–सुमन बाङदेल

बिषय प्रबेश
लैनसिंह बाङदेलको ‘बाङदेल’ थर कसरी रहन गयो ? भन्ने बिषयबस्तुबाट बिषयबाट प्रबेश गरौ । मान्छे जिबन जिउने शिलशिलामा बिभिन्न ठाँउमा बँसाई सर्ने गर्दछ । त्यस क्रममा एक ठाउँबाट अर्काे ठाउँ जादा आ–आफनो पहिचान बोकेको ठाउँ, नाम र थर चिन्दछन । लैनसिंह बाङदेलको पूखौली थलो खोटाङ जिल्ला साबिक गाबिस राखाबाङदेल र हाल ऐसेलुखर्क वाड नं. १ राखाबाङदेल स्थित बाङ्देल भन्ने ठाउँबाट गएकोले बाङ्देल राई भनेर शुरुमा चिनिन्थो जुन किरात नाछिरिङ  हुन । कालान्तरमा लैनसिंह बाङदेल नेपालको अग्रणी कलाकार, उपन्यासकार र कला इतिहासकार भनेर सु–प्रसिद्ध भए । नेपालका कलाकार, लेखक र कला इतिहासकार लैनसिंह बाङदेल कला, साहित्य र संस्कृतिको क्षेत्रमा एक प्रतिष्ठित व्यक्तित्व हुन् । आधुनिक कला आन्दोलनका पूर्वज, उहाँलाई नेपालमा “आधुनिक कलाका पिता“ भनेर पनि चिनिन्छ ।

जीवनी
लैनसिंह बाङदेलको जन्म सन् १९१९ डिसेम्बर २१ तारिखका दिन बुवा रंगलाल राई र आमा बिमला राईको काखबाट दार्जिलिङको तकभर चियाबगानमा भएको थियो । बाङदेल नेपालको खोटाङ जिल्लाको राखाबाङदेलबाट उनका हजुरबुवा रत्नध्वज कामको सिलसिलामा दार्जिलिङ पुगेका थिए । बाङदेल किरात नाछिरिङ जातिको रग्गे पाछाको सन्तान हुन । उनले निकै आर्थिक अभाब र संघर्षमा बाल्यकाल बिताउनु परेको थियो । उनले आफ्नो बाल्यकाल दार्जिलिङको प्राकृतिक सुन्दरताका चियाबारी र हिमालयको गाउँ बस्तिमा बिताए । उनी सानै उमेरदेखि मेधावी स्वभावका थिए । धरणीधर कोइराला, पारसमणि प्रधान र सूर्यप्रसाद ज्ञवालीजस्ता विद्वतहरूको संगत पाएका उनी पढाइमा अब्बल थिए ।

बाङदेलका बाबु रङ्गलाल कामको सिलसिलामा दार्जीलिङ पुगेका थिए । बाङदेलको पुर्ख्यौली घर खोटाङको रावाखोलास्थित बाङदेल गाउँ हो । पितापुर्खाको यो भूमिमा भने उनले पाइला टेक्न सकेनन् । दार्जीलिङमा जन्मे पनि उनको शिक्षा कोलकत्ता हुँदै पेरिस र लण्डनसम्म पुग्यो । त्यसपछि उनले नेपाललाई कर्मभूमि बनाए । बाङदेल कला र साहित्यमा बढी चिनिए पनि उनको क्षमता यसभन्दा बाहिर थियो । उनी पुरातत्वविद पनि हुन् । उनलाई नेपाली आधुनिक कलाका पिता भनेर पनि चिनिन्छ । उनले सन् १९४८ मा एसएससी पास गरे र पछि, कलकत्ताको गभर्नमेन्ट कलेज अफ आर्ट्स एण्ड क्राफ्ट्सबाट १९४५ मा फर्स्ट क्लास–फर्स्टको साथ ललित कलामा स्नातक गरे । उनी सन् १९५२ मा पेरिस गए । पेरिसमा अध्ययन गर्नु सजिलो थिएन । उनले निकै दुख पाए । अनेक अभावका बाबजुत जिन्दगीलाई अगाडि लानुपर्यो । पेरिसमा अध्ययन गर्ने क्रममा उनको संगत भारतीय कलाकार परितोस सेन र पदमशीसँग भयो । उक्त संगत राम्रो मित्रतामा कायम भयो । उनले पेरिसमा निकै दुख गरेर इकोल दस वक्स आर्ट्समा चार वर्ष अध्ययन गरे । सन् १९५६ मा उनी बेलायत फर्केर डि जे किमर नामक कम्पनीमा काम गर्न थाले । सन् १९६१ मा उनको भेट नेपालका तत्कालीन राजा महेन्द्रसित बेलायतमा भयो । राजाको आग्रहले उनी नेपाल आए । महेन्द्रको अनुरोधमा उनी नेपाली कलाको पुनर्जागरणमा लागे । नेपाली कलालाई थप उचाइमा पु¥याउन उनी दिनरात कसिएर लागे । बाङ्गदेल नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति समेत बने ।

