नेकपा (एकीकृत समाजवादी)का नेता एवं सांसद प्रकाश ज्वालाले प्रधानमन्त्रीको पार्टीले सभामुख पदमा ईश्वरी न्यौपानेलाई मतदान गरेर गुन तिर्ने विशवास व्यक्त गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थनमा रोष्ट्रममा उभिएका ज्वालाले राष्ट्रिय सहमतिको सुरुआतका लागि नेकपा (माओवादी केन्द्र)ले उनलाई भोट दिने विश्वास व्यक्त गरे ।

“राष्ट्रिय सहमतिको चर्चा चलेको छ । प्रमलाई विश्वासको मत दिएको छ । चुनौती र अवसर खडा भएको छ । एकताबद्ध भएर किन अघि जान सकिन्न भने सन्देश दिएको तर त्यसलाई किन निरन्तरता नदिने ?,” ज्वालाले भने, “योग्य र सक्षम उहाँ हुनुहुन्छ । सभामुख चलाउन सदन बुझेको हुनुहुन्छ ।  आग्रह–पूर्वाग्रह बाहिर जाने हो भने राष्ट्रिय सहमतिमा किन अघि नबढ्ने ?”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीमा सदनको करिब पूर्ण मत पाएको भन्दै त्यस्तै गरेर सभामुख चयन गर्न सके राष्ट्रिय सहमतिको अभ्यास सार्थक हुने पनि बताए ।

उनले माओवादीले आफूले पाएको मतको गुन मात्र तिर्ने हो भने त्यो सम्भव हुने बताए । “कम्तीमा प्रमको पार्टी माओवादी केन्द्रले गुन तिर्ला भन्ने लागेको छ,” ज्वालाले भने ।