प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेट मन्त्रालय बाँडफाँटमा केन्द्रित रहेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्रीले विश्वासको मत लिइसके पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

मन्त्रालय, राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख र उपसभामुखमा प्याकेजमै सहमति गर्ने पक्षमा दलहरु छन् । यसका लागि प्रचण्ड, ओलीसहित अन्य सत्तासाझेदार दल छलफलमा जुटेका छन् । ओली र प्रचण्डबीच केही दिनयता नियमित जस्तै भेट भइरहेको छ । तर, त्यसको परिणाम भने देखिइसकेको छैन ।

सहमतिको अभावमा केही मन्त्रीहरु अझै पनि विना विभागीय हैसियतमा छन् । लामो समय बिते पनि जिम्मेवारी पाउन सकेका छैनन् ।