उनको सन् १९५३ मे १ का दिन पेरिसमा मानकुमारी क्षेत्रीसँग बिहे भयो । मानकुमारी लन्डनको रोयल फ्री अस्पतालमा स्टाफ नर्स थिइन् । बाङदेलको उत्तराधिकारीका रूपमा डिना बाङदेल थिईन (डिना बाङदेल, कला अन्वेषक र इतिहासकारका रुपमा परिचित ५४ वर्षीया डिना बाङदेलको २६ जुलाई २०१७, मंगलबार अमेरिकामा निधन भएको थियो । डिना बाङदेलकी शाक्य थरका श्रीमान र २ छोरा छन् ) । बाङदेल पछिल्ला समय उनी सानेपास्थीत ललितपुरमा बसेका थिए । लैनसिंह बाङदेलका सन् २००२ अक्टोबर १५ तारिकका दिन निधन भयो ।

तीन पटक बिहे
बाङदेलले दार्जीलिङकी मनकुमारी थापासँग पेरिसमा पुगेर प्रेम विवाह गरे। उनले श्रीमती थापासँग पेरिस, लण्डन र फेरि घरमा तीनपटक बिहे गरेका थिए । घरमा आमाको आज्ञानुसार परम्परागत बिहे भएको थियो ।

कृति
लैनसिंह बाङदेलको प्रमुख कृतिहरु ‘मुलुकबाहिर’ उपन्यास ( सन् १९४७ ), ‘माइतघ’ उपन्यास ( सन् १९४८), ‘लंगडाको साथी’ उपन्यास (सन् १९४९) र ‘रेम्ब्रान्ट’ उपन्यास (सन् १९६६) रहेका छन । लैनसिंह बाङदेलको लेखन कला सन् १९४५ मा नै लैनसिंह बाङदेलले बाह्रवटा विश्व—प्रसिद्ध कथाहरुको नेपाली अनुवाद ‘विश्वकथा संग्रह’ प्रकाशित गरिसकेका थिए । जसमा रसियाली कथाकार टाँल्सटाँयका ‘ईश्वरको न्याय’ र ‘मानिस कसरी जीँउछ’, चेखोबका ‘बाजी’ र ‘बानका’, तुर्गेनेभको ‘मृत्युशय्यामा बिहा’ तथा मेरीजकवस्कीको ‘मृत्यु भन्दा प्रेम बलियो छ’, फ्रान्सेली कथाकार मोपाँसाका ‘दश लाख’, ‘घण्टा’ र ‘अनुचित प्रेम’, एक अज्ञात कथाकारको ‘हत्याको अपराध’, हंगेरिली कथाकार केरोलीको ‘अदृश्य घाउ’, र अमेरिकी कथाकार एलेन पोको ‘ह्रदयको आवाज’ कथाहरु समाहित थियो ।

बाङदेलको जीवन चक्र नामक कथा खोजीमा सन् १९६२ छापिएको थियो भने म्याउचीको रुमाल कथा सन् १९६२ मा नै हस्तलिखित पत्रिका ‘माता’मा छापिएको तथ्य फेला परेको छ । सन् १९६२ मा बाङदेलको नामले जीवन—स्रोत नामक लेख ‘उदय’मा प्रकाशित भएको थियो । बाङदेल मात्रै नाम दिएर छापेको कथाहरु जस्तै चित्रकारको चित्र, उसको गीत, अनि जीवन—खोल्सा, नेहुलको गीत जस्ता कविता र कथा—साहित्यको रुप र जीवन यात्रामा जस्तो निबन्धहरुले लेखेका थिए ।

