मुन्धुमस्टार डटकम — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन्।

आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिने बताएका हुन्।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाईकन नेपालको विकास हुँदैन,’ उनले भने, ‘नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन।’

वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसका विकास अपरिहार्य भएकोमा उनले जोड दिए। अहिलेको युग नै विज्ञान र प्रविधिको हो। जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन,’ उनले भने।

विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले अहिले विद्यमान ऐन, कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।