सुनसरीका २४२ जनाले पाए निःशुल्क शल्यक्रियाबाट आँखाको ज्योति
सुनसरीमा निःशुल्क स्वास्थ्य शल्यक्रियामार्फत् २४२ जनाले आँखाको ज्योति पाएका छन् ।
नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पताल र नुरदुबई फाउन्डेसन सहकार्यमा सुनसरीको देवानगन्ज गाँउपालिकाका २४२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो ।
जेठ १ र २ गते देवानगन्ज गाँउपालिकामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजार १९९ जनाको आँखाको परीक्षण गरिएको थियो । जसमध्ये दृष्टिदोष भएका ९१९ बिरामीलाई निःशुल्क चस्मा समेत वितरण गरिएको विराटगनर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले बताए ।
शिविरमा मोतिबिन्दु देखिएका बिरामीहरूलाई विराटनगर आँखा अस्पतालमा ल्याई निःशुल्क शल्यक्रिया गरिएको थियो । नेपाल नेत्रज्योति संघ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत हाल दुईवटा आँखा अस्पताल र ३१ वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् ।