Logo

“जाँड-रक्सीको सुरुआत र प्रयोग”


-भाई किराती

मानव अस्तित्वमा आएदेखि फिरन्ते अवस्थाबाट स्थायी रुपमा बसोबास गर्ने अवधारणाको मुल कारण पारिस्थितिक प्रणाली नै हो । जसमा प्रथमतः हिम युगको आगमन- जसले महिनौं, वर्षौंसम्म सिमित क्षेत्रमा रहनुपर्ने अवस्था, र कृषि व्यवसाय, जमिन आवादी नै थियो । जुन अवस्था सम्म आइपुग्दा आफ्नो समुह अट्ने ओढार नै मानवको लागि उपयुक्त थियो । समयको परिवर्तनसँगै मान्छेको चेतनामा पनि सापेक्षित फेरबदल आउनु बिज्ञानको नियम नै हो । त्यसैकारण समयको बहावसँगै परिस्कृत घरहरु सहित व्यवस्थित  बस्तीहरु बन्न थाले । किनकि एउटा अवस्थाको उत्पादन सम्बन्ध अर्को अवस्थामा अनुत्पादक बन्ने गर्दछ । तसर्थ मान्छेले कालान्तरमा ओढारबाट घरको बिकास गर्न सफल भए साथै घरायसी र बाहिरी कामको बिभाजन पनि हुन गयो । किनभने फिरन्ते अवस्थामा, प्राकृतिक देन बाहेक मान्छेको काम, कर्तव्य तथा जिम्मेवारीहरुप नाबालक बाहेक प्राय सबैको बराबरी हुनेगर्थ्यो । जुन जिम्मेवारी बाँडफाँड पछि पुरुषहरु घर बाहिरको काम जस्तै आवस्यक आहारा जुटाउने, आवस्यक सामग्रीहरुको बन्दोबस्त गरिदिने, भेडा पालन  तथा समुदायको रक्षामा जोड दिन्थे । र महिलाहरु लालाबालाहरुको रेखदेख स्याहार सुसार लगायत घरायसी जिम्मेवारीमा रहन्थे । समयको गति क्रमसँगै महिलाहरु पनि विभिन्न इलम तर्फ अघिसरे र लालाबाला हेरचाहको अलावा हाते सीपद्वारा अल्लो र कपासबाट धागो निकाल्ने लुगा बुन्ने, जाँडरक्सी बनाउने लगायत कलाद्वारा आवस्यक घरायसी सामग्रीहरु र भोज्य वस्तुहरुको उत्पादन तर्फ उन्मुख भए र घरेलु उत्पादन बिस्तार भएको पाइन्छ ।

त्यसरी मान्छेले घरायसी आवस्यकता पूर्ति गर्नको निम्ति सुरुआत  गरिएको सीप जन्य सामग्रीहरुले समाजको हरेक मूल्य मान्यताहरुमा प्रत्यक्ष प्रभाव पार्‍यो । त्यस्ता वस्तुहरुको व्यापकताले कालान्तरमा व्यवसायको रुप लियो । त्यसरी उत्पादित घरेलु उत्पादनहरुको व्यवस्थित रुप नै घरेलु उद्योगको रुपमा स्थापित भयो । घरेलु उद्योगको महत्वपूर्ण अंग जाँडरक्सी एक हो । यसले राज्यको अर्थतन्त्रमा उल्लेख्य टेवा पुर्‍याएको हुन्छ । जुन जाँडरक्सी- खाली मादक पदार्थ मात्रै होइन यसमा सामाजिक, साँस्कृतिक, आर्थिक, बैज्ञानिक तथा दार्शनिक महत्व जोडिएको छ ।

