दाहाल र भट्टराई फेरि पार्टी एकताको निम्ति जुट्दैः बार्ता टोलि गठन
मुन्धुमस्टार डटकम — माओवादी र नेपाल समाजवादी पार्टीबीच एकताका लागि ठोस प्रस्ताव तयार पार्ने सहमति भएको छ । आगामी १० माघमा बस्ने कार्यदलको बैठकले सहमतिको खाका तयार पार्ने नेसपाका सहअध्यक्ष एवं वार्ता टोली संयोजक गंगा श्रेष्ठले जानकारी दिए ।
दुवै पार्टीका कार्यदलबीच शनिबार पहिलोपटक औपचारिक छलफल भएको छ । पार्टीको विधान, प्रतिवेदनलगायत दस्ताबेज आदान–प्रदान गर्ने र छिट्टै पार्टी एकता गर्ने समझदारी भएको श्रेष्ठले बताए । ‘छिट्टै एकता गर्ने भावका साथ दुवै पार्टीका दस्ताबेज अध्ययनका लागि आदान–प्रदान गर्ने र आगामी १० माघमा कार्यदलको बैठक बसेर ठोस प्रस्ताव तयार पार्ने समझदारी भएको छ,’ श्रेष्ठले भने । उनका अनुसार कार्यदलले खाका तयार पारेपछि दुवै पार्टीमा छलफल हुनेछ । दुवै पार्टीबाट खाका अनुमोदन भएपछि एकताको मिति तय हुनेछ ।
माओवादीले कार्यदलको खाका स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पेस गर्दै छ । माओवादीले ११ माघमा स्थायी कमिटी र १५ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । ती बैठकमा वार्ता टोलीले तयार पारेको खाकामाथि पनि छलफल हुनेछ । ‘औपचारिक छलफल प्रारम्भ भयो । छिट्टै एकता गर्न हामी सहमत भएका छौँ,’ माओवादी महासचिव देव गुरुङले भने । हालै सम्पन्न निर्वाचनमा नेसपाले माओवादीको चुनाव चिह्न लिएको थियो ।
माओवादीले वाम–समाजवादी एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत छन् । नेसपाले पनि सहअध्यक्ष गंगा श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।



