भविष्यको तयारीमा लाखौं डलरको लागत: एआई चिपको अर्थशास्त्र
काठमाडौं। कहिलेकाहीँ विज्ञान कथामा मात्र सम्भव जस्तो लाग्ने कृत्रिम बुद्धिमत्ता (एआई) आजको दिनचर्याको अभिन्न अङ्ग बन्दै गएको छ। मोबाइलको भ्वाइस असिस्टेन्टदेखि कार्यालयको डेटा विश्लेषण, अस्पतालमा रोगको पहिचानदेखि कारखानाको स्वचालनसम्म—एआईको प्रयोग विस्तारै हरेक क्षेत्रमा फैलिँदैछ।
तर यसको तीव्र विकासको बीचमा एउटा कडा सत्य पनि छ — एआई विकासको लागत अकल्पनीय रूपमा बढिरहेको छ। एआई लोकप्रिय बन्दै जाँदा यसको लागि चाहिने चिप उत्पादनको खर्च पनि तीव्र गतिमा चढेको छ।
एनभिडियाका प्रमुखको खुलासा
विश्वकै प्रमुख एआई चिप निर्माता कम्पनीहरूमध्ये एक, एनभिडियाका सीईओ जेनसन हुआङका अनुसार, नयाँ पुस्ताको एआई चिपको डिजाइन र निर्माण सुरु गर्नमा नै ५.५ अर्ब अमेरिकी डलरभन्दा बढी लागत आउँछ। विशेष गरी, कारखानाबाट पहिलो चिप निस्कनु अघि नै यति ठूलो रकम खर्च हुन्छ।
हुआङका अनुसार, नयाँ एआई चिपको डिजाइन, इन्जिनियरिङ, आर्किटेक्चर विकास, सिमुलेशन र टूल-चेन निर्माण जस्ता सबै प्रक्रिया शून्यबाट सुरु गर्नुपर्छ। केवल डिजाइन र इन्जिनियरिङमा नै ५-६ अर्ब डलर खर्च हुन्छ।
उत्पादनसँगै जोडिएको ठूलो लागत
डिजाइन पूरा भएपछि चिप उत्पादनको लागि ‘मास्क सेट’ तयार गर्नु पर्छ, जसको लागत मात्रै करिब ५० करोड डलर छ। यसप्रकार, उत्पादन सुरु हुनु अघि नै साढे ५ अर्ब डलर भन्दा बढीको लगानी भइसकेको हुन्छ।
प्रति चिपको मूल्य कति हुन्छ?
सुरुको लागत अत्यन्तै ठूलो भए पनि, प्रति चिपको बजार मूल्य भने फरक हुन्छ। उदाहरणका लागि, एनभिडियाको अत्याधुनिक एआई चिप ब्ल्याकवेल B200 को मूल्य प्रतियुनिट ३० हजारदेखि ४० हजार डलर छ। यो मूल्य यसको अघिल्लो पुस्ताको H100 चिप जत्तिकै हो। यसमा सुरukको अनुसन्धान र विकास लागत समावेश हुँदैन; मूल्यमा उत्पादन, प्याकेजिङ, ढुवानी र कम्पनीको नाफा मात्र रहन्छ।
यति महँगा चिप किन आवश्यक?
स्वाभाविक प्रश्न उठ्छ — यस्तो महँगो चिप बनाउनुको आवश्यकता के हो?
यसको जवाफ एआईको क्षमतामा निहित छ। ब्ल्याकवेल B200 जस्ता उन्नत एआई चिपहरू सामान्य CPU र GPU भन्दा धेरै गुणा शक्तिशाली हुन्छन्। यी चिपहरूको कम्प्युटिङ क्षमता, स्मृति शक्ति र ऊर्जा दक्षता यति उच्च हुन्छ कि सयौँ साधारण प्रोसेसरले गर्ने काम एउटा चिपले नै गर्न सक्छ। यसले ऊर्जा, समय र सञ्चालन खर्चमा ठूलो बचत गर्छ। यही कारणले महँगा भए तापनि यी चिपहरू भविष्यका प्रविधिका लागि अनिवार्य बन्दै गएका छन्।




