रवि लामिछानेलाई मात्र होइन रास्वपालाई नै गृहमन्त्री दिन सकिँदैन- प्रधानमन्त्री प्रचण्ड
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंगलबार बेलुकासम्म गृहमन्त्रीबारे निर्णय नगरे सरकार छाड्ने चेतावनी दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका लामिछानेले आफ्नो पार्टीलाई मंगलबार बेलुकासम्म गृहमन्त्री नदिए सरकार छाड्ने चेतावनी दिएका स्रोतले बताएको छ ।
रवि आफैं गैरसांसदका रूपमा सरकारमा सहभागी भएर गृहमन्त्री हुन चाहन्छन्। यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका लामिछाने नागरिकता विवादमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि शुक्रबार एकैपटक सांसद, मन्त्री र रास्वपाको सभापति पद गुमाउन पुगेका थिए। आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुन: नागरिकता लिएका उनले सोही दिन रास्वपाको पार्टी सदस्यता लिएर सभापति मनोनित भएका थिए ।
त्यसपछि उनी आफैं गृहमन्त्री बन्ने लबिइङमा छन्। केही दिन अघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए। तर, प्रधानमन्त्री प्रचण्डले भने प्रक्रियाभन्दा बाहिर गएर गृह मन्त्रालय नदिने अडान राखेका छन् ।
“अहिले तपाईँलाई होइन, तपाईँको पार्टीलाई पनि गृह मन्त्रालय दिन सकिने अवस्था छैन,” प्रधानमन्त्री दाहालको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “मेरो पार्टीमा पनि गृह मन्त्रालय अब प्रधानमन्त्रीसँगै राख्नुपर्छ भन्ने सुझाव आएको छ । तपाईँको नागरिकताको विषय अझै टुंगो लागिसकेको छैन । राहदानीको विषय पनि उठेको छ ।”
स्रोतले दिएको जानकारीअनुसार प्रचण्डले स्पष्ट शब्दमा गृह मन्त्रालय नदिने बताएका थिए ।
“हामीलाई बालकोटको पनि दबाब चाहिँ छ,” बालुवाटार स्रोतले केपी शर्मा ओलीप्रति संकेत गर्दै भन्यो, “तर प्रधानमन्त्रीले स्पष्ट शब्दमा अहिले गृह मन्त्रालय दिन सकिँदैन भन्नुभएको छ ।”
आजको भेटमा प्रधानमन्त्रीले प्रक्रियाबाट आएपछिमात्रै गृह मन्त्रालयका विषयमा कुराकानी हुने जानकारी गराएको बालुवाटार स्रोतले जनाएको छ ।



