पहिचानवादीले एमाले विरुद्व प्रहार गर्नुको दार्शनिक कारण- गोपाल किराती ‘साईंला’

मुन्धुमस्टार डटकम- पूर्वी नेपालमा आदिवासी तथा प्रगतिशीलजनको भीषण आन्दोलन जारी छ। भनिरहनु पर्दैन, २०७९ फागुन १७ गते डकैट शैलीमा रातारात प्रदेश नाम कोशी थोपरिएपछि यो आन्दोलन उठेको हो। बृहत्त ऐतिहासिक अर्थमा किरात तथा विशिष्टिकृत अर्थमा किरात, लिम्बुवान र कोचिला-मधेशको राजकीय पहिचानलाई चिहानमा गाड्ने धृष्टता गर्दै कसैले माग नगरेको कोशी नाम थोपरिएपछि आदिवासीजन स्वभाविक रुपमा आक्रोशित भएका हुन। त्यस आन्तरिक औपनिवेशिकता विरुद्व उनीहरुले आफ्नो क्षेमताले भ्याएसम्म प्रतिरोध कार्वाही सुरु गरेकोवारे दुनियाँ जानकार छ। यस क्रममा आफुमाथि मात्र प्रहार भएको भनी नेकपा (एमाले) का नेताहरुले जुन गुनासो पोख्ने गरेका छन, त्यसको कारणहरुवारे यो संक्षिप्त आलेख केन्द्रीत छ।
कारण १ः एमालेको गोर्खाली अन्धराष्ट्रवादी रवैया
अढाइ सय बर्ष अघि पृथ्वीनारायण शाहको गोर्खाली सामन्ती राज्य विस्तारका बखत नेपाल उपत्यकालाई असली हिन्दुस्तान बनाउने र चारजातको हिन्दु राजनीतिक व्यवस्था गर्ने औपनिवेशिक अतिक्रमणद्वारा पूर्वका आदिवासीहरुको सार्वभौम गणजातीय राज्यहरु नृशंसतापूर्क लुटिए। मुलुकी ऐन थोपरेर जंगवहादुर राणाले पृथ्वीनारायणको राजनीतिक कार्यदिशालाई वैधानिकता प्रदान गरे। राजा महेन्द्रले बहुदलीय प्रजातन्त्रमाथि दमन गर्दै हिन्दु राज्य थोपर्ने कृत्य गरे।
शाह र राणाहरुको उपरोक्त सामन्ती उत्पीडनबाट पूर्वका आदिवासी जनता निरन्तर मुक्ति र न्याय खोज्दै आएका छन। तर, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओली भने आफुलाई पृथ्वीनारायण शाह, जंगवहादुर राणा र महेन्द्र शाहको गोर्खाली उत्तराधिकारी तुल्याउने घोर प्रतिगामी धृष्टतामा देखिन्छन। व्याख्या गरिरहनु पर्दैन, ओलीको प्रतिगामी रवैया संघीयता, गणतन्त्र र लोकतन्त्र विरोधी कृत्यमा आधारित छ। त्यसकारणले पहिचानवादी आन्दोलनकारीको प्रहार एमालेमाथि केन्द्रीत हुनु सरासर ऐतिहासिक भौतिकवादसम्मत ठहर्छ।
कारण २ः एमालेको आदिवासी पहिचान विरोधी राजनीतिक चरित्र
उपरोक्त एमाले-ओलीको गोर्खाली अन्धराष्ट्रवादी प्रवित्ति, खासगरी झापाली गुटले पुष्पलाल श्रेष्ठमाथि तथाकथित गद्दार आरोपित गर्दादेखि नै सुरु भएको थाहा लाग्छ। कमरेड पुष्पलाल वर्गीयसंगै जातीय मुक्तिको दृष्टिकोणमा प्रतिबद्व थिए। नेपालमा राजतन्त्रको उत्पति, मातृसत्तात्मक समाज, संयुक्त जनआन्दोलनको कार्यदिशा जस्ता पुष्पालालका भौतिकवादी रचनाहरु वस्तुतः बाहुनवाद विरुद्व लक्षित थिए। नेपालमा कम्युनिस्ट पार्टीको स्थापना, पुनर्गठन र तत्कालीन अवस्थामा नयाँ जनवादी कार्यक्रम जस्ता पुष्पलालका वैचारिक-राजनीतिक उध्योगहरु सम्पूर्ण रुपमा सामन्ती बाहुनवाद विरुद्व केन्द्रीत थिए।
