मुन्धुमस्टार डटकम — कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजेको आरोप लगाएका हुन्।

उनले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे। ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका हुन्।

उनले भने, ‘मैले मेरै जिल्लावासी श्रद्धेय कमरेड, मैले रोस्ट्रममा उभिएर अपिल गर्नैपर्ने हुन्छ। आफू प्रधानमन्त्री भएको वेलामा सँगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउन भन्दै गर्दाखेरि संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाऊँ भन्ने, अनि सँगैको अर्को मित्र प्रधानमन्त्री भएको वेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजेको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु।’

महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरे। आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबैभन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उनको भनाइ थियो।

महामन्त्री शर्माले ओली प्रधानमन्त्रीत्व कालको स्मरण गराउँदै आफूहरूले प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनावश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएकोसमेत बताए।

शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने, शालीन, अनुभवी र सुशिक्षित नेतृ भएको दाबीसमेत पटकपटक दोहोर्‍याए।