राष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौं- शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई हेरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।
डा. कोइरालाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षको भूमिका नछोड्ने दोहोर्याए । कानुनका विज्ञहरूसँग छलफल गरेर नै कांग्रेसले प्रतिपक्षमा बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको उनको भनाइ छ ।
“कांग्रेसमा दुईवटा विचार आएका थिए । एउटा, प्रधानमन्त्रीलाई विश्वासको मत हाल्ने, अर्को, विपक्षमा भोट हाल्ने । मलाई के लाग्यो भने यो विषयलाई लिएर विभाजित हुनु हुन्न, तटस्थ बसौँ भन्ने प्रस्ताव राखेको थिएँ । तर, त्यसलाई मानिएन । पार्टीको निर्णय मैले मानेँ,” उनले भने, “प्रधानमन्त्रीलाई भोट दिएपछि प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन भनेर कानुनविद्हरूसँग छलफल भएको थियो ।
बिहीबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै उनले निर्वाचन अझै बाँकी रहेको र ती निर्वाचनलाई हेरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताए ।
‘म सभामुख उपसभामुखको कुरा गरिरहेको छैन, अरु निर्वाचनहरु पनि बाँकी छन् । ती निर्वाचनमा हामीहरु उम्मेदवारी दिन्छौं’ उनले भने, ‘…राष्ट्रपतिको निर्वाचन, उपराष्ट्रपतिको निर्वाचनमा प्रदेशका सांसदले पनि भोट हाल्नुहुन्छ, यो सबैलाई विचार गरेर हामीले भोट हालेका हौं ।’
नेता कोइरालाले ती निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेदवारलाई साथ दिने ग्यारेन्टी नभएको, तर पार्टीले मतको आशा भने गर्न पाउने बताए । ‘हामीले आफ्नो उम्मेदवार दिंदा सहयोग हुन्छ कि भन्ने सोच त बनाउँछ नि पार्टीले’ उनले भने । आफूहरु प्रतिपक्षमा नै बस्ने र सरकारको गुण र दोषका आधारमा भूमिका खेल्ने नेता कोइरालाले बताए ।



