मुन्धुमस्टार डटकम​- नौबिसे–नागढुङ्गा सुरुङ मार्ग निर्माणको काम रोकिएको छ । गृह मन्त्रालयले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै काम पनि रोकिएको नागढुङ्गा सुरुङ मार्ग आयोजनाका प्रमुख माधवप्रसाद अधिकारीले बताउनुभयो ।

सरकारले अवैध क्रसर उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै टनेलको काम नै रोकिएको उहाँको भनाइ छ । क्रसर उद्योग व्यावसायीहरुले ढुवानी नै बन्द गरेपछि काम नै रोकिएको हो ।

गृह मन्त्रालयले पुस २० गते जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै अवैध उद्योगहरु बन्द गर्न आग्रह गरेको थियो । जसअनुसार ७०० बढी क्रसर उद्योगहरु बन्द भएका छन ।

व्यवसायीहरु भने सरकारले मापदण्ड विपरीत क्रसर उद्योग बन्द गरेको बन्दै विरोध जनाएका छन । ढुवानी नै ठप्प गरेका छन । उहाँले भन्नुभयो, “सरकारले अवैध क्रसिङ उद्योगहरु बन्द गर्न आग्रह गरेसँगै ढलान गर्नुपर्ने सबै कामहरु रोकिएको छ । टनेल खन्ने मुख्य काम नै रोकिएको छ ।”

क्रसर उद्योगहरु बन्द हुँदा गिट्टी, बालुवा तथा रोडाजन्य सामग्रीको प्रयोगबाट हुने अन्य कामहरु सबै रोकिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “दैनिक दुई सिफ्टमा काम भइरहेको थियो । हामीले अवैध क्रसर उद्योगबाट नै गिट्टी बालुवा ल्याएका थियौँ । तर, व्यवसायीहरुले ढुवानी बन्द गर्दा काममा नै बाधा उत्पन्न भयो ।”

ढुवानी सहज बनाउन सरकारसँग आग्रह गरिएको पनि उहाँको भनाइ छ । निर्माण सामग्री अभावमा काम रोकिन पुगेपछि ठेकेदार कम्पनीले सरकारसँग क्षतिपूर्ति माग्न सक्ने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “निर्माण समग्रीको अभावमा काम रोकिएपछि कामदार खाली बस्नुपर्ने अवस्था उत्पन्न भएपछि त्यसबापत उनीहरुले क्षतिपूर्ति माग्छन त्यो हामीले दिनुपर्छ ।”

निर्माणका लागि आवश्यक पर्ने गिट्टी बालुवा तथा रोडा धादिङ्बाट ल्याउने गरिएको उहाँको भनाइ छ । मुख्य काम रोकिए पनि फ्लाइ–ओभरको केही काम भने सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “मुख्य काम रोकिए पनि गिट्टी, बालुवा बाहेकका कामहरु भने रोकिएका छैनन । फलाइ–ओभरको काम भने भएको छ । तर मुख्य काम नै बन्द हुँदा काममा प्रगति नै देखिएको छैन ।