विश्वमा अल्कोहलिक पेयपदार्थ प्रख्यात छ । यसलाई नेपाली भाषामा मादक पदर्थ वा जाँडरक्सी भनिन्छ । भाषा बिबिधताको आधारमा जाँडलाई छ्याङ, हान, वाछुन, निर्मा, दी, थी, वासिम, उम्माक, खलम आदि नामले चिनिन्छ, भने रक्सीलाई, आइराक, आराखा, हेङवा, सिङवा, खावात, दारु आदि नामले चिनिन्छ । यो सर्वत्र गाउँ शहरहरुमा सहजै प्राप्त गर्न सकिने मादक पेयपदार्थ हो । यसको विशेषता – खाएपछि मात लाग्नु वा नशा लाग्नु, फरक जोस जाँगर उत्पन्न गराउनु हो । यसको सिधा अर्थ- जाँडरक्सी, मात्न कै लागि मान्छेले सेवन गर्ने हो । तर त्यसको अधिक वा अपाच्य सेवनलाई दुरुपयोग भन्न सकिन्छ । रक्सीको आविष्कार र त्यसको बैज्ञानिक तथा दार्शनिक पक्षहरुको बारेमा लेखक आशकुमार राईद्वारा ठोस विश्लेषण गरिएको छ । भने यसैको बारेमा अन्य लेखकहरुद्वारा छिटफुट रुपमा लेखिएको पाइन्छ । यस आलेखमा जाँडरक्सीको सुरुआती त्यसको उपयोग सहितको इतिहास बारे आफ्नो खोज – अध्ययनद्वारा प्राप्त आधारहरु निम्नानुसार प्रस्तुत गरिएको छ ।

आदिम मानव समाज कृषि युगमा प्रवेश गर्नु नै मानव बिकास क्रमको मुल आधार हो । जब मान्छे कृषि युगमा प्रवेश गर्‍यो, तब सबैतिरको मार्ग प्रशस्त भै अझै अघि बढ्न चाहे । फलस्वरूप नयाँ नौलो बिधि, मूल्य मान्यता, चालचलन, बानीहरु र जीविकोपार्जनको क्षेत्रहरुमा पनि उत्तिकै परिवर्तन र बिकास हुन थाल्यो । यसरी परिवेशको कायापलटले, जीवन पद्धतिहरुको ढांचाहरु, संशोधन तथा परिमार्जनका साथसाथै सापेक्षित बिकास गर्दै मान्छे अघि बढ्यो । मान्छेले जीवन गुजारा गर्ने सन्दर्भमा हरेक युगको खास  वातावरणमा बाँच्ने अभ्यास क्रमसँगै, पहिले पहिले खनिखोस्री बटुलेर काँचो उपभोग गर्दै आएको कन्दमुल जन्य भोज्य वस्तुहरु कुनै समयको अन्जान घटनाबाट आगोमा पोलेर खान सिके । यसबारे जानकारहरुको मत अनुसार – “आगो ताब्दै एकजनाले काँचो खाँदै गरेको तरुल, दन्किरहेको आगो भित्र खस्यो र उसले तत्काल निकाल्न सकेन, भरै आगो ओझिएपछि बल्लतल्ल खोजी निकालेर पुनः खाँदा फरक स्वादको पायो । अब उसले निरन्तर अभ्यास गर्दै लग्यो अनि अरुलाई पनि चखायो, ठिक भएकोले सबैको स्वीकृतिले कन्दमुललाई आगोमा पोलेर खान थाले । तत्पश्चात मान्छेले आगोको महत्व र उपयोगिता बारे अझै राम्रोसँग बुझ्दै लाने मौका प्राप्त गरे । मान्छे अब पाकेको भोजन तर्फा आकर्षित भए ।” कालान्तरमा हरेक क्षेत्रहरूको निरन्तर खोज, अनुसन्धान तथा अभ्यासले खास अन्न तथा कन्दमुल लगायत साग – सिस्नो जस्ता झोलिलो खान्कीहरु पकाएर खाने तिव्र इच्छाशक्तिको बाबजुद खास भाँडाकुँडाको आविष्कार हुन पुग्यो । र भाँडोमा पकाएर भोजन गर्ने चलन सुरु भयो ।