पुष्पलाल श्रेष्ठको उपरोक्त क्रान्तिकारी भौतिकवादी उध्योगवारे नकारात्मक दृष्टिभाव राख्ने, विशेषतः बाहुनहरुले उनलाई गद्दारको बनावटी अभियोग थोपरे। त्यसरी गद्दार भन्नेमध्ये एक झापाली समूह थियो। झापाली समुहको एक सदस्य खड्गप्रसाद ओली पनि थिए। फलस्वरुप झापाली गुटले उत्पीडित जाति, भाषा र संस्कृतिको विषयलाई साम्प्रदायिक करार गर्ने गुटनीति अख्तियार गर्दै आयो। परिणाम, गोरेबहादुर खपाङगीहरुले तत्कालीन माले परित्याग गरे भने अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङहरुले पनि अन्ततः एमाले परित्याग गरे। “बाँचुन्जेल गद्दार, मरेपछि बल्ल इमानदार” को नियती पुष्पलाल्माथि थोपर्ने बाहुनवादी अपराधकै कारण नेपालमा क्रान्ति सम्पन्न हुन सकेको छैन।
त्यसरी पुष्पलाल विरुद्व खडा भएको गुट नै झापाली र माले हुँदै एमाले बन्न पुग्यो। जसको कारण एमाले-ओली आफ्नो जात जनाईरहन्छन, जुन आदिवासी पहिचान विरुद्व छ, जसले कोशी नाम थोपर्छ। प्रतिरोधमा सचेत तथा वहादुर आदिवासीहरुले गोर्खाली अन्धराष्ट्रवादी एमाले र त्यसको नेतृत्वमाथि प्रहार गर्दछन। जुन प्रहार वर्गसंघर्षको नियम अनुसार अत्यन्त स्वभाविक तथा जायज हो।
कारण ३ः पहिचानवादीहरु विरुद्व एमालेको साँढे हुक्र्याइँ
कोशी नामाकरणमा गोर्खाली अन्धराष्ट्रवादी एमालेको मतियार बन्न पुगेका प्रचन्डवादी तथा कांग्रेसहरु जनआन्दोलन सामु पुच्छर लुकाउदै विज्ञप्ति मार्फत प्रतिरक्षात्मक कित्तातर्फ भाग्न थाले। एमाले ओलीले भने कोशी अपराधको स्वामित्व लिन खोज्दै पूर्वमा साँढे गोरूको हुक्र्याइँ देखाउने धृष्टता गर्यो। आदिवासी तथा प्रगतिशील जनताले साँढे ओलीको सिं भाँच्ने चेष्टा गरे। भएको यो हो।
न्यायपूर्ण आन्दोलनकारीलाई आताङककारी भनी, जसरी पुष्पलालको राजनीतिलाई निमिट्यान्न पार्न ती लागि परेका थिए, तर जागेका आदिवासी तथा प्रगतिशीलजन झुकेननन्, बरु एमाले-ओलीसित उनीहरुले शाहसपूर्वक सिं जुधाए। त्यसपछि “हरूवा गोरूको छेरुवा दाऊ” मा ओली-एमालेहरु पुच्छर लुकाएर भाग्न बाध्य बनेका देखिन्छन। पूर्वको पहिचान आन्दोलनको इतिहासमा यो घटनाले निश्चय नै एउटा कोशे ढुंगाको महत्व राख्दछ।
४. कांग्रेस-माके होसियार !
आन्दोलनकारी जनतालाई थाहा छ, एमालेको मतियार बनेर कोशी नाम थोपर्ने कांग्रेस तथा प्रचन्ड माकेहरुले विज्ञप्तिद्वारा पुच्छर लुकाएको बताए पनि तिनले आपराधिक हस्ताक्षर भने फिर्ता लिएका छैनन्। अतः कोशीमा हस्ताक्षर गर्ने ८२ जना सांसद र त्यस अपराधलाई बर्करार तुल्याउने हर्कतका खड्गप्रसाद ओलीलाई गाउँ प्रवेश निषेध कार्वाही जारी छ। ८२+१ लाई हेक्का रहोस्, विराटनगरको शहरमा जे मन लाग्छ पारित गरिराख, तर तिमीहरु गाउँ पस्न पाउने छैनौं!
अन्त्यमा, पहिचान विरोधी एमाले तथा त्यसका मतियार कांग्रेस, माके र राप्रपा सांसदहरु विरुद्व प्रहारको दार्शनिक कारण आदिवासी तथा प्रगतिशीलजनलाई अँध्यारोबाट ऊज्यालोतर्फ डोर्याउनु हो, अन्याय र उत्पीडनको अवस्थाबाट न्याय र मुक्तिको अवस्थातर्फ, अनिश्चयताको अवस्थाबाट निश्चयतातर्फ र बाध्यताको दुनियाँबाट स्वतन्त्रताको दुनियाँतर्फ रुपान्तरण जमर्को हो। अतः यस अभियानका मित्रहरु आन्दोलनकारी जनताका मित्र हुनेछन, शत्रुहरु स्वतः शत्रु कित्ताका तत्व हुनेछन।
-गोपाल किरातीको फेसबुकवालबाट