लैनसिंह बाङदेल (चित्र : दिपेन्द्र राई)

युरोपबाट फर्किए आए पछि पनि सक्रिय रहे लेखनमा लैनसिंह बाङदेल केहि समय । ‘स्पेनको सम्झनामा’ (सन् १९६३) र ‘युरोपको चिठी’ (सन् १९६७) दुइवटा यात्रा संस्मरणात्मक कृति र ‘विश्वका महान कलाकार’ (सन् १९६३), जीवनी बाहेक ‘रेम्ब्रान्ट’ उपन्यास (सन् १९६६) जीवनीपरक उपन्यास लेखे । लैनसिंह बाङदेलद्धारा लिखित ‘विश्वका ६ महान् कलाकार (जीवनी)’, ‘प्राचीन नेपाली चित्रकला’, ‘प्राचिन नेपाली चित्रकला मूर्तिकलाको इतिहास’ र ‘नेपाल चराहरू’ कृति प्रकाशित रहेका छन ।

धुलिखेलबाट चोरिएको उमा महेश्वरको मूर्ति बर्लिनको “कुन्स्ट म्यूजियम” बाट फिर्ता हुन बाङ्देलकै अनुसन्धान र ‘द स्टोलन इमेजेस् अफ नेपाल’ ले काम गरेको थियो ।

नियात्रा लेखनमा लैनसिंह बाङदेल प्रसिद्ध नियात्राकार तारानाथ शर्मा भन्दा केहि वर्ष अगाडी नै देखिन्छ । स्पेनको सम्झनामा प्रकाशित गरेको ६ वर्ष पछि मात्रै तारानाथ शर्माको इतिहासिक नियात्रा कृति बेलाइततिर बरालिँदा (सन् १९६९) सालमा प्रकाशित भयो । रोमको एउटा फूल र प्यारिसको एउटा काँडा संस्मरणात्मक लेखहरु दार्जिलिङबाट प्रकाशित हुने दियालो पत्रिकाको (वर्षः १०, हाँगो २६, जुलाई, १९६९, हाँगोः २९ फरवरी, १९७० र वर्षः ११, हाँगोः ३३, अगष्ट अनि हाँगोः ३४ सेष्टेम्बर, १९७०) अङ्कहरुमा क्रमशः धारावाहिक रुपमा प्रकाशित भएको थियो । यसै गरी ‘२५०० इयर्स अफ नेपलिज आर्ट र अर्ली स्कल्पचर अफ नेपाल’ नामक पुस्तक पनि लेखे । ‘स्टोलन इमेजेज अफ नेपाल’ (सन् १९८९) नामक किताब लेखेर उनले चोरिएर विदेश लगिएका नेपालका मूर्तिहरु नेपाल फिर्ता गरे ।

‘लङ्गडाको साथी’, ‘मुलुक बाहिर’, ‘माइती घर’, ‘स्पेनका सम्झना’, ‘रोमको एउटा फूल र प्यारिसको एउटा काँडा’, ‘जय वर्माको मुर्ति र नेपालको वर्मा वंश ’ लगायतका कृति नेपाली साहित्यमा अब्बल मानिन्छन् । बाङ्देल कला र साहित्यमा बढी चिनिए पनि उनको क्षमता यसभन्दा बाहिर थियो । उनी पुरातत्वविद पनि हुन् । उनलाई नेपाली आधुनिक कलाका पिता भनेर पनि चिनिन्छ । उनले दुई हजारभन्दा बढी चित्र बनाए । उनका चित्र अमेरिका, फ्रान्स, बेलायत, जापान र भारत आदि मुलुकमा प्रदर्शनीमा राखिएको थियो ।

सम्पादित, अनुवाद र फुटकर कृति
प्रभात मासिक, सम्पादक, विश्व कथासङ्ग्रह सन् १९४५, अनुवाद, विभिन्न पत्र –पत्रिकाहरूमा कथा ,कविता, लेख, निबन्ध आदि प्रकाशित छन ।

