भारतीय विदेशसचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउँदैः द्विपक्षीय एजेन्डामाथि छलफल हुने
मुन्धुमस्टार डटकम — भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपालको औपचारिक भ्रमणका लागि सोमबार आउने तय भएको छ । परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले शुक्रबार क्वात्राको भ्रमण सार्वजनिक गरेका छन । विदेशसचिव क्वात्रा मंगलबारै स्वदेश फर्किनेछन । विदेशसचिवका रूपमा क्वात्रा पहिलोपटक नेपाल आउन लागेका छन । विदेशसचिव हुनुअघि क्वात्रा नेपालमा भारतका लागि राजदूत थिए।
उनी परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणामा आउन लागेको परराष्ट्रले जनाएको छ । क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा। विमला राई पौड्याल, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग शिष्टाचार भेट गर्ने तय भएको छ।
परराष्ट्रसचिव पौड्याल र क्वात्राबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ जहाँ कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायतका विषयमा छलफल हुनेछ । विदेशसचिव क्वात्रा प्रधानमन्त्री प्रचण्डलाई भारतको औपचारिक भ्रमणका लागि औपचारिक निमन्त्रणा दिन र द्विपक्षीय विषयमा कुराकानी गर्न आउन लागेको कूटनीतिक स्राेतहरूको भनाइ छ।
क्वात्राको भ्रमण नियमित भ्रमण आदान–प्रदानको सिलसिलामा हुन लागेको र यसले नेपाल–भारत समबन्ध थप विस्तार र गहिरो बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । क्वात्रा यसअघि नेपालका लागि भारतीय राजदूत थिए ।



