क्रान्ति नायक रामप्रसाद राईको सालिक खोटेहाङ गाउँ पालिकामा बन्यो
मुन्धुमस्टार डटकम — २००७ सालका क्रान्ति नायक तथा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको शालिक खोटाङमा ठड्याइएको छ। जिल्लाको पुरानो सदरमुकाम खोटेहाङ गाउँपालिका ७ खोटाङ बजारमा क्रान्ति नायक राईको शालिक निर्माण गरिएकाे हो।
गाउँपालिका केन्द्र खोटाङ बजारको टुँडिखेलमा फुलबारीसहितको उद्यान (पार्क) र पार्कमा राईको शालिक निर्माण भएको छ। शालिकसहितको पार्क निर्माणमा ६५ लाख रकम खर्च भएको गाउँपालिका अध्यक्ष उदिम राई (मुक्ति)ले बताए। उनका अनुसार पार्क र शालिक गाउँपालिका र प्रदेश सरकारको संयुक्त अनुदान सहयोगबाट निर्माण भएको हो। गाउँपालिकाले आर्थिक वर्ष ०७७।७८ देखि निर्माण सुरु गरेको वहुवर्षीय योजना अन्तर्गत पार्क र शालिकमा प्रदेश सरकारको ३० लाख अनुदान र बाँकी स्थानीय सरकारको खर्च भएको अध्यक्ष राईले बताए।
फाइवरबाट निर्मित शालिक र पार्कको ‘७३ औँ प्रजातन्त्र दिवस’को अवसर पारेर सोमबार आयोजित एक कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकुमार राई (पासाङ)ले अनावरण तथा उद्घाटन गरेका थिए। नेकपा (माओबादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहेका राईले शालिक निर्माणले प्रजातन्त्रका लागि स्वर्गीय रामप्रसाद राईको त्याग र समर्पणको उजागर गरेको बताए। नेपाली जनतालाई राणा शासनबाट मुक्त गराई प्रजातन्त्र ल्याउन क्रान्ति नायक राईले खेलेको भूमिका ऐतिहासिक महत्वको भएको भन्दै उनको सम्मानमा गाउँपालिकाले शालिक र पार्क बनाउनु पंशनीय भएको सांसद राईले बताए।