पुरस्कार
बाङदेलले कला र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै बिरेन्द्र गोल्ड मेडल (सन् १९६५), गोरखा दक्षिणबाहु (सन् १९८२), डुलिचन्द गोल्ड मेडल फ्रम ईन्डिया फर हिस कोन्ट्रीब्युसन टु लिटेरचर (सन् १९६६), ’कोम्मेन्डाटोर’ फ्रम द इटालियन गोभरन्मेन्ट फर हिज कोन्ट्रीब्युसन इन द फिल्ड ओफ आर्ट्स (सन् १९८५), नेसनल अर्डर अफ आर्ट्स एण्ड लिटेचर्स्’ फ्रम द रीपब्लिक अफ फ्रान्स (फ्रान्स’स हाईएस्ट होनोर इन द फिल्ड अफ आर्ट्स) (सन् १९८५) र नाइट कमान्डर अफ रोयल भिक्टोरियन अर्डर (सन् १९८६) पुरस्कारबाट सम्मानित भएका छन् । यसै गरी नेपाली पृथ्वी प्रज्ञा पुरस्कार, भूपालमानसिंह पुरस्कार, उत्तमशान्ति पुरस्कार, र सरस्वती सम्मानित हुने व्यक्तित्व पनि हुन् ।

प्रदर्शनीहरू
लैनसिंह बाङदेल समकालीन कलाकारको रुपमा एकल प्रर्दशनीहरु स्टटगार्ट, जर्मनी र पेरिसमा पश्चिमी दर्शकहरूको लागि पहिलो प्रदर्शनी (सन् १९५५), एकल प्रदर्शनी, लन्डन (सन् १९५९), एकल प्रदर्शनी, नेपाल (सन् १९६२) फिलाडेल्फिया, संयुक्त राज्य अमेरिकामा एकल प्रदर्शनी (सन् १९९१) र उहाँको अन्तिम पूर्ववर्ती प्रदर्शनी, “उनको कलाको पचास वर्ष“, नेपाल कला परिषद, बबर महल (सन् १९९१) प्रर्दर्शनी भए ।

लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान
कला र साहित्यमाथि नै विशेष कार्यक्रमहरू गर्ने गर्छ र बाङ्देल पुरस्कार एकपटक भारत र अर्को पटक नेपालको लेखक र कलाकारलाई दिइने गरेको छ । प्रतिष्ठानले ’लैनसिंह बाङदेल स्मृति पुरस्कार’ अहिलेसम्म हामीले भारतको राजनारायण प्रधान, हेमु राई, समशेर अली र अमिर सुन्दास अनि नेपालको झमक घिमिरेलाई पुरस्कार प्रदान गरिसकेका छ । प्रतिष्ठानले ५० को दशकमा बाङ्देलद्वारा सम्पादित, प्रकाशित प्रभातको पनि प्रकाशन गरिरहेको छ ।

बाङदेलले कुनै समय आफैंले पिताजीको स्मृतिमा ‘रङ्गलाल बाङदेल कला पुरस्कार’को स्थापना गरेर कला प्रदर्शनी र पुरस्कार पनि वितरण गरेका थिए । तर, त्यो एक पटक आयोजना भएपछि फेरि अघि बढ्न सकेन ।

लैनसिंह बाङ्देलको प्रतिमा स्थापना
मोरङ बेलबारी बस्दै आएका मुर्तीकार श्याम गौतमले (२०६७) सालमा प्रतिमा बनाएर पठाएका हुन् । शुरुमा खोटाङको दिक्तेलमा प्रतिमा थापना गर्नकालागि पहल भए पनि दिक्तेलको रत्नपार्कमा केही बर्ष अलपत्र परेको थियो ।

