममता आमालाई हन्छ, त्यसरी नै राष्ट्रकवि माधव घिमिरे ज्युलाई पनि आफनो ‘जय, जय, जय हे नेपाल’ नामक गीतको

‘पश्चिम किला काँगडा पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं
बुद्धले यहीं पाएथे ज्ञानको पहिलो मुहान
शिवले यहीं ल्याएथे सृष्टिको पहिलो बिहान ।’

भन्ने पछिल्लो पंक्ति हटाउँदा उहाँमा केही न केही त महसुस त अवश्य नै भयो होला । त्यसैले उहाँले पछिल्लो पंक्ति हटाउनुपर्ने वाध्यता वा विवशताको कारण के थियो ? अब त अवश्य नै बताउन सक्नु होला । कि विसं २०३३ मा साझा प्रकाशनले निकालेको उहाँको गीत संग्रहको ‘किन्नर किन्नरी’ संग्रहमा मात्रै सो पंक्ति छुटेको हो ? अन्तमा यो कुलुङेको के आग्रह छ भने, राष्ट्रकवि माधव घिमिरे ज्युको सो ‘जय, जय, जय हे नेपाल’ शीर्षकको राष्ट्रीय गीतको पूरै पंक्ति (हटाईएको पछिल्लो पंक्ति समेत खिचेर) को नयाँ श्रब्य–दृश्य बनाउनेतर्फ (छायाँङ्कन गर्नेतर्फ ) पनि राष्ट्रवादी कामरेडहरुले पहल लिई हाल्नु होस् । किनभने, नेपाली भाषामा रहेको उखान ‘मान्छे चिन्ने र खसी किन्ने’ असली समय भनेको पनि यही वेला हो । कि होइन हौं, राष्ट्रवादी कामरेडहरु ? अझ यो कामको पहल सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले नै लिनु भएमा ‘सुनमा सुगन्धु नै हुन्थ्यो । त्यसैले माथि उल्लेखित राष्ट्रिय गीतको हराएको वा हटाईएको पंक्ति पनि थपेर तुरुन्तै नयाँ श्रब्य–दृश्य बनाउन (तयार पार्न) का लागि सम्माननीय प्रधानमन्त्री केपी ओली ज्युले सरकारको मातहतमा रहेको ‘नेपाल टेलिभिजन’लाई सो कामको जिम्मा लगाई हाल्नुपर्ने देखिन्छ । त्यसो गर्दा कसो होला, राष्ट्रवादी कामरेडहरु ?

थप केही जानकारी चाहिएः ९८४९९८५९९७, ९८६२४३६०४९, ninamkirat123@gmail.com