पहिचान माग्दा सरकारले ज्यान मार्नु निन्दनीय – अशोक राई

प्रतिनिधिसभाको बैठकमा सांसद अशोक राईले जनताले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्दा नियन्त्रण गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकको प्रारम्भमै समय माग गर्दै उनले प्रदेश नम्बर–१ को नाम कोसी प्रदेश राख्ने निर्णय भएपछि त्यसको विरोधमा भएको प्रदर्शनमा घाइते भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को उपचारका क्रममा भएको निधनप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जनताले आफ्नो अधिकार माग्नु नैसर्गिक अधिकार भएको भन्दै उनले लोकतन्त्रको सर्वोच्च रूप स्थापित गरे पनि पहिचान माग्ने आन्दोलनकारीको ज्यान मार्नु निन्दनीय भएको उनले बताए। साथै, उनले यस किसिमका दुःखद घटनाको अन्त्य गर्न माग गरे । शान्तिपूर्ण रूपमा जनताले अधिकार माग्नु नैसर्गिक अधिकार भएको बताउँदै उनले यसमा हुने दमनलाई रोक्न आग्रह गरे । रासस