समयको गतिसँगै भोज्य वस्तुहरु मध्ये मान्छेको निम्ति अन्न सर्वोत्कृष्ट ठहरियो । अनि मान्छे अन्न बालीको खेती तर्फ अझै व्यवस्थित ढंगले लागे । जुन बेला समाजमा कुटानीपिसानीको चेत आइसकेको थिएन, त्यसबेलासम्म मान्छेले अन्नको दानै उसिनेर खान्थे । त्यसरी उसीनेर खाँदा उपयुक्त भए तापनि खुराक प्रति अन्दाज गर्ने अनुभवको कमीले खाना जहिल्यै पनि उब्रने, त्यो उब्रीएको खाना लामो समयसम्म बचाउन पनि नसकिने र कुहिएर खान अयोग्य हुने समस्याले तनाव दिँदै गयो । जुन खालको हैरानी, दिक्दारीको समाधानको खोजी पनि हुन थाल्यो, तर कुनै उपाय पनि जुट्नु सकेको थिएन । त्यस्तो खड्किरहेको अन्योलता भित्र फेरि अर्को घटना घट्न पुग्छ । जुन घटनाको उपज स्वरुप जाँडको आविष्कार हुनपुग्यो । त्यस आविष्कारले पकाएको भात कुहिएर खेर जाने समस्याको अन्त्य गर्‍यो । यसबारे विशेष स्रोत भनेको हाम्रा मान्य बयोबृद्ध पुर्खा तथा नोक्छोङहरु नै हुन । जो पुर्खाहरुका अनुसार “समाजमा नोक्छोङहरु अर्थात जडिबुटी विज्ञहरु धेरै जना भइसकेका थिए । सबै नोक्छोङहरुले जडिबुटीबाट दवाई बनाउने तौरतरिका एकै किसिमको नै थियो । एकजना नोक्छोङ बाजेले सधै जडिबुटी संकलन गरि, सम्म परेको चप्लेटी ढुंगामा राखेर, सानो ढुंगा हातमा लिएर कुटिकुटी ढुट्टो पार्थे र त्यसलाई खपेटामा उठाएर घर भित्रको काल्लामा राख्ने गर्थ्यो । एकदिनको कुरा हो, बजु सुन्माले बिहानको खाना बनाइ-तुल्याइ, सबै परिवारले खाए सधै झैँ भात उब्रीयो । उब्रीएको भात त्यतै छाडेर बजु सुन्माले सरसफाइ गर्न थाले, त्यही क्रममा उनले चलाउँदै गरेको खरेटोले त्यो काल्ला माथिको औषधिको भाँडोलाई छोइदियो, र भाँडो कोल्टियो, पोखिएर झरेको केही भाग दवाई उब्रेको भातको भाडोमा पर्‍यो । बजुले त देखे तर आखिर खेर जाने त हो नि भन्ने सोच्दै त्यत्तिकै छाडेर सबैजनाले सामलको थैलो बोकेर वस्तुभाउ सहित खर्क तिर लागे ।

