फ्रान्स सरकारले त्यहाँको फुटबल संघ एफएफएफका अध्यक्ष नियोल ले ग्राइटमाथि अनुसन्धान सुरु गरेपछि अनुसन्धान नसकिँदासम्मका लागि ग्राइटले आफ्नो पद छोडेका छन् ।

सन् २०११ देखि एफएफएफको अध्यक्षका रूपमा कार्यरत ग्राइटमाथि पछिल्लो समय चर्को दबाब थपिएसँगै सरकारी अनुसन्धान समाप्त नहुँदासम्म पदमा नरहने निर्णयमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

फ्रान्सका खेलकुदमन्त्री ऐमेली ओउडिया–कास्टेराले एफएफएफको उच्च तहमा परिवर्तन आवश्यक रहेको बताएका थिए ।

यस्तै, फ्रान्सेली फुटबल एजेन्ट सोनिया सोइदले ग्राइटको आचरण अनुचित रहेको जिकिर गरेकी थिइन् ।

सोइदले ग्राइटले सन् २०१२ देखि २०१७ सम्म आफूलाई यौन साधनका रूपमा हेरेको आरोप लगाएकी थिइन् । सोइदको उक्त आरोपबारे एफएफएफले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । फ्रान्स सरकारले यसबारे सेप्टेम्बरदेखि नै अनुसन्धान थालेको थियो ।

पछिल्लो समय फ्रान्सेली ‘लेजेन्ड’ जिनेदिन जिदानप्रतिको टिप्पणीका कारण ग्राइट चर्चामा आएका थिए । राष्ट्रिय फुटबलको टिमको प्रशिक्षकमा डिडियर डेसच्याम्पससँगको सम्झौता नवीकरण गरेपछि ग्राइटले ‘फ्रान्स फुटबल टिमको प्रशिक्षकका लागि जिदानको फोन आए नउठाउने’ बताएका थिए ।

उक्त अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको थियो । जसका कारण ८१ वर्षीय ग्राइटले माफी समेत माग्नुपरेको थियो ।