रबि लामिछानेले गृहमन्त्री नपाएपछि रास्वपा सरकारबाट बाहिरियो
मुन्धुमस्टार डटकम — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णयमा पुगेको हो ।
आइतबार केन्द्रीय कार्यालयमा बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन । कार्यभार सम्हालेको १९ दिनमै उनीहरु पदमुक्त भएका छन । मन्त्रीद्धय खनाल र अर्याल तथा राज्यमन्त्री कार्कीले माघ ३ मा पद तथा गोपनियताको शपथ लिएका थिए ।
गत ११ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी लिएका लामिछाने नागरिकता मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट १३ माघमा पदमुक्त भएका थिए । अदालतको फैसलाबाट लामिछानेको उपप्रधान एवम गृह, सांसद र पार्टीको सभापति गरी तीन वटै पद गुमेको थियो । तर, अदालतको फैसला लगत्तै लामिछानेले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा गरी पुनः उपप्रधान तथा गृहमा फर्किने चाह देखाएका थिए।