त्यहाँ पुगेपछि बजु अल्लो केलाउन थाले, बाजे सहित जवानहरु जति कोही छाप्रो हाल्न, कोही कन्दमुल खन्न, कोही सिकार खेल्न तिर लागे किनभने अलिक समय उतै बस्ने निधो गरेका थिए । अल्लो केलाउँदै सुकाउँदै झण्डै महिनौं बितेछ । लामो समयपछि घर आइपुगेर बजु सुन्मा भने घरधन्दा गर्नतिर लाग्छन् । घरभित्र उनले अरुबेलाको भन्दा छुट्टै वास्नाको महसुस गर्दैथिइन । केहिबेर पछि भात पकाउनलाई भाँडा हेर्दा त्यहाँ पुरानो भात रहेको याद भयो, र त्यो बिग्रीसक्यो भनेर फाल्नलाँदा हल्लियो र अझै वास्ना धेरै आयो । बजु अझै उत्सुक हुँदै बाहिर उज्यालोमा लगेर हेरिन भात त भात नै हो तर कुहेको जस्तो गन्ध होइन, के हो ? भनेर अध्ययन गर्न थालिन । यो वास्नामात्रै राम्रो हो कि खाँदा पनि मिठो हुन्छ भनेर उत्सुकता जाग्यो र उनले चाखिन । चिज वास्नाको राग जस्तै स्वादिष्ट थियो । अब बाजेलाई पनि बोलाएर अस्ति छोडेको भात त यस्तो पो भएछ, भनेर देखाइन । बाजे बजु दुवैले हेरे सोचे अनि यो अस्ति खाइएकै भात त हो नी खाइहेरौँ जे होला भनेर थोरै थोरै चाखे । चाख्दा स्वादिष्ट त भयो तर कतै मरिने पो हो कि ? कहिल्यै नखाको चिज भनेर दुवैजना चिन्तित बने । त्यो वस्तुलाई एक ठाउँमा सुरक्षित राखेर भान्सा तुल्याए र भोजन गरेर सुते । भोलिपल्ट सम्म दुवैलाई केही नभएपछि हिजोको भन्दा धेर धेर खाए । त्यसले चाहिँ अलिक फरक अनुभूति गरायो । क्रमशः त्यसको परिक्षण गर्दागर्दै केही दिनमा त त्यो चिज नै सकियो । त्यसपछि यो चिज खाएर नमरिने रहेछ तर यो कसरी बन्यो ? फेरि कसरी बनाउने ? भन्ने जिज्ञासा जाग्यो । अनि बाजे र बजु दुवैले छलफल गर्दै जाँदा, बजुले भनेछन् ए अस्ति मैले घरभित्र बढार्दै गर्दा माथि काल्लामा तिमीले राखेको भाँडो ढल्किएर पोखिएको दवाई त्यो उब्रेको भात भएको भाँडामा परेको थियो ।´ यति भनेपछि दुवैले अझै मिहिन ढंगले अध्ययन गर्न थाले । अब त्यो काल्लामाथिको बाँकी रहेको जडिबुटीको ढुटोलाई राम्रोसँग निर्क्यौल गरे र भात पकाएर त्यसमा त्यो दवाई मिसाएर चिज बनाउनलाई अभ्यास गर्न थाले, चिज बन्दै गयो । एक नयाँ भोज्यकलाको उद्घाटन भयो । र त्यसको लागि कुनकुन जडिबुटीको आवस्यकता पर्छ भन्ने खोज तर्फ लागे । त्यसमा लाग्ने जडिबुटीको पहिचान गरिसकेपछि, हामीले नयाँ खाना पत्ता लगाएका छौँ भनी, विभिन्न नोक्छोङहरु र समाजका जिम्मेवार मान्छे लगायत सम्पूर्णलाई बोलाएर नयाँ भोजनद्वारा स्वागत गरे । त्यो नयाँ खाना खाएपछि त्यसले शरीरको हरेक अंगहरुमा मात्रै होइन मानसिक क्षेत्रमा समेत फरक उर्जा दिने साथै फरक आनन्द प्रदान गर्दोरहेछ भन्ने कुरा थाहा पाए । त्यसकारण, बजु सुन्मा र ति नोक्छोङ बाजेलाई त्यो भोजमा सहभागी सबैले खुसी भैइ रिशीवा तथा लहरीद्वारा मुरी मुरी धन्यवाद, स्यावासी दिँदै अझै प्रगतिको कामना व्यक्त गरे । साथै अरुहरुलाई पनि त्यस्तै खाना बनाउन सिकाउन अनुरोध समेत गरे ।

