नेपाललाई यूएसएआईडी प्रमुख पावरले साढे ७ अर्ब रुपैयाँ सहयोग घोषणा गरिन

मुन्धुमस्टार डटकम — यूएसएआईडीले यसअघि घोषणा गरेको भन्दा थप १ करोड ८३ लाख डलर नेपाललाई सहयोग दिन लागेको हो । यूएसएआईडीकी प्रमुख समान्था पावरले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका निम्ति ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोगको घोषणा गरेकी छन ।
पावरले मंगलबार ललितपुरको पाटनमा आयोजित कार्यक्रममा उक्त रकम सहयोग गर्ने घोषणा गरेकी हुन । उक्त घोषणा रकममध्ये ४ करोड २ लाख डलर सन २०२२ मा घोषित ६५ करोड ९० लाख डलरको विकास गर्ने गरी घोषणा गरिएको मध्ये हो । यूएसएआईडीले यसअघि घोषणा गरेको भन्दा थप एक करोड ८३ लाख डलर नेपाललाई सहयोग दिन लागेको हो ।
यूएसआईडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चार माध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धिहरु म्जबुद पार्न र नेपालीहरुका निम्ति अझ बृहत सम्बृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्ने यूएसएआईडीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरु प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरुलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको उल्लेख छ । स्वतन्त्र नागरिक समाजका संस्थाहरुलाई सहयोग गर्न एक करोड ८५ लाख डलरसम्मको रकम समावेश गरिएको छ ।