डाक्टर किरात : हिरो बन्ने चाहानाले संगीताकार भए (भिडियो सहित)
काठमाडौं । कुनै बेला खोटाङ सिम्पानीको कसेरीमा बारीको पाटमा हामफाल्दै, उफ्रदै, गीत गाउँदै गाउँ उराल्ने ठिटो उच्च शिक्षा आर्जन गर्ने अभिलाषा बोकेर काठमाडौंमा छिरेको थियो । जन्मेको गाउँ कसेरीबाट सिम्पानी मावि सम्मको उकालोलाई लगातार १० वर्षसम्म स्पर्श गरेको त्यही युवाको मनमस्तिष्कमा नाम जस्तै पेसा ग्रहण गर्ने सपना पनि नभएको त कहाँ होर ? शास्त्रिय संगीतका गुरु तथा वैचारिक अभियान्ता र सामाजिक आन्दोलनका अगुवा समेत रहेका संगीतकार डक्टर किरात हुन ।
डाक्टर किरातले किराती संस्कृतिसँग जोडिएका कवि, गीतकार तथा साहित्यकार भूपाल राईको सुन बालुवामा, थामी राख्नु है छोरा, सुनैको केश धोएँ सुनकोसीमा बोलका कालजयी गीतमा संगीत गरेका छन् । यसको अलवा उनैले संगीत गरेको ‘यसपाली पनि हाम्रो भेट हुँदैन जस्तो छ’ निकै चर्चामा आएको गीत हो ।
संगीतको बजार छैन भन्ने हो भने यो क्षेत्रमा लागि परेकाहरूले के गरेर खाइरहेका छन् त ? उनी प्रश्न राख्छन् । काठमाडौंमा यतिका रेर्कडिङ स्टुडियो खुलेका छन् ती पनि चलेकै छन् । गीतकार हुँ, संगीतकार हुँ, गायकगायिका हुँ भनेर अरू केही नगरे पनि बाँचेकै छन् । गीतसंगीतको बजार छैन भनिए पनि १ महिनामा १० देखि १५ वटा एल्बमहरू बजारमा आइनैरहेका छन् ।
नेपाली संगीतको दुनियाँमा ०५४/५५ बाट हेलिन थालेका उनले हालसम्म करिब ३ सयभन्दा बढी गीतहरूमा संगीत भरिसकेका छन् । आधुनिक तथा शास्त्रीय संगीतको प्याटनमा रमाउने उनको संगीतको कम्पोजले निकै माथिल्लो तहको पुरस्कारहरू समेत जितेको छ । उनकै शब्दमा रहेको गीत, ‘खोपी राखुँला नि लैै लै तिम्रो नाम दर्शनै ढुंगामा’ बोलको गीतले ०६५ सालमा बिबिसी अवार्ड नै जितेको थियो । हाल काठमाडौंको बसुन्धरामा नयाँमार्गी संगीत विद्यालय सञ्चालन गरेर बसेका किरातले नेपाली सदवहार संगीतमा समेत आफ्नो उपस्थिति उतिकै दिएका छन् ।



