बालेन पहिलेका शासक भन्दा पनि निरंकुश भए : सुमन सायमी
सडक विस्तार पीडित संघर्ष समितिका नेता सुमन सायमीले बालेन शाह पहिलेका शासक भन्दा पनि निरंकुश भएको आरोप लगाएका छन् ।
महानगरपालिकाले संविधान र कानुन विपरीत डोजर चलाइरहेको भन्दै आइतबार महानगरबासीको ठूलो समूहले माइतीघरमा प्रदर्शन गरेको थियो। उक्त प्रदर्शनपछि सम्बोधन गर्दै सायमीले मेयर बालेन साहले जनताले दिएको अधिकारको दुरुपयोग गरेको बताए ।
‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन्। पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ। डोजर लिएर आएको छ। आक्रमण गरेको छ, लुट्दै बसेको छ। यो लुटतन्त्र हामी सहदनौं ।’
मेयर बालेन साहलाई सच्चिन आग्र गर्दै उनले नसच्चिए मेयर पदबाट ओराल्ने अधिकार पनि जनतासँग भएको बताए। सायमीले भने, ‘यदि उहाँ सच्चिनुभएन भने सच्याउने अधिकार हामीसँग छ। जनताले त्यहाँ पुर्याएको भन्ने महसुस गर्नुपर्यो। जनचाहना विपरीत गएपछि त्यहाँबाट ओराल्ने अधिकार जनतासँग छ ।’
महानगरबासीको करबाट महानगर चलिरहेको भन्दै उनले दुख दिने हो भने कर पनि नतिर्ने चेतावनी दिए। ‘महानगरपालिका चलाउन महानगरबासीले ट्याक्स तिरेका छौं। हामीलाई सुविधा दिएन भने हामी ट्याक्स पनि तिर्दैनौं’ सायमीले भने ।
यो देशमा गरिब पनि छन् भन्ने महसुस गर्न आग्रह गर्दै सायमीले डोजर आतंक भन्दा गर्न मेयर बालेनलाई आग्रह गरेका छन्। निजी सम्पत्तिमा डोजर प्रयोग गर्दा कानुनी र संवैधानिक अधिकार सुनिश्चित गर्न पनि उनले आग्रह गरे ।



