‘माने बार्सिलोना आए भने मेस्सीलाई उछिन्छन्’-जोन
एजेन्सी, २ वैशाख । लिभरपुलका पूर्वखेलाडी जोन एल्ड्रिग्डेले साडियो मानेले बार्सिलोना जानुपर्ने सुझाव दिएका छन् ।
हालै दिएको एक अन्तर्वार्ताका क्रममा जोनले उत्कृष्ट खेलाडी बन्नका लागि माने बार्सिलोनामा अनुबन्ध हुनुपर्ने बताएका हुन् ।
सन् २०१६ मा साउथह्याम्पटनबाट ३४ मिलियन युरोमा लिभरपुल आएका सेनेगलका स्टार माने पछिल्लो समय स्पेनिस महारथी रियल मड्रिडसँग जोडिएका छन् ।

रियलका प्रशिक्षक जिनेदिन जिदानले उनलाई आफ्नो टोलीमा थप्न लागेको जनाइएको छ । च्याम्पियन्स लिग विजेता मानेले लिभरपुलबाट १ सय ६१ खेलबाट ७७ गोल गरेका छन् ।
मानेको विषयमा बोल्दै जोनले ‘लिभरपुल इको’सँग भने, ‘मानेले लिभरपुल छोडेर बार्सिलोना जानुपर्छ । यदि, उनले त्यसो गरेमा उनले मेस्सीलाई उछिन्छन् । तथापि, अहिल्यै नै उनी मेस्सीभन्दा उत्कृष्ट छन् ।’

‘मेरो सुझाव के छ भने मानेले आफ्नो सपना पूरा गर्नका लागि एन्फिल्ड छोडेर बार्सिलोना वा रियल मड्रि जानुपर्छ । यसो भएमा उनले मेस्सी र रोनाल्डोजस्तै अवार्ड जित्नेछन्’, उनले भने ।
यसैगरी जोनले माने बालोन डी‘ओरको हकदार भएको बताउँदै भने, ‘मानेले बालोन डी‘ओर जित्न सक्छन् । उनी एक महान खेलाडी हुन् । लिभरपुलबाटै पनि उनले यो जित्न सक्छन् ।



