मुन्धुमस्टार डटकम​- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ। पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ। साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ। प्रमुख राजनीतिक दलका साथै विभिन्न पक्षसँगको दुई पक्षीय र बहुपक्षीय छलफलपछि शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठुलो दलको हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए। कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गर्दै दाहालले गठबन्धनमा रहेका दलहरूलाई सरकारमा सहभागी हुन पनि आह्वान गरेका छन्। प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गरेको जानकारी महतोले दिए । प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने, ‘तपाईंहरू सबै सरकारमा सहभागी भएर मुलुकसामु देखिएका राजनीतिक चुनौतीको सामना गर्दै अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौं।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो।