कोशी प्रदेशको नामकरण खारेजी माग गर्दै पहिचानवदीहरुको प्रदर्शन
विराटनगर । कोशी प्रदेशको नामकरण खारेजी गरी पहिचानको आधरमा नामकरण गरिनुपर्ने माग राख्दै पुन : पहिचानको आन्दोलन ब्युँतिएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचान पक्षधरले आइतबार दोस्रो चरणको आन्दोलन सुरु गरेसँगै पुनः पहिचानको आन्दोलन ब्युँतिएको हो ।
प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आह्वानमा विराटनगरको भृकुटी चोकबाट जनआन्दोलन चोकसम्म पहिचान पक्षधरले प्रदर्शन गरे । उनीहरुले कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा नामकरण हुनुपर्ने माग राख्दै निकालेको ¥याली जनआन्दोलन चोकमा कोणसभा गरे ।
प्रदेश नम्वर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा आयोजना गरेको विरोध प्रदर्शनमा माओवादी उपाध्यक्ष पम्फा भुसाल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवम् पूर्वमुख्यमन्त्री राजेन्द्र कुमार राई, राष्ट्रिय मुक्ति क्रान्तिका अध्यक्ष राजेन्द्र महतो, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष आहुति, जसपा नेपालका सहअध्यक्ष रकम चेम्जोङ, पहिचानवादी मोर्चाका सदस्य सचिव पूर्वमन्त्री गोपाल किराती र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसम्म सहभागी थिए ।
नाम खारेजीको माग गर्दै सुरु भएको आन्दोलन केदार कार्की नेतृत्वको सरकारले नाम परिवर्तनको पहल गर्ने सहमति गरेपछि सुस्ताएको थियो । पहिचानवादीको प्रदर्शनलाई ध्यानमा राखेर विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको थियो । ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
२०७९ फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरले विरोध जनाउँदै आएका छन् । आन्दोलन र प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी हालसम्म पदमकुमार लिम्बू ‘लाजेहाङ’ को मृत्यु भयो भने १५० भन्दा बढी घाइते भएका थिए ।