काठमाडौँ । विश्‍वकप छनोट प्रतियोगिताका लागि ट्रेनिङ थालेको नेपाली फुटबल टोलीका फिटनेश ट्रेनर विवेकबिक्रान्त अधिकारी र खेलाडीबीच विवाद भएको छ। अधिकारीले राष्ट्रिय टोलीका उपकप्तान किरण चेम्जोङको मुखमा चिया छ्यापिदिएपछि विवाद चर्किएको हो।

मुख्य प्रशिक्षक योहान कालिन विदामा भएकाले सहायक प्रशिक्षक किरण श्रेष्ठ, फिटनेश ट्रेनर अधिकारी र डाक्टर राजु योगीको टोलीले आइतबारबाट राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेको थियो। मुख्य प्रशिक्षक व्यक्तिगत कारण घर गएकाले राष्ट्रिय टोलीले आइतबारबाट समान्य अभ्यास थालेको थियो।

अभ्यासका क्रममा फिटनेस ट्रेनर अधिकारीले पहिलो दिनमै कडा अभ्यास गराएको भन्दै खेलाडीले विरोध जनाएका थिए। खेलाडीले पहिलो दिनमै कडा अभ्‍यास गराउँदा गाह्रो भएको र सुरुमा हल्का अभ्यास गरेर विस्तारै कडा अभ्यास गर्न आग्रह गरेपछि खेलाडी र फिटनेश ट्रेनर विवेकविक्रान्तबीच विवाद बढेको हो।

‘फिटनेश ट्रेनरसँग विवाद भएको हो’, राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्‍जोङले भने, ‘हामीले उहाँको फिटनेश अभ्यासबारे प्रश्‍न गरेका थियौं। त्यतिकैमा उहाँले फाइटर म्यानजस्तो व्यहार देखाउनु भयो। मेरो मुखमा तातो चिया खन्याइदिनुभयो।’

‘उहाँको व्यवहारबारे पहिल्यैंदेखी धेरै प्रश्‍न उठिरहेका थिए। जुनियर खेलाडीबाट उहाँप्रतिका गुनासाहरू आएका थिए। तर, बोल्न सकेका थिएनन्। मसँग त्यस्तो घटना भएपछि उहाँका नकरात्मक कुराहरू झनै बाहिर आएका छन्। मैले यस विषयमा एन्फालाई जानकारी गराएको छु। खेलाडीमाथि दुर्व्यवहार हुँदा सम्बन्धित निकायबाट कस्तो कारवाही हुन्छ भनेर पर्खिरहेको छु’, ट्रेनर अधिकारीको व्यवहारप्रति आपत्ति जनाउँदै किरणले थपे, ‘उपकप्तानलाई त यस्तो व्यवहार गर्नेले जुनियर खेलाडीलाई के गर्लान् ? सहजै अनुमान गर्न सकिन्छ। तातो चियाँ मेरो आँखामा परेको भए आँखानै गुम्‍न सक्थ्यो। तर, भाग्यवस् त्यस्तो भएन्।’

राष्ट्रिय टोलीमा भएको विवादपछि एन्फाका महासचिव इन्द्रमान तुलाधरले तत्कालका लागि ट्रेनर अधिकारीलाई काम नगराउन निर्देशन दिएको स्रोतले जनायो। महासचिव तुलाधर मंगलबार नै भुटान प्रस्थान गरेका छन्। राष्ट्रिय टिम तयारी समितिका संयोजक मधुसुधन उपाध्यायले यस विषयमा अध्ययन भइरहेको बताए।

‘सोमबार बिहान विवाद भएको रहेछ,’ उपाध्यायले भने, ‘एएफसी कपको तयारीमा व्यस्त भएका कारण मैले पनि राम्रोसँग बुझ्न पाएको छैन। हामीले दुबैजनासँग स्पष्टिकरण सोधेका छौं। महासचिव ज्यु भुटान जानु भएको छ। उहाँ आउनु भएपछि हामी यस विषयमा आवश्यक निर्णय गछौं।’

राष्ट्रिय टोलीलाई प्रशिक्षण गराइरहेका सहायक प्रशिक्षक किरण श्रेष्ठले भने उक्त घटनाबारे केही जानकारी नरहेको बताए।