Logo

मध्यम वर्गको छटपटी !


कवि, बलराम तिमल्सिना

मध्यम वर्गको छटपटी !

अरुले खाएको हेर्छ – छटपटिन्छ
अरुले लाएको हेर्छ -छटपटिन्छ
अरुले घुमफिर गरेको हेर्छ- छटपटिन्छ
कहिले भाज्ञ्लाई दोष दिन्छ
कहिले सरकारलाई दोष दिन्छ
कहिले बाउलाई
कहिले आमालाई
कहिले लोग्नेलाई
कहिले स्वास्नीलाई
र कहिले छोराछोरीलाई हेर्छ र गुनासो गर्छ ।
अरूले घडेरी किनिसके
घर बनाइसके
तला थपिसके
व्यवसाय फैलाइसके
शेयर किनेर मालामाल भैसके
छोरा छोरी युरोप अमेरिका सेटल गरिसके
सरकारी जागिर खाइसके
त्यो पनि भन्सारको
त्यो पनि मालपोतको
त्यो पनि अदालतको
आफूलाई हेर्छ कठैवरा देख्छ – छटपटिन्छ !
कपडा लाएरै हिड्छ
फाटेका पनि लगाउदैन
उध्रेका पनि लगाउदैन
टालेका त झनै लगाउदैन
तर नाङ्गै छु भनेर सोच्छ
खाना खाएरै हिड्छ
मोटोपनको शिकार समेत भएको छ
अनेक थरि उपचार गर्छ
तर सँधै भोकै छु भनेर सोच्छ
तर सँधै भोकै छु भनेर रुन्छ
मध्यम वर्गको छटपटी विचित्रको छ ।
अरुका हातका घडी हेर्छ
अरुका गलाका सिक्री हेर्छ
अरुले चढेका गाडी हेर्छ
अरुले बनाएका घर हेर्छ
लडिबुडी गर्छ ।धकी धकी रुन्छ
आफूलाई
संसारका सबैभन्दा गरीव सोच्छ
सबैभन्दा अभागी सोच्छ !
आफूभन्दा गरीव पनि छन भन्ने कुरा
उसलाई थाहा त छ तर थाहा नभएजस्तो गर्छ
गरीव देख्यो भने मुन्टो बटार्छ
गरीवीलाई अपराध मान्छ
अमिर देख्यो भने लुत्रुक्क पर्छ
अमिरीलाई महानता सोच्छ
पैसा नै सबै थोक हो
अरू सबै बकवास हुन भन्छ ।
सिध्दान्तका कुरा सुन्यो भने दिक्क मान्छ
आदर्शका कुरा गरेको ठाउँमै बस्दैन
त्याग भन्ने कुरा
मल-मूत्र र खकार-सिँगान मात्रै थाहा छ
बलिदानका कुरा सुन्यो भने वमिट गर्छ
मध्यम वर्गको रोग विचित्रको छ
मध्यम वर्गको सोच विचित्रको छ !
सबैभन्दा अस्थिर
सबैभन्दा मौकापरस्त
सबैभन्दा कायर
र सबैभन्दा ढोङ्गी
मध्यम वर्ग
केवल छटपटाई रहन्छ
छटपटाउदै जन्मेको विचरो मध्यम वर्ग
छटपटाई छटपटाई बाँच्छ
र छटपटाई छटपटाई मर्छ ।
मध्यम वर्ग
मध्यम बर्गीय जिन्दगी बाँच्छ
र कुलीन बर्गीय सपना देख्छ
सपना र विपनाबीचको
यही खाडलमा उफ्रदा उफ्रदा
पटक पटक खाडलमै खस्छ
खाडलमै रुन्छ
र खाडलमै मर्छ !
२०८० श्रावण २
सिनामंगल।

कवि’कै फेसबुक वालबाट साभार सामाग्री!

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्