ऐसेलुखर्क – १, राखाबाङदेल स्थापित लैनसिंह बाङ्देलको प्रतिमा

त्यसको केही समयपछि अलपत्र लैनसिंह बाङदेलका प्रतिमालाई राखाबाङदेल नाछिरिङ समुदायका अगुवा श्रीबहादुर राई, गृहबहादुर राई, सुमन बाङदेल, अगमसिंह राई र झनकुमार राई लगायतको पहल कदमी लिएर ऐसेलुखर्क वाड नंं. १, राखाबाङदेलको थानाचोमा प्रतिमा राखिएको छ । प्रतिमालाई अझ ब्यबस्थित बनाउन भने सकिकेको छैन । यो प्रतिमामा आउदो दिनमा लैनसिंह बाङदेल पार्क बनाउने योजना रहेको छ । यहाँ नाछिरिङको राजा थुक्सुहाङको राजदरवार गढी रहेकोले यसको गुरुयोजना (मास्टर प्लान) अन्तर्गत लैनसिंह बाङदेल पार्क रहनेछ ।

लैनसिंह बाङदेलको सडकको नाम
खोटाङ जिल्लाको उत्तरी बेलमा पर्ने दिक्तेल रुपमाकोट मजुवागढी नगरपालिका र केपिलासगढीबाट राखाबाङदेल जोडने ग्रामिण सडकखण्डलाई लैनसिंह बाङदेल ग्रामिण सडक नाम दिईएको छ । उक्त सडक बाहाने, साल्पा–सिलिचो हँुदै संखुवासभा जिल्लाको चीनसंग सिमाना किमाथांका जोडन सकिन्छ । हाल बाहाने सिब्दुसम्म ग्रामिण सडकखण्ड जोडिएको छ । अग्रणी कलाकार, उपन्यासकार र कला इतिहासकार लैनसिंह बाङदेल ग्रामिण सडक नाम दिएको छ ।

लैनसिंह बाङदेल सु–प्रसिद्ध नेपाली साहित्यकार तथा चित्रकार हुन् । लैनसिंह बाङदेलको मूत्युपछि सरकारले उचित सम्मान भने दिएको छैन ।

अन्य श्रोत तथा संदर्भ श्रोत –

बाङदेल लैनसिंह, (२००४), मुलुक बाहिर ः नेपाली साहित्य नेपाली उपन्यास, रत्न पुस्त
भण्डार ः काठमाडौं , १९२ पृष्ठ ।
बाङदेल लैनसिंह, (२००५), माईतिघर ः नेपाली साहित्य नेपाली उपन्यास, रत्न पुस्तक
भण्डार ः काठमाडौं ।
बाङदेल लैनसिंह, (२००५), ‘लंगडाको साथी’ ः नेपाली साहित्य नेपाली उपन्यास, रत्न
पुस्तक भण्डार ः काठमाडौं ।
बाङदेल लैनसिंह, (२००५), ‘स्टोलन इमेजेज अफ नेपाल’ ः रोयल नेपाल एकेडेमी; १९८९ सम्पादन, काठमाडौं ।
विवश ज्ञानेन्द्र, (२०७८), बिरानो बनाइन थालेका बाङदेल ः किन बिर्सन मिल्दैन लैनसिंहलाई
?, नेपाललाईभ डटकम, शनिबार, कात्तिक २७, २०७८, १७ ः४४ बजे ।
बज्रचार्य बुद्धिराज, (२०५८), लैनसिंह बाङदेल ः इन्टरभ्यूस ट्रेडिसनल नेप्लेलिज आर्ट्स,
स्पिन्यबाब्ब्लर डटओआरजि, २०५८ मगलबार्, जेष्ठ १ गते ।
प्रधान शरद, (२०७७), कलम र कुचीमा बाङ्देलको उचाइ र गहिराइ, ईकाज डटकम,
सप्ताहन्त, फागुन १०, २०७७, ७ ः ५९ बजे ।
मरासिनी विकाश, (२०७८), कला र साहित्यका अग्रणी पुरुष ः लैनसिंह बाङदेल, फरकधार
डटकम, जेठ २२, २०७८ शनिबार १८ ः ४ ः ६ बजे ।
सिजापति अलिसा, (२०७६), लैनसिंह बाङदेल लीगसी लाईभस ओन, नेपालीटाईम्स
डटकम, २०७७ शनिबार ।

साभार : खुवालुुङ मासिक प्रत्रिकामा (बर्ष १, अंक ६, चैत्र २०७८) प्रकाशित लेख हो ।