समाजमा त्यो खान्की तुल्याउने कला सिकाउने सुरुमा त्यही बाजे र बजु दुईजना मात्रै भएपनि सिक्नेको संख्या व्यापक बन्दैगयो । सिक्ने जति सबैले प्रयोग गर्दा सबै सफल भए । अनि समाजले त्यो नयाँ खानालाई उत्कृष्ट खाद्यवस्तुको रुपमा अंगिकार गर्‍यो । अब त्यो खाना सबैको घरघरमा बन्न थाल्यो । त्यतिमात्र होइन आफ्नो समुदायदेखि अर्को समुदायहरुमा क्रमशः बिस्तार हुँदैगयो । बिना रोकावट हरेक क्षेत्रमा सर्वव्यापक बन्दै अघि बढ्यो । एक किसिमले यो उद्योगको रुपमा स्थापित भयो । यो बहु-उपयोगी खाद्यवस्तु हो, यसलाई भोक, तिर्खा लाग्दा, जन्म देखि जीवनको प्राय सबै क्षणहरु जस्तैः साथीभाइ जमघट, दुख पर्दा होस् वा हर्षमा, पाहुनापाछा सत्कार, आफन्ता भेटघाटमा जाँदा कोसेलीको रुपमा अति उत्कृष्ट मानिन्छ । र किराती समाजमा झैझगडा मिलाउने काममा समेत यही जाँडरक्सीको प्रयोग गरिन्थ्यो । यसरी मान्छेको  जन्मदेखि सुरु गरेर मृत्युको दिन अन्तिम पटकको लागि चिहान माथि छड्के काटिएको बाँसको उल्टो ढुंग्रोमा जाँड राखिदिने संस्कृति रहेको छ । अनि त्यो लासको सतगत सकेर धामी सहित सबैजना फर्केर आइन्छ । जुन मरौघरको बाहिरपट्टी जाँडरक्सी बाढ्नलाई दुईजना मान्छे तैनाथ राखिएको हुन्छ । मलामीलाई जाँड सगुन दिएर चोख्याउने चलन अझै पनि छँदैछ ।

समयको गतिसँगै मान्छेको अध्ययन, प्रयोग तथा अनुसन्धान जाँडको आविष्कारमा मात्रै सिमित रहन सकेन । र फेरि जाँडको आधारभूत सिद्धान्त प्रकृतिबिज्ञान भएकोले त्यसबेलाको मान्छेले सैद्धान्तिक आधार थाहा नपाए तापनि त्यसको पूर्ण बिकास अनिवार्य थियो । मान्छेले जाँडको उपभोग गर्ने सिलसिलामा यो यसलाई पानीसँग घोलेर पनि प्रयोग गर्नथाले । कतै कतै भौगोलिक परिवेशको कारणले ठण्डी ठाउँमा वा ठण्डी मौसममा जाँडलाई तताएर प्रयोग गर्ने चलन पनि आरम्भ भयो । यसोगर्नुको कारण त्यसलाई तताउदा स्वादमा केही भिन्नता आउँछ र शरीरलाई पनि न्यानो बनाउँछ । त्यो चेतनाले फेरि केही मान्छेमा खुल्दुली जगायो । र जाँडलाई पुनः पकाउदा नयाँ के बन्नसक्छ, वा कस्तो स्वाद आउँछ ? भनेर जान्ने उत्सुकताले घचघच्याइरह्यो । अन्ततः जो जो मान्छेले त्यतातिर ध्यान केन्द्रित गरे तिनीहरू नै अघिबढे र अनुसन्धान सुरुगरे । जाँड्लाई जतिसुकै उसिनेपनि स्वादमा केही भिन्नता बाहेक नयाँ उपलब्धि भने केही हात लागिरहेको थिएन । एकदिनको घटना हो, भाँडोमा पानी र जाँड घोलेर आगोमाथि बसाएछन् अनि फल्याकले भाँडोको मुख ढाकिदिए । भाडोको बिट खाल्टो परेको, सिधा नभएकोले फल्याकले ट्याप्पै छोप्न सम्भव भएन । भाँडोको जाँड उम्लीरहेको छ, हेर्दा भाँडाको मुख खाल्टो भए तिरबाट ढकनी लाको फल्याकको एकछेउ देखि  पानीको तप्कना चुहिनु थाल्यो, त्यहाँ अर्को भाँडा थापिराख्यो । भरै केही जिज्ञासु मान्छे सहित जम्मा भएर त्यसको अध्ययन सुरुगरे, चाखेर पनि हेरे । अन्ततः यसले पनि जाँडले जस्तै मात्ने नै रहेछ तथापि स्वाद र रूपमा भने पूर्ण रुपले परिवर्तन भएको रहस्य पत्तालगाए । त्यसलाई निरन्तरको अध्यन र अभ्यासद्वारा पूर्ण मादक पेयपदार्थ स्थापित गरे । यसरी जाँडलाई रक्सीमा बिकास गराए । सबै त्यसबेलाको नयाँ नौलो विषयप्रति जिज्ञासु, विज्ञ पुर्खाहरु नै समाजका आधारभूत बैज्ञानिक हुन् र अहिलेको बिज्ञान-प्रविधि उनीहरुकै देन मन्नुपर्दछ । यस विषयले जिज्ञासाको प्रतिक्रिया प्रति कौतुहलता मेटाउन सही ढंगको खोज, अध्ययन तथा अनुसन्धानमा निरन्तर मेहनत र उसको लगानीको प्रतिफल स्वरुप ति पुर्खाहरुले नयाँ पेयपदार्थ वा रक्सीको आविष्कार गर्न सफल भएका थिए भन्ने कुरा स्वत: स्पष्ट छ ।

