चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ: सर्वोच्च अदालतले निर्वाचन खर्च विवरण नबुझाउने स्थानीय तहका उम्मेदवारलाई तत्काल कुनै कारवाही नगर्न अन्तरिम आदेश दिएको छ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले निर्वाचन आयोगले जरिवाना तोकेका उम्मेदवारलाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।
निर्वाचन आयोगले ३१ भदौं २०७९ मा स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गरेका तर खर्च विवरण नबुझाएका उम्मेदवारहरुलाई जरिवाना तिराउने निर्णय गरेको थियो । निर्णयविरुद्ध काठमाडौँ महानगरपालिकाका मेयर शाह सर्वोच्च अदालत गएका थिए ।
निर्वाचन आयोगले गरेको निर्णयमा संवैधानिक तथा प्रक्रियागत त्रुटिको प्रश्न उठेको भन्दै कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म जरिवाना तिराउने लगायतका कुनै कारवाही नगर्न आदेश दिएको हो ।
आयोगको त्यस्तो निर्णयले स्थानीय तहका विभिन्न पदमा निर्वाचित तथा उम्मेदवार भएका व्यक्तिहरूको भावी निर्वाचनमा सहभागी हुने योग्यता र निर्वाचन स्वतः बदर हुँदा जननिर्वाचित संस्थाहरु एवं प्रकारान्तरले प्रतिनिधित्वमूलक लोकतन्त्रमा समेत पर्न जाने देशव्यापी गम्भीर प्रतिकुल प्रभाव समेतलाई दृष्टिगत गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो।
सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘छ महिनाभित्र जरिवाना दाखिल गराउने, नबुझाएको अवस्थामा निर्वाचन सम्बन्धी अयोग्यता सिर्जना गर्ने निर्णयमा उल्लेखित कुराहरु हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्नू ।’
आयोगको निर्णयमा फागुन मसान्तसम्म जरिवाना नतिरे स्वत: पद खारेज हुने उल्लेख थियो।आयोगले भदौ ३१ गते १ लाख २३ हजार ६२४ उम्मेदवारलाई जरिवाना तिराउने निर्णय गरेको थियो।