निष्कर्षमा :-

आदिम कालको अन्जान परिवेशमा पनि खोज, अध्ययन तथा अनुसन्धानद्वारा आविष्कारको क्षेत्रलाई वृहत् रुपमा अघि बढाउन सक्नु भनेको त्यस समयको पुर्खाहरुको सामान्य चेतको उपज पक्कै होइन । र यि नयाँ वस्तुहरुको आविष्कारहरु, मुलत:दैनिक, मासिक तथा वार्षिक रुपमा हुने प्रगति जस्तो होइन । पृथ्वीमा मानव अस्तित्वमा आएपछि हजारौं पुस्तासम्म बिकास शून्य अवस्थाबाट गुज्रिएको थियो, जुन युगलाई आदिम साम्यवादी युग भन्ने गरिन्छ । किनभने त्यसबेलासम्म दुनियाँमा पारिस्थितिक प्रणाली पनि सामान्य परिवर्तन बाहेक समान गतिमा नै हिडिरहेको थियो । जब संसारमा  पारिस्थितिक प्रणाली असमान गतिमा चलायमान हुनथाल्यो, तब त्यही प्रणाली अनुसार मान्छेले पनि गतिलिनु बाध्यात्मक स्थिति बन्यो । हजारौं पुस्तापछि मान्छेले कृषि खेती सुरु गरेका हुन् । सयौं पुस्ताको अन्तराल पछि अन्नलाई पकाएर भात खाने चलन आयो । फेरि सयौं पुस्तापछि भातलाई जाँड बनाउन थालियो । फेरि सयौं वर्षको खोज अध्यन र अनुभवले रक्सीको आविष्कार भयो । जे होस् मान्छे – हरेक क्षेत्रमा कोसिस जारीराख्ने प्राणी हो, त्यसैकारण अघि बढ्नेगर्छ । खासमा पकाएको खानालाई धेरै लामो समयसम्म बिग्रन नदिन अथवा पकाएको भातलाई धेरै समयपछि पनि खान योग्य बनाउने उपायको खोजी कार्यमा तिव्र इच्छाशक्तिद्वारा गरिएको कोसिसहरुको फलस्वरूप जाँडको आविष्कार भएको हो । यता रक्सी भनेको जाँडको पूर्ण विकसित रुप हो । अर्थात जाँडको अन्तिम चरणको अवस्था नै रक्सी हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्